मुगु । मकामरोगङ गाउँपालिका–६ रिउस गाउँकी गुरु छेटोल लामा अहिले उमेरले ६५ वर्ष पुगिन् उनीलाई दमको रोगले सताइरहेको छ ।
दमको रोग, चिसो ठाउँ त्यस्मा औषधी उपचार नपाउने साह्रै समस्या भोग्दै आएकी लामाको अनुहारमा अस्पताल बनेसँगै खुसी छाएको छ । घर नजिकै औषधि गर्न पाउने भएँ भन्दै उनी खुसी भएकी हुन् ।
उनी मात्र होइन चैतको अन्तिम साता सोही गाउँकी पेमा पुटिक लामाका अनुहारमा पनि खुसी देखिन्थ्यो । सामान्य बिरामी हुँदा पनि औषधि नपाउने औषधि लिन जाउँ एक दिन हिँड्नुपर्ने कहिले साथ पैसा नहुने समस्या थियो अब यो अस्पताल बनेसँगै दुःखका दिनको अन्त्य भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो पालामा न अस्पताल थियो, न प्रसूति गृह । घरमै बच्चा जन्माउँदा गाह्रो हुन्थ्यो । औषधि नपाएर धैरेको अकालमा ज्यान गयो अहिले करान भेगका १४ गाउँका लागि ६ शैय्याको अस्पातल स्थापना गरिएको छ ।
छाया नेपालको आर्थिक सहयोग तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेकको प्राविधिक सहयोगमा अस्पताल भवनको निर्माण कार्य सम्पन्न भई अस्पताल सञ्चालनमा आएपछि नजिक खुलेको अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएपछि स्थानीयवासी खुसी छन ।
प्रसूति सेवा सहितको स्वाथ्य सेवा प्रवाह गर्ने गरी गाउँपालिकासँगको साझेदारीमा एक वर्ष भित्रको अवधिमा भवन निर्माण गरी स्वास्थ्य सेवा प्रवाह पनि सुरु गरिएको हिरिसडेक मुगुका अध्यक्ष मीनबहादुर रावलले बताए छाया नेपालको ६५ लाख ४ हजार र गाउँपालिकाको ११ लाखको साझेदारीमा अस्पतालको निर्माण कार्य सम्पन्न भएको हिरिसडेक मुगुका लेखाप्रमुख धीरेन्द्रबहादुर भामले जानकारी दिए ।
गर्भवती महिलालाई सहज
गाउँमै ६ शैय्याको अस्पताल स्थापना भएपछि गर्भवती महिलालाई थप सहज हुने अपेक्षा राखिएको छ । पहिला गर्भवती महिलालाई व्यथा लाग्दा आर्थिक अवस्था बलियो भएकाले सोझै हेलिकोप्टर चार्टर गरेर काठमाडौं र नेपालगञ्ज लैजाने गरे पनि आर्थिक विपन्नता भएकाहरूका लागि भने निकै दुःख भोग्नुपरेको थियो ।
आर्थिक विपन्नताका कारण नै समयमा जिल्ला औषधि उपचार गर्न लैजान नसक्दा धेरै गर्भवती महिलाहरूले ज्यान गुमाइसकेका छन् । अब गाउँमै अस्पताल सञ्चालामा आएको छ । आगामी दिनमा गर्भवती महिलाहरूले त्यस्ता दुःखका दिन भोग्न नपर्ने मकामरोगङ गाउँपालिकाका महिलाहरू बताउँछन् ।
अहिले पुलु स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी बस्ने भए पनि केही दिनमा नै एमबिबिएस डाक्टर र सुरक्षित प्रसूति सेवाका लागि तालिम प्राप्त जनशक्ति व्यवस्थापन गाउँपालिकाले गर्ने अध्यक्ष लामाको भनाइ छ । अस्पताल उद्घाटन भएसँगै रगत, दिसा, पिसाब, खकार परीक्षण, गर्भवती चेकजाँच तथा प्रसूति सेवासमेत सञ्चालनमा आएको छ ।
१४ गाउँ लाभान्वित
६ शैय्याको अस्पताल सञ्चालनमा आएपछि करानका १४ गाउँले राहतको महसुस गरेका छन् । करान भेगमा रहेका मुगु, पुलु, रिउस, माग्री, ताखा, खारी, दाउरा, चितै डोल्फु पापु, छाइल, चिमाथ, पुअ क्रिमीका स्थानीय लाभान्वित हुने भएका छन् । युनिसेफ नेपालको सहयोगमा अस्पतालका लागि आवश्यक पर्ने उपकरण, औजार, सौर्य ऊर्जा, बिरामी सुत्ने बेड सबै व्यवस्थापन गरिएको छ ।
प्रतिक्रिया