एआइभी संक्रमितको उपचारमा आनाकानी

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले एचआइभी संक्रमित एक व्यक्तिलाई उपचार गर्न आनकानी गरेको छ । पाल्पाबाट उपचारका लागि आएका २३ वर्षीय एक युवालाई एचआइभी संक्रमित भएकै कारण चिकित्सकले उपचारमा आनाकानी गरेका हुन् ।

एक साताअघि दाँतको उपचारका लागि अस्पताल पुगेका एक बालकलाई चिकित्सकले थप्पड हानेको घटना सेलाउन नपाउँदै बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पुनः एक बिरामीको उपचारमा चिकित्सकले आनाकानी गरेका छन् ।

एचआइभी संक्रमित अर्घाखाँची पाणिनी गाउँपालिकाका २३ वर्षीय हुमबहादुर सोमारेको फिलामा आएको पिलोको उपचार गर्न चिकित्सकले आनाकानी गरेका हुन् । फिलामा आएको पिलोको अप्रेसन गर्नुपर्ने बताए पनि चिकित्सकले जागिरै छाड्न तयार रहेको तर उपचार नगर्ने भन्दै बिरामीमाथि खेलाबाड गरेको पीडित बिरामीका दाजु घनबहादुर सोमारेले बताए ।

लामो समय भारतमा बस्दै आएका सोमारे तीन हप्ताअघि मात्र घरमा आएका थिए । बिरामी भएर आएका उनलाई उपचार गर्दा दुई हप्ताअघि एचआइभी संक्रमित भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया