एउटै गाउँमा १७ जनालाई एचआइभी

कालिकोट । कालिकोटमा एचआइभी संक्रमितहरूको संख्या बढेको पाइएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका लालुमा मात्र १७ जना संक्रमित भेटिएका छन ।

एचआइभी संक्रमितको संख्यामा तीव्र वृद्धि हुन थालेपछि कालिकोटका स्थानीयहरू चिन्तित बनेका छन् । कालिकोटको जिल्ला अस्पतालमा तीन वर्षअघिबाट एआरटी सेन्टरको स्थापना गरिएको थियो । त्यसवेला २४ जनाले औषधि सेवन गरिरहेकोमा हाल यो संख्या ३८ पुगेको छ । एचआइभीको संक्रमण दर बढ्नुको कारण असुरक्षित यौन सम्पर्क र प्रयोग भएका सुइ जस्ता उपकरण पुनः प्रयोग गर्दा बढेको मानव अधिकारकर्मी दल रावले बताए ।

जिल्ला अस्पताल कालीकोटको तथ्यांक अनुसार ३८ जना संक्रमित मध्ये १ जनाको मुत्यु भइसकेको छ भने ३५ जनाले नियमित औषधि खाइरहेका छन् । २२ जना महिला र १६ जना पुरुष रहेका छन् । २२ जना महिला मध्येमा एकजना १२ बर्षिया बालिका रहेकी छन् । बैदेशिक रोजगारीका लागि भारत जाने गरेका कारण पनि यहाँका नागरिकमा एचआईभीको संक्रमण दर बढेको अनुमान गरिएको छ ।

यसबाट बच्न जिल्ला अस्पताल कालिकोटले विभिन्न किसिमका सचेतना मुलक कार्यहरू र एचआइभि एड्स विरुद्धका प्रयासहरू गरिरहेको जिल्ला अस्पताल कालीकोटका प्रमुख डा.भिष्म पोख्रेलले बताएका छन् । एचआईभीको संक्रमण देखिए पनि नियमित औषधि सेवनले स्वस्थ रहन सकिने प्रमुख पोख्रेलले बताएका छन् ।

प्रतिक्रिया