बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिका–३ की सेतु लुवारलाई जटिल प्रकारको प्रसूति बेथा लागेपछि सोमबार हवाइजहाज चार्टर गरेर उद्धार गरिएको छ । आठ महिनाकी गर्भवती लुवारलाई जटिल प्रकारको स्वास्थ्य समस्या देखिएपछि सुदूरपश्चिम प्रदेशका सांसद बलदेव रेग्मीमार्फत सामाजिक विकास मन्त्रालयले जहाज चार्टर गरेर नेपालगञ्ज पठाएको छ ।
गर्भवती अवस्थाकी लुहारलाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार हुन नसकेपछि प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेको थियो । बुढीनन्दा नगरपालिका–३ सिराडीकी लुहारको अवस्था गम्भीर भएपछि सांसद रेग्मीले सामाजिक विकास मन्त्रालयमा जहाज चार्टरका लागि पहल गरी उनको उद्धार गरिएको बताइएको छ ।
‘प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले यहाँ उपचार हुन नसक्ने भनी रिफर गरेपछि उनको तत्काल उद्धार गर्नुपर्ने अवस्था देखेर घटनास्थलबाटै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई फोन गरेर हेलिकोप्टरको पहल गरेका थियौँ, हेलिकोप्टर नभेटिएपछि विमान चार्टर गरेरै उद्धार गरेका छौँ,’ सासंद रेग्मीले बताए ।
गाडीबाट जिल्ला सदरमुकाम मार्तडी लैजान पनि अप्ठेरो हुने भएपछि हवाइजहाजबाटै उद्धार गरिएको र नेपालगञ्जमा उपचारका लागि लाग्ने खर्च नगरपालिकाले बेहोर्ने बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले बताएकी छन् । बाजुराको कोल्टीमा जटिल प्रकारको प्रसूति बेथा लागेमा उपचार गर्ने पद्धति सिइवएनसी सेवा नभएकाले यस्ता केसहरू रिफर गर्नुपरेको स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रतिक्रिया