बेनी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको सहमती सकारात्मक रहेको बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ ।
सभापति देउवाले सरकार र राउत समूहबीच भएको सहमतिपत्रको बुँदामा प्रयोग गरिएको जनअभिमत शब्दलाई जनमत सङ्ग्रहका रुपमा स्वीकार गर्न नसकिने बताए । ‘‘मैले सरकारले सहमति गरेको भन्ने सुनेको छु, तर सबै बुँदा पढेको छैन, नेपालको केही भूभागको विषयमा जनमत सङ्ग्रह हुन सक्दैन, ’’उनले भने ।
सभापति देउवाले केही बुँदामा अस्पष्टता भए त्यसलाई सरकारले प्रस्ट पार्नु पर्ने बताउँदै आफूले पार्टीमा कसैको अधिकार नखोसेको स्पष्ट पारे । पार्टीको विधानानुसार नै आफू चलेको बताउँदै उनले पार्टीमा आन्तरिक प्रतिस्पर्धाका लागि सबैलाई खुला रहेको समेत बताए । ‘‘पार्टीमा चुनाव लड्न सबैलाई अधिकार छ, पार्टीभित्रको एकता कायम गर्न म सधै तयार छु, ’’उनले भने ।
सभापति देउवाले नेविसंघभित्रको उमेरहद र निर्वाचनको विवाद सङ्गठनभित्रको आन्तरिक विवाद रहेको उल्लेख गर्दै विधानानुसार नै पार्टीलाई अघि बढाइने बताए । सभापति देउवाले नेपालका बहुसङ्ख्यक नागरिक हिन्दू रहेको बताउँदै देशमा अन्य नागरिकले पनि विभिन्न धर्म मान्ने भएकाले नेपाललाई हिन्दू राज्य घोषणा गर्न सम्भव नहुने बताए ।
प्रतिक्रिया