भरतपुरको सरकारी अस्पताल सबैको पहिलो रोजाइ

चितवन । सरकारी अस्पताल भन्ने वित्तिकै प्रायः सबैको मनमस्तिष्कमा ढिलासुस्ती र प्रभावकारी सेवा उपलब्ध गराउन नसक्ने छाप परेको पाइन्छ । तर यहाँको सरकारी भरतपुर अस्पताल प्रसूति सेवाका लागि सबैको पहिलो रोजाइ बन्ने गरेको छ । जिल्लाका ठूला वडामात्रै होइन, अन्य अस्पतालका चिकित्सकको पनि प्रसूति सेवाका लागि यो अस्पताल पहिलो रोजाएमा पर्ने गरेको छ ।

काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति गराउनेमा यो अस्पताल पर्दछ । गत आर्थिक वर्षमा भरतपुर अस्पतालमा १६ हजार २४३ जनाको प्रसूति गराइएको थियो । जिल्लामा दुई मेडिकल कलेज, दुई दर्जन निजी अस्पतालमा पनि प्रसूति सेवा उपलब्ध छ । तर तीनै अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीले पनि आफ्नो आफन्तलाई प्रसूति गराउनुपर्दा भरतपुर अस्पताल आइपुग्ने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण पौडेलले बताए ।

त्यसैगरी जिल्ला र आसपासका क्षेत्रबाट विदेश गइ बसोवास गरेका पनि प्रसूति गराउनका लागि भरतपुर अस्पताल आउने गरेका छन् । अस्पतालमा रहेका पुराना, अनुभवी र दक्षचिकित्सक एवं नर्सिङ कर्मचारीका कारण सबैको पहिलो रोजाइ भरतपुर अस्पताल बन्ने गरेको पौडेलको भनाइ छ ।

उनका अनुसार बच्चा जन्माउने काममा ८५ प्रतिशत भूमिका नर्सिङ कर्मचारीको हुने गर्छ । यो अस्पतालमा ३५ वर्षदेखि प्रसूति विभागमा काम गरेका अनुभवी कर्मचारी छ । प्रसूती कक्षमा १९ जना नर्सिङ कर्मचारी रहेको र उनीहरुले चौबीसै घण्टा प्रसूति सेवा उपलब्ध गराउँदै आएको पौडेलले बताए ।

अस्पतालका प्रसूति तथा स्त्रीरोग विभाग प्रमु्ख डा. श्रीप्रसाद अधिकारीले दक्षजनशक्ति, चौबीसै घण्टा चिकित्सकसहितको सेवा, बिरामीलाई दिइने प्राथमिकता, निःशुल्क प्रसूति सेवालगायतका कारण यो अस्पताल प्रसूति सेवाका लागि सबैको रोजाइमा पर्ने गरेको बताए । उनका अनुसार अन्य अस्पतालले चर्को शुल्क लिने भए पनि भरतपुर अस्पताल उपचारपछि घर जानका लागि भाडासमेत दिने गर्दछ ।

अस्पतालमा निःशुल्क बाल सघन उपचार कक्ष भएकाले पनि सबैको पहिलो रोजाइ भरतपुर अस्पताल बनेको अधिकारीले बताए । पछिल्लो समय धेरै महिलाको शल्यक्रियाबाट बच्चा झिक्नुपर्ने बाध्यता हुने गरेको छ । उनका अनुसार २५ देखि ३० प्रतिशत महिलाको प्रसूतिका लागि शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ । कहिलेकाहीँं प्रसूतिका क्रममा समस्या देखिने भए पनि मानवीय त्रुटीका कारण भने समस्या नहुने गरेको उनको भनाइ छ ।

नेपालमा मात्रै नभएर विदेशका अस्पतालमा पनि प्राविधिक त्रुटीका कारण कहिलेकाहीँ समस्या देखिने गरेको अधिकारीले बताए । अस्पतालका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुनिलमणि पोखरेल नीजि क्षेत्रका अस्पतालभन्दा सरकारी अस्पतालमा अनुभवी र दक्ष चिकित्सक कर्मचारी रहेका कारण यो अस्पताललाई सबैले प्राथमिकतामा राख्ने गरेको बताए ।

अस्पतालमा नौजना पुराना प्रसूतिरोग विशेषज्ञ छन् भने पाँचजना सोही विषयमा स्नातकोत्तर गर्दै गरेका चिकित्सक पनि छन् । अस्पतालमा नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम लागू हुनु, चिकित्सक र नर्सिङ कर्मचारीले प्रसूति गराउने विषयमा धेरै तालीम र अनुभव हासिल गर्नु, बच्चा जन्मिएपछि गर्नुपर्ने सबै खाले सेवा उपलब्ध हुनु, बालरोग विभागमा दक्ष चिकित्सक हुनु जस्ता कारणले भरतपुर अस्पताल रोजाइँमा पर्ने गरेको डा पोखरेलले बताए ।

बीस वर्षभन्दा बढी अनुभव हासिल गरिसकेका पोखरेल जिल्लाका अन्य अस्पतालमा कार्यरत चिकित्सकदेखि ठूलावडाहरु सबैको प्रसूति सेवाका लागि यो अस्पताल पहिलो रोजाई बन्ने गरेको बताए ।

अस्पतालमा प्रसूति गृहका लागि आवश्यकपर्ने आधुनिक शल्यक्रिया कक्ष र उपकरण जडान भएसँगै बिरामीको चाप झनै बढ्दो छ । यो सँगै अस्पतालमा पुराना र अनुभवी रेडियोलोजिष्ट समेत रहेकाले बिरामीको अवस्था बुझ्न सजिलो भएकाले पनि सबैको रोजाइ भरतपुर अस्पताल हुने गरेको छ । अस्पतालमा प्रयोगशाला, सिटिस्क्यान, सघन उपचार कक्ष, सुविधा सम्पन्न क्याबिन र प्रसूति कक्ष रहेका छन् ।

प्रसूति गराएपछि राख्नका लागि श्यया व्यवस्थित रहेका छन् भने पर्याप्त खुल्ला ठाउँ रहेको छ । अस्पतालमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म बिरामी बहिरङ्ग सेवाका लागि आउने गर्दछन् । हालै मात्रै संघीय अस्पताल बनेको भरतपुर अस्पतालमा १२ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।

अस्पतालमा सरकारी र विकास समितितर्फ गरी ६७२ कर्मचारी र १२३ चिकित्सक कार्यरत छन् । हाल अस्पतालमा विकास समितिबाट ३०० सहित ६०० श्यया सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । संघीय अस्पताल बनेसँगै पाँच सय सरकारी श्यया पुग्ने उनले बताए । अस्पताललाई विशिष्टि सेवासहितको विशेषज्ञ अस्पताल बनाउन लागिएको छ । अस्पतालमा १२ विभाग छन् ।

प्रतिक्रिया