गाई किन्ने मुर्ख्याइँ

सरकारले किसानहरूको आर्थिकस्तर सुधार गर्न चीनबाट उन्नत जातका १० हजार गाई ल्याउने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न प्रदेशका मुख्य मन्त्रीहरूले चीन भ्रमणबाट फर्केपछि उन्नत जातका गाई ल्याउने तयारी भएको बताउने गर्थे । पहिलो चरणमा प्रदेश २, ३ र गण्डकीमा ठूला गाई फार्म सञ्चालन गर्ने र विस्तारै कृषकलाई गाई तथा गाईपालन प्रविधि हस्तान्तरण गर्दै जाने उनीहरूले बताएका थिए । चीनबाट १० हजार गाई एकैचोटि खरिद गरेर ल्याउने उनीहरूको योजनालाई धेरैले पत्याएका पनि थिएनन् । तर, पछिल्लो चरणमा साँच्चै नै खरिद प्रक्रिया अघि बढ्न लागेपछि मुलुकका विज्ञ तथा गाईपालक कृषकहरू आत्तिएका छन् ।

झट्ट हेर्दा सरकारको यो तयारी आकर्षक देखिन्छ । चिनियाँ उन्नत जातका गाईले दैनिक ५० लिटर दूध दिन्छन् । हाल किसानले बिक्री गर्ने दूधको बजारभाउ प्रतिलिटर सरदर ५० रुपैयाँ छ । यो हिसाबले एउटा गाईबाट दैनिक २५ सय रुपैयाँ आम्दानी हुन्छ । १० हजार गाईबाट दैनिक २ करोड ५० लाख रुपैयाँ अर्थात् वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी हुने भयो । तर, एकैचोटि १० हजार गाई आयत गर्दा हुने नकारात्मक असरका बारेमा भने सरकारले सोचेको देखिँदैन । उन्नत जातका दूधालु गाई ल्याउनुभन्दा वीर्य ल्याएर नेपालमै उत्पादन गर्दा लागत तथा जोखिम कम हुने तर्क विज्ञहरूको छ । तर, यो तर्क सरकार सुन्नसमेत तयार छैन । कतै ठूलो कमिसनको चलखेल त होइन भन्ने देखिएको छ । खरिद तथा ढुवानीसमेत गरी एउटा गाई ल्याउँदा १ लाख रुपैयाँ प¥यो भने पनि १० हजार गाईको १ अर्ब रुपैयाँ भन्दा बढी पर्छ ।

पहिलो कुरा चीन र नेपालको हावापानी फरक भएकाले चीनबाट आयतित गाईपालनका लागि वातानुकूलित गोठको आवश्यकता पर्छ । जसको प्रबन्ध गर्न ठूलो धनराशि चाहिन्छ । दोस्रो कुरा अहिले नै सिजनमा दूध बिक्री गर्न नसकेर किसानहरूले सडकमा पोख्ने गरेका समाचार आएका छन् । एकैचोटि १० हजार गाई आयत गर्दा दैनिक ५ लाख लिटर दूध थपिन्छ । त्यसको बजार व्यवस्थापन तुरुन्त गर्न सकिन्छ कि सकिन्न ? दूध बिक्री नभएपछि किसानहरू गाईपालन व्यवसायबाट पलायन हुने सम्भावना रहन्छ कि रहन्न ? १० हजार गाई एकैचोटि ल्याउँदा नेपालमा उत्पादित दाना तथा घाँसले पुग्छ कि पुग्दैन ? लगायतका प्रश्न अनुत्तरित छन् । यसैगरी, एकै छिमलका गाईहरू एकैचोटि बुढा हुन्छन् । त्यसको व्यवस्थापनको प्रश्न पनि जटिल छ । किनकि, नेपालमा मासुका लागि गाईको उपभोग सम्भव छैन ।

हाम्रो जस्तो कृषिप्रधान मुलुकका लागि गरिबी निवारणको भरपर्दो माध्यम भनेको पशुपालन हो । व्यावसायिक गाईपालनका लागि सरकारले गर्न लागेको प्रयासलाई कुनै पनि हालतमा भाँजो हाल्नु हुँदैन । किसानले दूध बिक्रीबाट तत्कालै नगद आर्जन गर्छन् भने मल मूत्रबाट कृषिबालीको उत्पादन वृद्धि हुन्छ । दूधमा पाइने पोषक तत्व अरू खानेकुराका तुलनामा धेरै हुन्छ । नियमित ताजा दूध सेवन गर्नेहरूमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

जसका कारण उनीहरूको कार्यक्षमता बढ्छ, स्वास्थ्य क्षेत्रमा हुने लगानी घट्छ । तर, नेपालमा जुन प्रकारको धर्म संस्कृति छ त्यसका लागि गाईपालनमा भन्दा भैँसीपालनमा किसानलाई प्रोत्सान गर्दा फाइदा हुन्छ । मासुका लागि समेत उपभोग हुने हुँदा बुढो भएपछि पनि भैँसी खरिद मूल्यमै बिक्री हुन्छ, तर गाई बुढो भएपछि त्यसको व्यवस्थापनमा अतिरिक्त खर्च लाग्छ । तर, भैँसीले लगानीको तुलनामा कम दूध दिने भएकाले किसानहरू गाईप्रति आकर्षित भएका छन् । किसानले गाई नै रोज्ने गरेकाले सरकारले पनि गाई आयत प्रक्रिया अघि बढाएको हो ।

तर, गाई आयत गर्नुभन्दा वीर्य आयत गरी स्वदेशमै गाई उत्पादन गर्दा लागत मूल्यमा धेरै नै ठूलो अन्तर हुने विज्ञहरूले बताइरहेका छन् । १ लाख रुपैयाँको वीर्य ल्याएर स्वदेशमै १ लाखवटा गाई उत्पादन गर्न सकिने र यसरी उत्पादित गाई स्वदेशकै हावापानीमा सुहाउँदा हुने कुरा विज्ञहरूले बताइरहँदा अर्बौं रुपैयाँ खर्च गरेर १० हजार गाई एकैचोटि ल्याउने तयारी गर्नु भनेको मूर्खताको पराकाष्ठाभन्दा केही होइन । यस्तो मुख्र्याइँ सरकारले नगरोस् । सिधै दूधालु गाई ल्याउनुभन्दा वीर्य ल्याएर स्वदेशमै उत्पादन गरी दूधालु गाई बनाउन लाग्ने समयको अन्तर जम्मा जम्मी दुई वर्ष हो ।

प्रतिक्रिया