काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलबाट उड्न लागेको समिट एयरको जहाज दुर्घटनामा कोपाइलट र एक प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा पाइलटसहित तीनजना घाइते छन् ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएको हो ।
आइतबार बिहान लुक्ला विमानस्थलमा समिट एयरको उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । जहाजमा चालकदल बाहेक यात्रु भने नभएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए । दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एयर होस्टेज घाइते छन् । क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्री एयरका हेलिकप्टरसित ठोकिएको थियो । दुर्घटनाका क्रममा धावनमार्गमा रहेका एक प्रहरी समेत घाइते भएका छन् । दुर्घटनाबाट हेलिकप्टरमा दुवै हेलिकप्टरमा क्षति पुगेको छ ।
प्रतिक्रिया