ताप्लेजुङ । रेडपाण्डाको अवस्था अध्ययनका लागि खटिएका ताप्लेजुङका वन अभिभावकहरूलाई प्राथमिक उपचारसम्बन्धी आधारभूत तालिम प्रदान गरिएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले जिल्लाका ३२ जना वन अभिभावकलाई तालिम प्रदान गरेको हो ।
वन क्षेत्रमा रेडपाण्डाको अनुगमनका लागि जाने क्रममा हुन सक्ने दुर्घटनावाट सुरक्षित रहनका साथै ग्रामीण भेगमा आवश्यकता परेको समयमा वन अभिभावकले प्राथमिक उपचार गरुन भन्ने उद्देश्यले तालिमको आयोजना गरेको रेडपाण्डा नेटवर्कका परियोजना संयोजक दावा तेन्जि ह्याल्मू शेर्पाले बताए ।
सन् २०१९ को कार्यक्रम अन्तर्गतको यो पहिलो कार्यक्रम हो । आधारभूत प्राथमिक उपचार तालिममा विभिन्न किसिमका १२ वटा विषयमा अभिभावकहरूलाई जानकारी गराइएको सहजकर्ता मोहन न्यौपानेले बताए । विषेशगरी व्यावहारिकतालाई ध्यान दिएर तालिम चलाइएको न्यौपानेको भनाइ छ ।
तालिममा जिल्लाका विभिन्न सामुदायिक वनका वन अभिभावकहरू सहभागी थिए । तालिमबाट सैद्धान्तिक तथा व्यावहारिक रूपमा सिकेको ज्ञानलाई आपूm वन क्षेत्रमा जाँदा प्रयोग गर्नुका साथै छरछिमेकमा पनि प्रयोग गर्ने सिरिजंघा गाउँपालिका–६ मामाङ्खेका वन अभिभावक सूर्य भट्टराईले बताए ।
फुङलिङ नगरपालिका–११ फावाखोलाकी वन अभिभावक मेनुका भट्टराईले पनि वन्यजन्तु संरक्षणमा खटिने वन अभिभावकलाई तालिम मात्र नभएर स्वास्थ्यको पहँुचबाट टाढा रहेका स्थानीयलाई पनि राहत भएको बताइन् । तालिम लिएकाहरूलाई प्राथमिक उपचार बाकससमेत वितरण गरिएको परियोजना संयोजक शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र इलाममा वन अभिभावकहरू छन् । उनिहरूले वर्षमा चारपटक रेडपाण्डा पाइने क्षेत्रमा गएर रेडपाण्डाको दिशा संकलन, पाण्डाले छोडेका संकेतहरू र चोरी सिकारी सम्वन्धि अनुगमन गर्दै आएका छन् ।
देशभर मध्ये २५ प्रतिशत रेडपाण्डा पूर्वी पहाडका तीन जिल्लामा पाइने अनुमान छ । नेपालसहित पाँच देशमा रेडपाण्डा पाइन्छ । रेडपाण्डा नेटर्वकले स्थानीय संस्थासँग साझेदारी गरी अध्ययन, अनुगमन, सामुदायिक वन तथा स्थानीय बासिन्दालाई संरक्षण सचेतना जगाउने कार्यक्रम गर्दै आएको छ ।
स्थानीयहरूलाई सचेत बनाई संरक्षणमा लगाउने, स्थानीय विद्यालयमार्फत संरक्षण शिक्षा, पाठ्यक्रम निर्माण तथा लागू, स्थानीयवासीलाई आयआर्जन तथा गोठ सुधारका कार्यक्रम समेत यस वर्ष गरिने बताइएको छ । समुन्द्र सहतबाट २ हजार २ सय मिटरदेखि ४ हजार ८ सय मिटर उचाइसम्ममा रेडपाण्डा पाइने शेर्पाले बताए । यसको संख्या न्यून रहेको छ । यस्तो तालिम गत महिना पाँचथरमा समेत सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया