बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिका–७ धामीगाउँका गोबिन्दसिह धामी उपचार गर्न पैसा नहुँदा आफ्नो मृत्युका दिन गन्दै बसिरहेका छन् । आर्थिक अभावमा आफूले मर्ने दिन गन्दै बस्दा कस्तो होला । यो हरेक कसैले पनि सोच्दा आङ जिरिंग हुन्छ र झट्ट पत्याउन पनि गारो हुन्छ ।
अपांगताका कारण आफ्नो शब्दहरु कसैसँग व्यक्त गर्न नसक्ने गोबिन्दको टाउकोमा क्यान्सरको समस्या छ, जसका कारण उनी मृत्युलाई पर्खी बसिरहेका छन् । बुबाआमाको साहारामा बाँचिरहेका ५८ वर्षीय गोबिन्द आमाबुबा बितिसकेपछि गिट्टी र भारीको साहारामा दुई छाक धानीरहेका थिए । तर, उनको टाउकोमा परेको घाउबाट भएको क्यान्सरले अहिले उनी यी सबै कामहरू गर्न सक्दैनन् ।
न काम गर्न सकिन्छ न कोही दोस्रो व्यक्ति सहारा नै छ गोबिन्दको । बाँच्ने आश त गोविन्दलाई पनि छ तर, उनी न आपूm बोल्न सक्छन् न कसैले उनलाई अहिलेसम्म सहयोग गरेको छ । गोबिन्दले व्यक्त गरेका सांकेतिक शब्दमा उनले गरेको जीवनयाचना प्रष्ट झल्किरहेको हुन्छ ।
उनी आफ्नो प्राण रक्षाका लागि सांकेतिक भाषामा सबैसँग आग्रह गर्छन् तर उनलाई कसैले पनि सहयोग गर्दैनन् । टाउकोमा भएको नांगो घाउले गोविन्द निकै समस्यामा परेको र तिनको प्र्राण रक्षाका लागि सरकार र सबैमा गोविन्दले आग्रह गरेको स्थानीय वीरेन्द्र धामीले बताए । नागरिकता र भोटर कार्ड पनि छ गोबिन्दसँग गएको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मत पनि खसाले उनले तर आपूm भने मृत्युको दिन गन्दै बसिरहेका छन् ।
प्रतिक्रिया