वैदेशिक रोजगारीमा ठगी गर्ने गुरुङ थाइल्याण्डबाट पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने भोजपुर घर भई झापाको पथरिया बस्ने पर्शुराम गुरुङ बुधबार थाइल्याण्डमा पक्राउ परेका छन् । रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन दिइ करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेका गुरुङलाई थाइल्याण्डस्थित नेपाली राजदूतावास र नेपाल प्रहरीको सहयोगमा त्यहाँको प्रहरीले पक्राउ गरेको हो ।

उनले क्यानडा, अष्ट्रेलिया, अमेरिका, कोरिया, मकाउलगायत देश पठाइदिने प्रलोभन दिइ विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको भन्दै राजदूतावासमा उजुरी परेको थियो । फरार गुरुङमाथि नेपाल प्रहरीले इन्टरपोलमार्फत पक्राउ पूर्जीसमेत जारी गरेको थियो ।

उनलाई आज थाईलैण्डको प्रहरीले नेपाली राजदूतावासका प्रतिनिधिको उपस्थितिमा बैंककमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

थाइल्याण्डमा वैध राहदानी र विनाप्रवेशाज्ञा गैरकानूनीरुपमा बसेको अपराधमा समेत त्यहाँको सरकारले गुरुङमाथि अनुसन्धान र कारवाही भइरहेको जनाएको छ । नेपाल र थाइल्याण्डको वर्तमान कानून तथा पारस्परिक सहयोगका आधारमा उनीमाथि कारवाही अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया