विद्यार्थी भर्ना अभियान आजबाट, ड्रपआउट मुख्य समस्या

काठमाडौं । सरकारले सोमबारबाट देशभर विद्यार्थी भर्ना अभियान सुरु गर्दै छ । अघिल्लो वर्ष गरेको भर्ना अभियानबाट हौसिएको सरकारले आजबाट दोस्रोपटक यो अभियान सुरु गर्न लागेको हो ।  संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ) ले हालै प्रकाशित प्रतिवेदन ‘अ वल्र्ड रेडी टू लर्न’ मा पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्नादर ८६ प्रतिशत रहेको र यो विश्वमै अगाडि भएको उल्लेख गरेको थियो । सरकारले यस वर्ष विद्यालयबाहिर रहेका करिब ९० हजार विद्यार्थीलाई ल्याउने निर्णय गरेको छ । अघिल्लो वर्ष ६० हजार छुटेको आशंका गरेकामा त्यो संख्या बढेर यो वर्ष ९० हजार पुगेको शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता दीपक शर्माका अनुसार पाँच वर्षदेखि नौ वर्ष उमेर समूहका २५ लाख ८३ हजार विद्यार्थीमध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालयमा भर्ना भएका थिए । बाँकी रहेका ९१ हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् ।

तर, विद्यार्थी भर्नाभन्दा पनि डरलाग्दो तथ्यांक ड्रपआउटमा देखिएको छ । कक्षा एकमा भर्ना हुँदा छात्राको तुलनामा छात्र संख्या ३० देखि ३५ हजारले बढी हुन्छ भने कक्षा १० को परीक्षासम्म आइपुग्दा छात्रा संख्या झन्डै तीनदेखि चार हजारले बढी देखिन्छ । स्कुले शिक्षा बीचमै छोडेर छात्रहरू हराउँदै छन् । सरकारी एक तथ्यांकअनुसार ०६४ सालमा कक्षा १ मा भर्ना भएका विद्यार्थीहरूले गएको वर्ष कक्षा १० को परीक्षा दिए । शिक्षा विभागको तथ्यांकअनुसार ०६४ सालमा कक्षा १ मा १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी भर्ना भएका थिए ।

तीमध्ये छात्रहरूको संख्या ६ लाख ८२ हजार ३ सय २३ रहेको थियो भने छात्राहरूको संख्या ६ लाख ५१ हजार ८ सय ७२ थियो । यसरी हेर्दा भर्ना हुने वेला छात्राको तुलनामा छात्र संख्या ३० हजार ४ सय ५१ अर्थात् ३५ हजारले बढिरहेको थियो । सो अनुपात कक्षा १० को एसइई परीक्षा दिने वेलासम्म आइपुग्दा झन्डै तीन हजारले कम भएको देखिन्छ । यसरी छात्राको तुलनामा छात्रहरूको पढाइ छोड्ने प्रवृत्ति (ड्रपआउट) दर निकै उच्च रहेको देखिन्छ ।

छात्र संख्या घट्ने क्रममा तराई र पहाडका जिल्लाहरूमा बढी देखिएको छ । शिक्षा विभागका अनुसार पूर्वी तराईका जिल्लामा यो संख्या निकै भयावह अवस्थामा रहेको छ । कक्षा १ मा भर्ना संख्या ७१ हजार ५ सय ४१ रहेकोमा १० कक्षा आइपुग्दा घटेर २४ हजार १ सय ३७ मा आइपुगेको छ ।

०६४ देखि ०७३ सम्मको एक दशकमा छात्रहरूको ठूलो संख्याले बीचैमा विद्यालय छाड्ने गरेको देखिन्छ । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल विद्यालय शिक्षा बीचमै छोडेर छात्र हराउनुका पछाडि धेरै कारणहरू रहेको बताउँछन् । उनका अनुसार यसको प्रमुख कारण गरिबी र रोजगारीसँग जोडिएको छ । विद्यार्थीको उमेर हद नेपालमा तोकिएको छैन । विभिन्न उमेर समूहका विद्यार्थीहरू विद्यालय भर्ना हुन्छन् र पढ्दापढ्दै उमेर पुगेपछि वा नपुगे पनि रोजगारीतिर लाग्छन् ।

सरकारले भर्ना अभियान र विद्यार्थीले बीचैमा स्कुल छाड्ने अर्थात् ‘ड्रपआउट’ समस्याको समाधानका लागि मानव विकास सूचांकमा पछाडि परेका १५ जिल्लालाई २०÷२० लाख रुपैयाँ विनियोजन गरेको छ । बाँकी जिल्लालाई ५०÷५० हजार रुपैयाँका दरले बजेट पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया