बाँके । नेपालगञ्ज–२१ पुरैनाकी महिलाहरू सुत्केरी हुने वेला नेपालगञ्जको भेरी अस्पताल तथा नेपालगञ्ज मेडिकल कलेज धाउनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनाअन्तर्गत रहेको सो सुत्केरी गृहको बाटोको लागि जग्गा नपाउँदा बाटो निर्माण हुन सकिरहेको थिएन । नवनिर्मित पुरैनाको सुत्केरी गृहसम्म जाने बाटो नभएकोले निर्माण भएको वर्ष दिन बितिसक्दा पनि सञ्चालनमा नआउँदा त्यहाँका महिला सुत्केरी हुने वेला नेपालगञ्ज ल्याउनुपर्ने बाध्यता रहेको थियो ।
वडा कार्यालय तथा पुरैना स्वास्थ्यचौकीको निरन्तर प्रयासमा बाटोमा रहेको जग्गाधनीहरू जग्गा उपलब्ध गराइसकेर बाटो बन्ने प्रक्रियामा रहेको वडाध्यक्ष रञ्जित खानले बताएका छन् ।
सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक विकास मञ्चले बुधबार आयोजना गरेको स्वास्थ्यचौकीको सामाजिक परीक्षणमा बोल्दै वडाध्यक्ष खानले जग्गा प्राप्त भएर बाटो निर्माणका लागि सात लाख रकम पनि विनियोजित गरिसकेको बताए ।
मुख्य रोडदेखि प्रसूति गृहसम्म जाने बाटो निर्माणको लागि बजेट छुट्याइसकेकाले बाटो बनाएर अगामी आर्थिक वर्षको वैशाख, जेठदेखि नै सुत्केरी गृह सञ्चालन हुनेमा ढुक्क हुन सम्पूर्ण वडावासीलाई वडाध्यक्ष खानले आश्वस्त पारे ।
यसैबीच स्वयंसेविकाहरूले गत साउनदेखि वडा कार्यालयबाट पाउनुपर्ने मासिक भत्ता पनि नपाएको गुनासोलाई सम्बोधन गर्दै वडाध्यक्ष शेखले उपमहानगरपालिकासँग कुरा गरेर आगामी वर्षदेखि बजेट छुठ्ठयाउन पहल गर्ने बताए । हाल स्वास्थ्य स्वयंसेविकाहरूले उपमहानगरपालिकाबाट पाउने मासिक पाँच सय मात्रै पाइरहेको र वडाबाट पाउने भत्ता केही महिनादेखि वडा कार्यालयले दिन बन्द गरेको उनीहरूको गुनासो रहेको थियो ।
पुरैनीमा जनचेतनाको अभावमा बालबालिकालाई पोषणयुक्त खानेकुरा नखुवाउँदा कुपोषितको संख्या बढदै गएको, टिबीजस्तो रोगमा पनि बिरामी संवेदनशील नहुने गरेको, समयसमयमा औषधि अभाव हुने गरेको, स्वास्थ्यचौकी साँघुरो ठाउँमा रहेको हुनाले कहिलेकाहीँ बिरामीको चाप बढेर बस्ने ठाउँको समेत अभाव हुने गरेको, कामको चापअनुसार स्वास्थ्य स्वयंसेविकाहरूले भत्ता नपाएको लगायतको चुनोतीको बारेमा छलफल भएको थियो ।
सामाजिक विकास मञ्च बाँकेको सहयोमा सञ्चालित मातृ नवजात शिशु तथा बाल स्वास्थ्य परियोजनाअन्तर्गत गरिएको स्वास्थ्यचौकीको सामाजिक परीक्षण कार्यक्रमका सहभागीहरूले समयसापेक्ष कर्मचारी तथा स्वयंसेविकाको सेवा सुविधामा पनि सम्बन्धित निकायले सोच्नुपर्ने बताएका थिए ।
कार्यक्रममा स्वास्थ्यचौकीकी इन्चार्ज नन्दा सेनले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा तथा वार्षिक प्रगति तथा समस्याका बारेमा प्रस्तुतीकरण गरेका थिइन् । प्रस्तुतीकरणमा देखिएका समस्यालाई समाधान गर्न स्वास्थ्य संस्थामा प्रसूति गृहमा तत्काल बाटोको व्यवस्था, कर्मचारी व्यवस्थापन, प्रसूति गृहलाई चाहिने आवश्यक उपकरण तथा फर्निचरको व्यवस्था गर्नुपर्ने, हाल प्रयोगमा रहेको स्वास्थ्यचौकीबाट सेवा दिनका लागि आवश्यक कोठासमेत अपुग रहेकोले अर्काे स्वास्थ्यचौकीको भवन निर्माण गरिनुपर्ने, बालबालिकालाई पोषणयुक्त खानेकुरा नखुवाउँदा कुपोषितको संख्या बढ्दै गएकोले पोषणयुक्त खानेकुरामा जोड दिनुपर्ने, पोषण पुनःस्थापना केन्द्रसम्म पु¥याउन यातायात खर्चको व्यवस्था पुग्नुपर्ने, समुदायमा स्वास्थ्य अन्तत्र्रिmया सञ्चालन, गर्भवती जाँच गर्न गराउन महिलालाई उत्प्रेरित गर्न नुन र साबुन लगायतको व्यवस्थापन लगायतको सात बँुदे कार्ययोजना निर्माण गरिएको छ ।
सञ्चारकर्मी गुरमुरत यादवले सहजीकरण गरेको कार्यक्रममा स्वास्थ्यचौकीका सिनियर अहेब वीरजंग शाह स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष जाबिर अलि मनिहार, अनमि अमृत शाही वडा सचिव चित्राकुमारी पुन सामाजिक विकास मञ्च बाँकेकी पार्वती डिसीलगायत ४० बढीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया