परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२ को एसइई परीक्षा स्थगित गरिएको छ । अंग्रेजी, गणित र नेपालीबाहेक अन्य विषयका परीक्षा स्थगित गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जनाएका छन् । गत बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश–२ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । यही चैत १० गते आइतबारदेखि देशभर एकैसाथ एसइई परीक्षा सुरु भएको थियो । यसपटकदेखि प्रदेशहरूमा अलग–अलग प्रश्नपत्र तयार गरिएका कारण प्रदेश–२ का प्रश्नपत्र बाहिरि“दैमा अन्य प्रदेशको परीक्षालाई भने असर परेन । एसएलसी तथा एसइई परीक्षाको करिब एक शताब्दीको इतिहासमा प्रश्नपत्र बाहिरिएर परीक्षा नै स्थगित गर्नुपरेको यो पहिलो नजीर हो । एसइई परीक्षाका प्रश्नपत्रको गोप्यतामा राज्यले पुरानै पद्धतिलाई निरन्तरता दिएको छ । तर, सरसर्ती हेर्ने हो भने पुरानै पद्धतिमा पनि प्रश्नपत्र बाहिरिने सम्भावना त्यति सजिलो छैन । प्रश्नपत्र माध्यमिक शिक्षा परिषद्ले तयार पार्छ र तीनवटा सुरक्षा घेरामा जनक शिक्षाको प्रेसमा छपाइ हुन्छ । यसरी तयार भएको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको करिब १५ दिन अगाडि जिल्ला प्रहरी कार्यालयमा लगेर सुरक्षित राख्छ । परीक्षा हुनुभन्दा तीन दिनअगाडि नजिकको प्रहरी चौकीमा लगेर राखिन्छ । परीक्षा हुनुभन्दा एक घन्टा अगाडि मात्र केन्द्राध्यक्षले प्रश्नपत्र बुझ्छन् र सुरक्षा घेरामा लैजान्छन् । यति धेरै सुरक्षाका बीच प्रश्नपत्र बाहिरिनु सामान्य घटना होइन ।
विज्ञान र सामाजिक विषयका प्रश्नपत्र परीक्षा सुरु हुनु अगावै बजारमा छताछुल्ल भएका कारण यी विषयमा परीक्षा रद्द गर्न सरकार बाध्य भएको हो । यी दुई विषयका मात्रै होइनन् सबै विषयका प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ । प्रदेश–२ को सबाल मात्रै होइन राजधानी काठमाडौंको सोह्रखुट्टे नयाँबजारस्थित गीतान्जलि माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा हदैसम्मको लापर्बाही भएको समाचार भिडियोसहित सार्वजनिक भइसकेको छ । परीक्षाहलमा मोबाइल टेलिफोनसहित परीक्षार्थीलाई प्रवेश गर्न दिइएको केन्द्राध्यक्षले स्वीकार गरेका छन् । मोबाइल टेलिफोनमार्फत प्रश्नपत्र बाहिर पठाउने, बाहिरबाटै उत्तर लेखेर मोबाइल टेलिफोनमार्फत उपलब्ध गराइदिने र परीक्षार्थीले आफ्नो उत्तरपुस्तिकामा त्यही सार्ने सिलसिला गीताञ्जलि केन्द्रमा तीन–चार दिनसम्म जारी रह्यो । मिडियामा यो समाचार आएपछि परीक्षाको चौथो दिन प्रहरीले छापा मार्यो । यसक्रममा एकजना परीक्षार्थी पक्राउसमेत परे । पक्राउ पर्ने परीक्षार्थी थिए, ‘नेपाली सेनाका जमदार ।’ त्यसैले, प्रदेश–२ को मात्रै होइन प्रदेश–३ को पनि एसइई परीक्षा शंकाको घेरामा परिसकेको छ ।
प्रविधिको विकासले जति फड्को मार्दै छ, त्यसरी नै परीक्षालाई विश्वसनीय बनाउ“दै लैजानुपर्नेमा उल्टो भएको देखिएको छ । यस वर्ष देशभर चार लाख ७५ हजार र प्रदेश–२ मा मात्रै ७० हजार ५ सय ६८ जना परीक्षार्थी छन् । प्रदेश–२ का करिब ७१ हजार परीक्षार्थीहरूको जीवनमाथि ठूलो खेलवाड भएको छ । दोहो¥याएर परीक्षा लिनुपर्दा ठूलो साधनस्रोत खर्च हुने कुरा त छ“दै छ, परीक्षार्थी तथा अभिभावकको अमूल्य समयसमेत खेर गएको छ । खर्च बढेको छ । यसबाट किशोर किशोरीहरूमा पर्न जाने मनोवैज्ञानिक असर त्यतिकै छ । साथै, एसइई परीक्षा प्रणालीको विश्वसनीयता घटेको छ । यस्तो प्रवृत्तिले विद्यार्थीमा पढ्ने जा“गर घट्छ । मिहिनेत गरेर पढ्नेले भन्दा चिट चोर्नेले जब राम्रो अंक ल्याउँछ, तब मुलुकको शिक्षा प्रणाली नै ध्वस्त हुन्छ । विद्यार्थीको मूल्यांकन गर्ने मुख्य आधार नै परीक्षा हो । तर, परीक्षामै धा“धली हुन्छ भने बाँकी के नै रहन्छ र ? त्यसैले, यो घटनामाथि गम्भीर छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीअघि बढाउनुपर्छ । आइन्दा यस्ता घटना कुनै पनि हालतमा दोहोरिनु हुन्न ।
प्रतिक्रिया