निःशुल्क ट्युमरको अपरेसन

बाँके । ७२ वर्षीय एक जेष्ठ नागरिकको बायाँ गालामा रहेको जटिल किसिमको झण्डै डेढ किलोको ट्युमरको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जले सफल अपरेसन गरेको छ ।

अस्पतालले आइतबार पत्रकार सम्मेलन गरेर नरैनापुर गाउँपालिका–६ का ७२ वर्षीय वरीलाल अहिरको बायाँ गालामा रहेको ट्युमरको निःशुल्क अपरेसन गरिएको जनाएको छ ।

अहिरको बायाँ गालामा १० वर्षको उमेरदेखि पलाएको ट्युमरको सफल अपरेसन गरिएको अस्पतालका सहायक निर्देशक डा.कुमार पोखरेलले पत्रकार सममेलनमा बताएका छन् ।

७ चैतमा अस्पताल भर्ना भएका अहिरको ८ गते डेन्टल सर्जन डा.द्वारिकाप्रसाद बजगाईं, डा.अरुणकुमार महत तथा नाक, कान, घाँटी विशेषज्ञ डा.अंशु शर्मा, एनेस्थेटिक डा.नवीन रेग्मी, डा.कपिल पोखरेल लगायतको चिकित्सक तथा प्राविधिक कर्मचारीहरूको टिमले सफल अपरेसन गरेको प्रशासन प्रमुख कुमार अधिकारीले जानकारी दिए ।

अपरेसन गर्दा स्नायुहरूमा क्षति पुग्ने जोखिम हुने भए पनि आफूहरूले दुई घण्टा लगाएर सफलतापूर्वक अपरेसन गरेको र अहिले बिरामीको अवस्था खतरामुक्त रहेको डा.बजगाईंले बताए । यसखाले ट्युमर पलाएका बिरामी धेरै भए पनि यति ठूलो ट्युमर विरलै हुने गरेको डा. बजगाईंको भनाइ छ ।

सानै उमेरमा बुबाआमा गुमाएका, आफन्त कोही पनि नभएका असहाय, आर्थिक समस्याले उपचार गर्न नसकिरहेका व्यक्तिलाई अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर सबै खर्च आफैँ बेहोरेर उपचार गरेको अस्पतालका निर्देशक डा.एम.किदवाईले बताए ।

विपन्न तथा अति विपन्न व्यक्तिहरूलाई स्थानीय सरकारले सिफारिस दिएको अवस्थामा अस्पतालले उनीहरूको निःशुल्क उपचार गर्दै आइरहेको डा.किदवाईले जानकारी दिए ।

प्रतिक्रिया