काष्ठ मूर्तिकलामा ‘चेतनाका स्वर’

काठमाडौँ । ललितकलाका विद्यार्थी मोरङका भुवन विकले काइँयोको मुढामा छिनो राखेर मुङ्ग्रोले टकटक पार्दै दृष्टिविहीन व्यक्तिलाई कसैले घाँटीमा हातले आठ्याइरहेको मूर्ति कुँद्दै थिए । उनले एक साताको प्रयासमा मुढोलाई लगभग आकृतिमा ढालिसकेका थिए ।

बाटोमा जताततै गरीब निमुखालाई हेप्ने, पिट्ने गरेका घटना देखेको छु, त्यसैलाई मूर्तिमा उतारेको, यसको मुख्य सार भनेको धनीले गरीब वा पछि परेका समुदायलाई हेप्नु हुन्न भन्ने हो, ”विकले आफ्नो काष्ठकलाको उद्देश्य बताए । मूर्तिमार्फत समाजमा चेतनाको स्वर मुखरित गरेको भन्दै उनले समाजका अगुवा वर्गले निमुखालाई हेप्नेभन्दा माया र सहयोग गर्नुपर्छ भनेर मूर्तिबाट सन्देश दिन खोजेको उल्लेख गरे ।

रोशन खत्रीले काठको मुढोमा सुन्दर फूलको बीचमा भगवान् गणेशको मूर्ति कुँदे । यमबङ थापा पनि काठको धुलोका बीच किताब बनाउँदै थिए । थापाले भने, “मैले ‘रहस्यमय किताब’ बनाएको खुला पनि होइन बन्द पनि छैन, हल्का खुलेको ।

पुरुष कलाकारको बिचमा धुलाम्मे भएर ग्रयाण्डरबाट खाक्सी लगाउँदै गरेकी विनिता राई पनि मुढोलाई आकारमा ढाल्दै थिइन् । हातमा पञ्जा लगाएर काठ वल्टाइपल्टाइ गर्दै राईले काष्ठ मूर्तिकलामार्फत चिन्डो बनाउँदै गरेको बताइन् । राई, लिम्बूको संस्कृति उधौली र उभौली पर्वमा सगुन राखेर दिने यो भाँडो बनाएकी हुँ, ”राईले भनिन् । मूर्तिकलामा संस्कृति र मौलिक पहिचानलाई काठमा उतारेको उनले बताइन् ।

उमेश कपाली र दीपेन्द्र थापाले शिवलिङ्ग बनाए भने थापाले अर्को औँठी र चापीको सम्बन्धलाई काठमा उतारेका छन् । चितवनका दिनेश्वर महतोले एक प्रेमिल जोडीलाई काठमा दुरुस्त पारे । एक जोडी अङ्गालो मारेको अवस्थामा छन्, यसले माया प्रेमको सङ्केत गर्छ, संसार प्रेममा अडिएको छ, यसको सन्देश त्यही हो, ”महतोले भने ।

राजेश बरालले चिलिम तयार पारे । तर चिलिमको मुख बन्द गरेर तमाखु खान नहुने सन्देश दिन खोजेको उनले उल्लेख गरे । सुजित थापा मगरले पनि आमा बाबुको मायालु शिशुलाई काठमा उतारेकी छन् । एक दम्पतीले हत्केलामा लिँदै गरेको शिशुको आकृतिले वात्सल्यभावको झल्को दिन्छ । हेर्दा आमाबाबुको छोराछोरीप्रतिको ममता झल्किन्छ । सँगै उनले जीवनको पाइलासमेत बनाइन् ।

यसरी मूर्ति बनाउनेको भीडमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख लालकाजी लामासमेत सामेल भएर काठलाई आकार दिन व्यस्त थिए । जन्म दिने आमालाई नै मानिसले बिर्सिरहेका छन्, त्यसैले ती आमा घुम्टो ओढेर बस्न बाध्य भित्रभित्रै दबिएर बस्न बाध्य छन्, त्यसैलाई काष्ठकलामार्फत देखाउन खोजेको छु, ”लामाले तयार हुँदै गरेको आफ्नो मूर्तिकलाबारे बताइन् । उनले प्रतिष्ठानको प्राङ्गणमा यसरी ३१ चित्रकारले एक हप्तादेखि काठबाट मूर्ति बनाइरहेकी छन् ।

प्रतिष्ठानको मूर्तिकला विभागले काठमाडौँ र त्रिभुवन विश्वविद्यालयमा पढ्दै गरेका विद्यार्थी सामेल गराएर मूर्ति तयार गरिरहेको छ । उनीहरुलाई ताराप्रसाद ओझाले प्रशिक्षण दिइरहेका छन् । कलाकारले सन्देशमूलक मूर्ति बनाइरहेका छन् ।

चित्रकलाभन्दा शारीरिक र मानसिकरुपमै बढी परिश्रम पर्ने काष्ठकला ठोसरुपमा अनुभूत गर्न सकिन्छ । काम गर्दा श्रमसँगको सम्बन्धले प्रेम बढी हुने हुन्छ तर बजारको भने समस्या रहेको मूर्तिकला विभाग प्रमुख लामाले बताए । नेपाली मूर्तिकलालाई विश्व प्रतिस्पर्धी बनाउन र कला तिखार्न सिर्जनात्मक काष्ठ मूर्तिकला प्रशिक्षण कार्यशाला आयोजना गरिएको बताउँदै उनले छानिएका काष्ठ मूर्तिकलाको राष्ट्रिय प्रदर्शनी गरिने जानकारी दिए ।

प्रतिक्रिया