गणेशकुमारी, शीलवती हुँदै धम्मावती

‘आमा ! त्रिपिटक पढ्न मलाई बर्मा पठाउने होइन ? हेर्नुहोस् आमा ! म त एक दिन जसरी भए पनि बर्मा जान्छु, जान्छु । बर्मा गएर सम्पूर्ण त्रिपिटक सिकेर मात्र घर फर्किनेछु ।’ (र वे थ्वँ महास्थवीर, तमीः छेत, धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी, ०४७)  बर्मेली भिक्षु र वे थ्वँ महास्थवीरले धर्मकिर्ती विहारका प्रमुख धम्मवती गुरुमाँको बौद्ध धर्मको ग्रन्थ त्रिपिटकको अध्ययनका लागि गर्नु भएको संघर्षशील जीवनीमा आधारित बर्मेली भाषामा लेखिएको पुस्तक ‘तमी ः छेत्’ बाट उद्धृत गरिएको हो । नेपाल भाषामा यसको अर्थ ‘योम्ह म्हयाय’ (नेपालीमा स्नेही छोरी) हो ।

१४ वर्षको उमेरदेखि नै बुद्ध धर्मप्रति अटल आस्था राखेकी धम्मवती गुरुमा अर्थात् गणेशकुमारी शाक्यको विश्वप्रसिद्ध बौद्ध ग्रन्थ ‘त्रिपिटक’ पढ्ने ठूलो अभिलाषा थियो । बुद्धको जन्मस्थल नेपालमा त्रिपिटक पढ्ने व्यवस्था थिएन । त्रिपिटक पढ्न निकै टाढाको मुलुक बर्मा (हाल म्यान्मा) पुग्नुपथ्र्याे । त्यसका लागि उनी भारतको आसामबाट आठ दिन घनघोर जंगलको यात्रा गर्न बाध्य भए ।

म्यानमार गएर बौद्ध धर्मको अध्ययन गर्ने कल्पनामा डुबेका गणेशकुमारी बरोबर आफ्नी आमासँग म्यानमार पठाउन ढिपी गरिरहन्थिन् । बर्मी भिक्षु र वे थ्वं महास्थविरले बर्मेली भाषामा तिनै धम्मावती गुरुमाको जीवनीमा आधारित भई लेख्नुभएको यो उपन्यास नेपाली तथा नेपाल भाषामा उपलब्ध छ । नेपाल संवत् १०९० मा भिक्षु ज्ञानपूर्णिक महास्थविरबाट बर्मेली भाषाबाट नेपाल भाषामा अनुवाद भएको यो पुस्तक बौद्धविद्वान् मोतीकाजी शाक्यले नेपाल संवत् १११० मा नेपाली भाषामा अनुवाद गर्नुभएको हो । नेपाली भाषामा ‘स्नेही छोरी’ र नेपाल भाषामा ‘योम्ह म्हयाय’ नाम दिइएको सो पुस्तक २२ अध्यायमा विभाजित छ ।

उपन्यास अरू साहित्यिक उपन्यासजस्तै सामान्य भने होइन । बौद्धधर्म तथा त्रिपिटकसँग जोडिएको मात्र नभई एउटी कलिली केटी तथा उनको संघर्षशील जीवनको गाथा यसमा छ । नेवार जातिकी एउटी सानी सोझी केटीको ओजपूर्ण साहसयात्रा यसमा छ । म्यान्मा मानिपो ( नेपाली केटी) का नामबाट परिचित धम्मावतीले ठूलो परिश्रम तथा अध्ययनपछि ‘शासनाध्वज धम्माचरिय’ (बुद्ध शासनको ध्वजा फरफराउनमा सक्षम ) उपाधि प्राप्त गर्न सफल भएका थिए । सन् १९६२ डिसेम्बर २ मा रंगुनको गभायीस्थित सिरिमंगल भूमिस्थलको छैटौँ संगायन महापासाण गुफामा तत्कालीन संयुक्त राष्ट्र बर्माको क्रान्तिकारी सरकारद्वारा गठित तक्षशिला समितिको आयोजनामा पाली तक्षशिला आचार्य परीक्षासम्बन्धी सभामण्डलबाट शासनाध्वज धम्माचरिय (बुद्धशासनको ध्वजा फरफराउनमा सक्षम) उपाधि प्राप्त गरेका विदेशी अनगारिका धम्मावतीलाई त्यहाँको जनपरिषद्ले अभिनन्दन गरेको थियो ।

सन् १९५२ सेप्टेम्बर २३ मा खेमाराम विहारमा प्रवेश गरेका धम्मवतीले सद्धम्मपाल परीक्षामा प्रथम श्रेणीमा प्रथम, सन् १९९४ मा अभिधम्म तेस्रो कक्षा, सन् १९५५ मा सरकारी कक्षा प्रथम, सन् १९५६ मा सरकारी द्वितीय कक्षा, सन् १९५७ मा सुसमाचार प्रथम कक्षा र सन् १९५८ मा सरकारी तृतीय कक्षामा सफलता पाएका थिए । उनले पाली साहित्यको सर्वोच्च शिक्षा शासनध्वज धम्माचरीय परीक्षा दिएका थिए ।

कृतिमा गणेश कुमारीकी आमा हीरा थकुँमा आफ्नी छोरीले थेरवादी बुद्ध धर्मको गहिरो अध्ययन गर्न पाऊन् भन्ने चाहना भए पनि नेपालमा थेरवादी बुद्धधर्मको अध्ययन गराइने व्यवस्था नभएकाले थेरवादी बुद्ध धर्मको अध्ययन गराउन एक मात्र आफ्नी छोरीलाई बर्माको अनगारिकाराममा पठाउने व्यवस्था गरिकी थिइन् ।

नेपालमा राणा शासनको कठोर युगमा ००६ जेठ (सन् १९५० मे १६ ) मा आफ्नै घरमा विद्रोह गरी म्यानमार गएका उनले त्यहाँ पुगेर बुद्ध धर्मको महत्वपूर्ण ग्रन्थ त्रिपिटकको गहन अध्ययन गरेका थिए ।

साहसिक यात्रा
मुसुलधारे वर्षाका बीच घरबाट निस्किएकी गणेशकुमारी चन्द्रागिरि पर्वत शिखरको पैदल यात्रा गर्दा वर्षा र हिलाम्य बाटोका कारण कठिन थियो । दाजु मानकाजीको सहयोगमा भीमफेदी बजार पुगेकी गणेशकुमारी भीमफेदीका द्वारिकादास मानन्धरसहित अरू सहयात्रीसँंग पैदल भारतको कुशीनगर पुगिन् ।  कुशीनगरको बर्मी विहारमा बर्मी भिक्षु धम्माबुध र नेपाली भिक्षु बुद्ध घोषसँगको शिष्टाचार भेटपछि गणेशकुमारीले ‘बुद्ध शासनमा शीलवती हुनेछु र त्रिपिटकको अध्ययन गरी ग्रन्थधर हुनेछु’ भनी महापरिनिर्वाणको मूर्ति अगाडि संकल्प गरिन् । बुद्धको महापरिनिर्वाणपछि ५ सय वर्षसम्म बुद्ध पूजा गर्ने प्रचलन नभएको स्थविर ऊ धम्मा बुधबाट गणेशकुमारीले थाहा पाइन् । बुद्ध जीवनीसँग सम्बद्ध बोधिवृक्ष, धर्मचक्र, चैत्य, हात्ती, घोडा, सिंहजस्ता प्रतीकलाई पूजा गरेर बुद्धप्रति श्रद्धा व्यक्त गर्ने चलन थियो । बर्माको मोलमिनस्थित खेमाराम नामको अनगारिकारामबाट गणेशकुमारीलाई बुद्धधर्म पढ्न आउन बोलाहट भएको दुई महिनापछि आषाढ पूर्णिमादेखि आश्विन पूर्णिमासम्म भिक्षुहरूको वर्षाबास सुरु भएकाले धम्मावतीले कुशीनगरमै पाली भाषा र बर्मी भाषाको अध्ययन गरिन् ।

त्यसैवेला गणेशकुमारी गृहस्थरूप त्यागी शीलवती भइन् । आफ्नो सुन्दर कपाल गणेशकुमारी आफैँले काटेपछि उनले साथीहरू मनोहरादेवी तथा शुभलक्ष्मीको कपाल पनि काटिदिइन् । स्थविर धम्माबुधबाट अष्टशील ग्रहण गराइसकेपछि गणेशकुमारीलाई ‘धम्मावती’, मनोहरादेवीलाई ‘मागधी’ तथा शुभलक्ष्मीलाई ‘माधवी’ नामकरण भयो । शाक्यमुनि तथागतको पालामा प्रजापति गौतमीको अथक प्रयास र आनन्द स्थविरको निःस्वार्थ प्रार्थनाले स्त्री जातिले पनि भिक्षुणी हुन पाउने अवसर पाएका थिए । भिक्षुणी शासन बुद्ध संवत् ४०० पछि लोप भएको अनुमान छ ।
बर्माको मोलमिनस्थित खेमाराम नामको अनागारिकारामबाट गणेशकुमारी, मनोहरादेवी र शुभलक्ष्मीलाई बौद्धधर्म पढ्न बोलाहट भएको दुई महिना हुँदा पनि राहदानी बन्न नसकेका कारण उनीहरू बर्मा जान पाएका थिइनन् ।

आसाम– बर्मा कठिन यात्रा
भारतको नागाल्यान्डको बाटो गरी पैदल नै स्थविर धम्माबुध तथा शीलवतीले स्यान जातिका यात्रु बाटामा भेटिन् । जाडोयाममा निकै चिसोका बीच दिनभरिको हिँडाइपछि जब साँझ पर्दै गयो घनघोर जंगलमा जंगली जनावरको सन्त्रास बढ्न थाल्यो । बुद्ध गुण, धर्म गुण, संघ गुण स्मरण गर्दै सूत्रहरू पाठ गर्दै यात्रा गरिरहेका धम्मवती सहितका यात्रुको राती ठूलो चट्टानको खोँचमा रहेको प्राकृतिक ओढारमा बास बसेका वेला बाघसंँग जम्काभेट भयो । तेस्रो दिनको यात्राको क्रममा चराचुरुंगीसँग खेल्दै अघि बढिरहेका बेला एक्कासि एक्लै हुँदा शीलवतीको जम्काभेट अजिंगरसँग भएको थियो ।

अनेकानेक दुखकष्ट झेलेर, थुप्रै जंगल पार गर्दै कैयौँ पहाड पर्वतको उकाली÷ओराली गर्दै थप दुई दिन दुई रातको समय मानवरहित इलाकामा बिताएपछि तेस्रो दिन मिचिना सहरमा बास बस्न पाइन्छ कि भन्ने आशामा रहेका वेला अनकन्टार जंगलमा बाटो बिराएपछि झण्डै ६ घण्टाको हिँडाइ खेर गयो । बाटामा खतरनाक झिँगा र लामखुट्टेको टोकाइ सहँदै शीलवती र उनका सहयात्री मिचिना, रंगुन हुँदै बर्माको तेस्रो ठूलो सहर मोलमिन पुगिन् । यस सहरको शिरमा नागबिस पर्वतमाला र थुप्रै बौद्ध विहार छन् । सो पर्वतमा रश्मिसमान सुनौलो चमकयुक्त च्याँइतल्लान चैत्य र महाभ्यात नामक बुद्धमूर्ति स्थापना गरिएको छ । त्यस टाकुरामा खेमाराम नामको शीलवती विहार छ, जहाँ धम्मावतीले त्रिपिटकसम्बन्धी उच्च शिक्षा हासिल गरेकी थिइन् ।

सन् १९५२ सेप्टेम्बर २३ मा खेमाराम विहारमा प्रवेश गरेकी धम्मावतीले सद्धम्मपाल परीक्षामा प्रथम श्रेणीमा प्रथम, सन् १९९४ मा अभिधम्म तेस्रो कक्षा, सन् १९५५ मा सरकारी कक्षा प्रथम, सन् १९५६ मा सरकारी द्वितीय कक्षा, सन् १९५७ मा सुसमाचार प्रथम कक्षा र सन् १९५८ मा सरकारी तृतीय कक्षामा सफलता पाएकी थिइन् । उनले पाली साहित्यको सर्वोच्च शिक्षा शासनध्वज धम्माचरीय परीक्षा दिइन् । सन् १९६२ डिसेम्बर २ मा रंगुनको गभायीस्थित सिरिमंगल भूमिस्थलको छैटौँ संगायन महापाषाण गुफामा म्यानमारको क्रान्तिकारी सरकारद्वारा गठित तक्षशिला समितिको आयोजनामा पाली तक्षशिला आचार्य परीक्षासम्बन्धी सभामण्डलबाट शासनाध्वज धम्माचरीय ( बुद्ध शासनको ध्वजा फरफराउनमा सक्षम ) उपाधि प्राप्त गरेकी विदेशी अनगारिका धम्मावतीलाई त्यहाँको जनपरिषद्ले अभिनन्दन गरेको थियो ।

प्रतिक्रिया