अस्पताल वरपर मदिरा निषेध

ओखलढुङ्गा । ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ । लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाएको हो ।

स्थानीय होटल, पसल र मुख्य आवाजजावत हुने क्षेत्रमा यहाँ मदिरा पाइँदैन, यो मदिरा निषेधित क्षेत्र हो भनेर लेखिएका बोर्ड र ब्यानर राखिएका छन् । त्यहाँ मदिरा बिक्री वितरण र सेवन गरे कारवाही हुन्छ ।

करीब पाँच वर्षअघि नै यो अभियान थालिएको भए पनि प्रभावकारी हुन सकेको थिएन । पछिल्लो समय जिल्ला प्रहरी कार्यालयले क्लबको समन्वयमा सक्रियता बढाएर अनुगमन गर्न थालेपछि सोब्रुमा मदिरा निषेध अभियान प्रभावकारी बनेको छ ।

क्लबका पदाधिकारी, जनप्रतिनिधिसहितको उपस्थितिमा सोब्रु क्षेत्रका व्यवसायी र अगुवासँग छलफल गरेर कडाइका साथ नियम लागू गराइएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले बताए ।

मदिराका कारण हिंसा र गैरकानूनी गतिविधि बढाएकाले नियन्त्रण अभियानमा प्रहरी जुटेको मल्लले बताए । जिल्लामा हुने अधिकांश घटना मदिराकै कारण सिर्जना भएको पाइयो, उनले भने, “त्यो अवस्था सुधारका लागि हामी प्रयत्न गरिरहेका छौँ ।

प्रहरीले गाउँगाउँमा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेर मदिराको उत्पादन बिक्री वितरण र सेवनमा ध्यान दिन सुझाव दिने गरेको छ ।

सिद्धिचरण नगरपालिका–११ स्थित सोब्रुमा आठ वर्षदेखि ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनको सहयोगमा लालुपाते क्लब सञ्चालनमा आएको हो । कुलतमा फसेर उन्मुक्ति पाएका १६ जना मिलेर सुरु गरेको लालुपातेले अहिलेसम्म १७५ भन्दा बढीको उपचार गरेको छ ।

उपचार गराइएकामध्ये १५० भन्दा बढी पूर्ण रूपमा कुलतमुक्त भएको क्लबका अध्यक्ष तिलक राईले बताए । क्लबले विभिन्न संघ, संस्था, विद्यालयसँग सहकार्य गरी गाउँगाउँमा आफ्नो कार्यक्रम विस्तार गरिरहेको छ ।

प्रतिक्रिया