गाउँमै सेवा पाउँदा स्थानीय खुसी

अर्घाखाँची । पाणिनी गाउँपालिका–५ निवासी ८२ वर्षीय स्थानीय प्रेमनारायण भट्टराईले भने, ‘घरको खाना खाएर सबै सेवा लिन पाउँदा आज निकै खुसी लागेको छ, बल्ल आज गाउँमै सरकार आए जस्तो लाग्यो ।’

पाणिनी गाउँपालीकाका स्थानियवासी गाउँमै सवै सुविधासहित एकैस्थानमा एकै दिन पाएपछि स्थानिय जनता निकै खुसी देखिन्थे स्थानियवासी पाणिनी–२ पोखराथोक निवासी ७१ वर्षीय बालकुमारी गौतमले भनिन्, ‘यो शिविर समयसमयमा हुर्नुपर्छ, यस्तो शिविर गाउँमै गर्दा म एक्लै आएर पनि उपचार गर्न सक्छु ।’

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको आयोजना र पाणिनी गाउँपालिकाको समन्वयमा तथा आर्थिक सहयोगमा पाणिनी गाउँपालिका–३ दुर्गाफाटमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरमा जिल्लाका १४ वटा कार्यालयले सेवा दिएका थिए । जसमा जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवाअन्तर्गत तीन सयभन्दा बढी नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए ।

नयाँ सविधान बनेपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा दिए पनि नागरीकहरूले अधिकारको प्रयोग गर्ने र प्रत्यक्ष अनुभूति गर्न पाएका थिएनन् तर एकीकृत धुम्ती शिविर सञ्चालनपछि स्थानीयले जनताले भने, ‘सिंहदरबार बल्ल अब गाउँमा आउला जस्तो छ ।’
घुम्ती शिविरमा पाणिनी–२ का ६९ तुल्सीराम सूर्यवसीले गाउँमै नागरिकता पाउँदा निकै खुसी लागेको बताए । अर्का स्थानीय ८२ वर्षीय रामलाल बेल्वासे भने, ‘गाउँमै डाक्टरबाट स्वाथ्य परीक्षण गराउन पाए सुसी छु खासै रोग पनि केही छैन भने आजबाट धेरै मनमा शान्ति मिलेको छ ।’

शिविरमा तीन सयभन्दा बढी नागरिकता वितरण, ५ सय ५ जनाको जिल्ला स्वाथ्य कार्यालयअन्तर्गत स्वाथ्य परीक्षण, ७ सय ५० भन्दा बढीको आँखा परीक्षण, सिम कार्ड वितरण, कृषकको माटो परीक्षणसमेत गरिएको थियो ।

त्यस्तै, निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम लेखाउने, प्रहरी साइबर अपराध एवं सवारी दुर्घटनासम्बन्धी सामुदायिक प्रहरी सचेततनामूलक कार्यक्रम, घरेलु कार्यालयअन्र्तगत फर्म दर्ता तथा नवीकरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
शिविरमा धेरै जनताले सेवा लिए, शिविरलाई अब स्थानीय तहबाट नियमित गर्ने योजना बनाएको भन्दै आगामी दिनका शिवरलाई झनै व्यवस्थित र प्रभावकारी वनाउने गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले शिविरमा महिलाहरूले खुलेर स्वाथ्य परीक्षण गराएको भन्दै अब जनताको माग र आवश्यकता अनुसारका विभिन्न शिविर तथा कार्यक्रम सञ्चालन गर्ने बताइन् ।

जिल्ला प्रशासन कार्यालय आयोजक रहेको शिविरको आर्थिक व्यवस्थापन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगतको ८ लाख ५० हजार र पालिकाको केही रकमसमेत थप गरी शिविर सञ्चालन गरिएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम जिल्ला सहजकर्ता भरत न्यौपानेले बताए ।

शिविरमा निकै धेरैको संख्यामा वृद्धवृद्धाहरूले निकै खुसीका साथ ज्येष्ठ नागरिक प्रमाण लिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले बताए ।

जिल्ला प्रशासन कार्यालयले गाउँगाउँका जनतालाई प्रत्यक्ष सुविधा होस् भन्ने मुख्य उद्देश्यका साथ यस्तो खालको शिविर स्थानीय तहको समन्वयमा सञ्चालन गर्दे आएको छ ।

प्रतिक्रिया