फागुन १५ देखि हात्तीपाइलेको औषधि खुवाइँदै

काठमाडौं । सरकारले १५ जिल्लाका हात्तीपाइले रोगको जोखिममा रहेका ७८ लाख ४९ हजारलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य लिएको छ ।

पाचँथर, इलाम, झापा, बाग्लुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मोरङ, बारा, लमजुङ, पर्वत लगायतका जिल्लालाई टार्गेट गरी हात्तिपाइलेको औषधि खुवाउने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहि फागुन १५ देखि १५ जिल्लाका ७८ लाख ४९ हजारलाई औषधि खुवाउने लक्ष्य राखेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार औषधि वितरण कार्यक्रमका लागि ६ हजार २ सय ५ जना स्वास्थ्यकर्मीहरू परिचालन हुन भएका छन् । यस वर्षको हात्तिपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने कार्यक्रमलाई २० करोड ६० लाख ७० हजार रकम विनियोजन गरेको महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. विवेक कुमार लालका अनुसार देशभरका ३४ अस्पतालमा ४ हजार १ सय ७० जनाको दरले हाईड्रोशिल सर्जरीको लागि बजेट छुट्याईएको छ भन हालसम्म ६ हजार ३ सय २६ जना हाइड्रोशिलका बिरामीको निःशुल्क शल्यक्रिया भैसकेको छ ।

हात्तीपाइले रोग लागेपछि उपचार हुँदैन त्यसैले यसबाट बच्न भनेको पहिल्यै रोग नलाग्न दिनु नै हो । यस रोगको विरुद्धका लागि ६ वर्षसम्म औषधि निरन्तर खानुपर्ने चिकित्सकहरू बताउँछन् । सरकारले सन् २००३ देखि हात्तिपाइले विरुद्धको औषधि वितरण कार्यक्रम सुरु गरेको हो ।

हात्तीपाइले रोग निवारण गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार नेपालले सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिवद्धता जनाए अनुसार अब एक वर्ष मात्रै बाँकी छ । त्यसैअनुरूप सन् २०२० सम्ममा हात्तिपाइले एक प्रतिशतमा झार्ने गरी सरकार अघि बढेको छ । यस रोगको औषधी गर्भवती, सिकिस्त बिरामी, मुटु, क्यान्सर, मृगौला, छारे रोग भएका, दुई वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका ५ वर्षमुनिका बालबालिकालाई खुवाउनु हुँदैन ।

प्रतिक्रिया