काठमाडौं । नेपालमा हरेक वर्ष ४५ हजारभन्दा बढी क्षयरोगका नयाँ बिरामी थपिने गरेका छन् । त्यसमध्ये १३ हजारको हाराहारीमा क्षयरोगी उपचारमा नआएको एक तथ्यांकले देखाएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भीमसिंह टिंकरीले उपचारमा नआएका क्षयरोगीहरूको उपचार चुनौतीका रूपमा रहेको बताए । ‘सरकारले क्षयरोगको औषधि निःशुल्क गरेको छ । तर, बिरामीहरू निजी अस्पतालमा उपचार गराइरहेका छन्, यो हाम्रा लागि चुनौती हो ।’
त्यस्तै, ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने मुल नाराका साथ सप्ताहव्यापीरूपमा यस वर्षको विश्व क्षयरोग दिवस मनाइने भएको छ । जर्मन चिकित्सक रोर्वट कुचले सन् १८८२ मार्च २४ तारिखमा क्षयरोग अर्थात् टिबीको कीटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाइन्छ ।
विश्वमा हरेक वर्ष क्षयरोगका ९० लाख नयाँ रोगी देखापर्ने गरेको र १५ लाखको ज्यान जाने गरेको तथ्याँकले देखाउँछ । नेपालमा यस रोगको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा शिविर सञ्चालन गर्ने, खकार परीक्षणका लागि प्रयोगशाला खोल्ने, प्रयोगशाला नभएको ठाँउमा कुरियर गरेर भए पनि खकार परीक्षण गर्ने, जनचेतनाका कार्यक्रम सञ्चालन भएमा रोगी स्वास्थ्य सेवाको दायरामा आउने चिकित्सकको भनाइ छ ।
दुब्लो हुने, बेलुकापख ज्वरो आउने, खान मन नलाग्ने, छाती दुख्ने, खकारमा रगत आउने लगायतका लक्षण क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा जँचाउन चिकित्सकको सुझाव छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गर्दछन् भने नयाँ र पुराना गरी ६० हजारभन्दा बढी क्षयरोगी रहेको आँकलन गरिएको छ । सरकारले सन् २०३० सम्म क्षयरोग नेपालबाट निवारण गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्ष ०७५-०७५ मा १ लाख ९६ हजार ३ सय ६२ जना क्षयरोगको आशंका गरिएकाहरूको विभिन्न विधिबाट खकार परीक्षण गरी जम्मा ३२ हजार ४ सय ७४ जना नयाँ विरामी पत्ता लगाएको थियो ।
पहिलोपटक प्रिभ्यालेन्स सर्वेक्षण
नेपालमा क्षयरोग कार्यक्रमको इतिहासमा नै पहिलोपटक क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण भइरहेको छ । ५५ जिल्लाका ९९ वटा कलस्टरमा ५७ हजार ६ सय १० व्यक्तिहरूमा कागजविहीन प्रविधिमा आधारित भई यसको स्थलगत अध्ययन कार्य गरिरहेको क्षयारोग केन्द्रले जनाएको छ । करिब ८० प्रतिशत स्थलगत कार्य पूरा भई करिब ९१ प्रतिशतभन्दा बढी जनसहभागिता देखिएको पनि केन्द्रले जनाएको छ । आगामी वर्षभित्रमा ७ सय ५३ वटै स्थानीय तहलाई क्षयरोग कार्यक्रमका बारेमा अभिमुखीकरण गराइने क्षयरोग केन्द्रका निर्देशक डा. तिंकरीले जानकारी दिए ।
क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआइभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सरजस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।
प्रतिक्रिया