‘शिखरको ढुंगा’ भित्र आरोहण गर्दा

कहिलेकाहीँ कष्टसाध्य मानिएको चिज निकै साहसिक बन्न जान्छ । साहसले मानिसलाई नयाँ उचाइमा लैजान्छ । सोच्ने र यात्रा गर्ने जीवनरथलाई फरक धारबाट हिँडाउन बाध्य बनाउँछ । यसैबीच एउटा कष्टसाध्य यात्रापछि नेपाली आख्यान क्षेत्रका ‘शिखरको ढुंगा’ उपन्यास आएको छ । उपन्यासकार सरल सहयात्रीद्वारा लिखित यो उपन्यासले हिमाल आरोहण, शेर्पा जातिको संघर्ष, नेपाली राजनीतिको एउटा कालखण्डलाई कलात्मक रूपमा उधिनेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्दा आइपर्ने मृत्यु अनुभव नियालेर लेखिएको अब्बल कृतिको रूपमा आएको उक्त कृतिले सगरमाथा आरोहणका अनेकन किस्सालाई जीवन्त रूपमा पढाउँछ । पाठकलाई घरिघरी आङ नै सिरिङ हुने गरी कौतुहल मात्रै बनाउँदै जीवनको जसटल यात्रालाई नजिकबाट बुझ्ने उत्प्रेरणा पनि दिन्छ ।

सायद हिमाल आरोहणलाई नजिकबाट नियालेर लेखिएका संसारका अति कम आख्यानमा यो कृति पनि उपल्लै दर्जामा आउँछ । पढ्दा कताकता त्रास, कता कता जिज्ञासु, कताकता कौहुतलाता जगाउने ‘शिखरको ढुंगा’ नेपाली प्रगतिवादी साहित्यमा निकै उच्चकोटीको कृतिको रूपमा देखापरेको छ । हिमाल आरोहणजस्तो जटिल कामलाई आख्यानीकरण गरेर नेपाली राजनीतिलाई समेत बिम्बात्मक रूपमा उधिनिएको कृतिको रूपमा यो पुस्तक देखा परेको छ । उपन्यासले हिमाल आरोहणको कथासँगै नेपाली राजनीतिको जटिल मोडको बिम्बात्मक आख्यानीकरण गरेको छ । हिमाल चढ्नजस्तै जटिल छ राजनीतिको घुमाउरो राजमार्ग हिँड्न । हिमाल चढ्ने सकसजस्तै सरलले राजनीतिको राजमार्गमा आउने आरोह अवरोहलाई कलात्मक रूपमा उपन्यासमा उधिनेका छन् । कृति पढ्दा हिमाल चढ्नेको कथा छ । तर, पाठकलाई उपन्यासले हिमाल चढ्दाचढ्दै राजनीतिको घनचक्करमा समेत पु¥याउँछ ।

उपन्यासका पात्रको राजनीतिक साइनो, उनीहरूले गरेको त्याग, सँगै सहादत प्राप्त गरेका योद्धा र तिनका सपनालाई लेखकले कलात्मक बिम्बमार्फत पाठकलाई संप्रेषण गर्न सफल भएका छन् । राजनीति यात्रामा कहिले माथि त कहिले तल हुने परिवेशलाई सगरमाथा चढ्दा शिखर चुम्नुअघि गरिने कयौंपटक माथि पुग्दै तल झर्ने तयारीसँग जोडेर हेरिएको छ । हिमाल आरोहण गर्दा के के को तयारी गरिनुपर्दछ र कसरी आरोही शिखर चुम्दछन् भन्ने विषयलाई नजिकबाट नियाल्न यो कृति निकै सफल छ । उपन्यासले हिमाल आरोहणको अद्योपान्त विषय बुझ्न सघाउँ पुर्याउँछ भने नेपाली राजनीतिमा वर्गसंघर्षको उच्चतम रूपमा देखापरेको १० वर्षे जनयुद्धको परिघटनालाई समेत कलात्मक रूपमा आख्यानीकरण गरेको छ ।

जनयुद्धको बलमा नेपालमा गणतन्त्र आएको विषयलाई उपन्यासले उठाएको छ । त्यस्तै, राष्ट्रियता, श्रमजीवी जनताको दुखान्त र संघर्ष, प्रकृतिप्रेम लगायतका विषयलाई समेत उठान गरेको छ । ‘शिखरको ढुुंगा’ ले नेपाली प्रगतिशील साहित्यमा मात्रै नभई समग्र नेपाली साहित्यमै गहन प्रभाव जमाउने विश्वास लिन सकिन्छ । साथै हिमाल आरोहणसँग जोडेर लेखिएको यस उपन्यासले पाठकलाई फरक स्वाद पस्कन सफल हुने विश्वास लिन सकिन्छ । नेपाली राजनीतिमा प्रभाव पार्ने क्षमता राख्ने सगरमाथा आरोही समेत रहेका सरल सहयात्रीले आरोहणको विषयमा लेखेको यस कृतिले प्रगतिवादी नेपाली साहित्यलाई समृद्ध बनाउन मद्दत समेत गरेको छ । उपन्यासमा सगरमाथा आरोहण गर्ने सौर्य, आजाद र मेदिनाको विगतमा जोडिएका समाज बदल्ने सपना र चुचुरो चुम्ने विषय निकै आकर्षक रूपमा उठान गरिएको छ ।

दश वर्षसम्म चलेको जनयुद्ध लडेका योद्धाले नेपाललाई संघीय गणतन्त्र बनाउन गरेको त्यागलाई शिखरको ढुंगासँग तुलना गरिएको छ । ज्यानको बाजी लगाएर लडेका सहिद र योद्धाले ल्याएको शिखरको ढुंगारूपी गणतन्त्रलाई जोगाउने, हुर्काउने र सबै जनताको पक्षमा लाग्ने बनाउने अभिभारा नयाँ पुस्तामा सरेको उपन्यासको सार हो । त्यस्तै, हिमाल आरोहीका अनेकन दुखान्तलाई समेत उपन्यासले चित्रण गरेको छ भने शेर्पा जातिको साहसलाई पनि प्रस्तुत गरेको देखिन्छ ।

हिमाल आरोहणसँगै वैचारिक प्रतिबद्धतासहित आएको यो उपन्यासले नेपाली राजनीतिमा समेत नयाँ बहस छेड्ने विश्वास लिन सकिन्छ । सांग्रिला बुक्सले बजारमा ल्याएको यो कृतिले नेपाली समाजको रूपान्तरणमा भएका महत्वपूर्ण परिघटनालाई समेत केलाएको छ । अन्तमा उपन्यासले पाठकलाई हिमाल चढेकै अनुभूति दिलाउँछ । यसका दुखान्तलाई नजिकबाट बुझ्न सघाउँछ । राजनीतिका विविध गल्छेडालाई नियाल्ने मौका दिन्छ । चुनौतीका पाइलालाई कसरी छिचोल्ने भन्ने संघर्षको कहानीलाई कलात्मक रूपमा संप्रेषण गर्दछ । भाषामा कहिकतै क्लिस्टताको जार्गन छैन । भाषा सरल छ । कथ्य शैली आकर्षक र पठनीय छ ।

प्रतिक्रिया