कोल्टीमा विशेषज्ञ स्वास्थ्य शिविर

बाजुरा । जिल्लाको कोल्टीमा सोमबारदेखि आयुर्वेद सहितको विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । डाक्टर नारायणप्रसाद रेग्मीको पहलमा सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको आर्थिक र प्राविधिक सहयोग र बुढीनन्दा नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर सुरु भएको हो ।

स्वास्थ्य विविरमा हाडजोर्नी, स्त्री रोग, बालरोग, प्रसूति रोग लगायतका विशेषज्ञ सेवाहरू प्रवाह गरिनेछ । आज र भोलि सञ्चालन गरिने शिविरको आज प्राथमिक स्वास्थ्य केन्द्रमा सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सांसद बलदेव रेग्मीले एक कार्यक्रमका बीच उद्घाटन गरे ।

प्रमुखअतिथि रहेका सांसद रेग्मीले दुईदिने स्वास्थ्य शिविरको ब्यानर अनावरण गरेर उद्घाटन गर्दै प्रदेश सरकारले यो शिविर गतवर्ष नै गर्न खोजेको भए पनि प्रतिकूल मौसमका कारणले हुन नसकेको बताए । स्वास्थ्य संवेदनशील कुरा भएको बताउँदै सांसद रेग्मीले यो शिविरबाट अधिकांश मानिसले सेवा लिन सकुन् भन्ने चाहेको र यहाँका नागरिक स्वास्थ्य सेवाको पहुँचमा नहँुदासम्म शिविरको आवश्यकता रहेको बताए ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्रकुमार रोकायाले बाजुरा जस्तो जिल्लाको विशेषज्ञ सेवा पाउने आधार नै शिविर रहेकोले सवैले सेवा पाउने गरी व्यवस्थापन गर्न आग्रह गरे । बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीको अध्यक्षतामा सञ्चालन भएको शिविर उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायत स्थानियवासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया