व्यक्तित्व – सडक नाटकबाट उठेका श्रीदेव

सडक नाटकदेखि आफ्नो करिअर अघि बढाएका अभिनेता श्रीदेव भट्टराई पछिल्लो समय नमस्ते अल इन्टरनेसल ग्रुप प्रोमोसनका लागि ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । अभिनेता भट्टराईले ब्रान्ड एम्बेसडरमार्फत वार्षिक पाँच लाखसमेत पाउने भएका छन् ।  सानैदेखि कलाकारिताको मोहले तानेपछि भट्टराईले आफ्नो करिअरको सुरुवात गर्न सडक नाटकमा लागेका थिए । इलामको माई नगरपालिकामा जन्मिएका भट्टराई स्कुलको अध्ययन सकेपछि उच्च शिक्षा अध्ययनका लागि दार्जिलिङ छिरे । त्यहाँ आफूले सोचेको जस्तो नभएपछि अध्ययन र कलाकारितालाई अगाडि बढाउन काठमाडौं हानिए ।

‘एक्कासी ठूलो कलाकार बन्न चाहना भए पनि आफ्नो पहुँच नभएको कारण सडक नाटकबाटै आफ्नो अभिनय यात्रा सुरु गरेँ,’ भट्टराईले भने । काठमाडौं भनेपछि प्रायः मानिसलाई एकपटक जान पाए राजधानीजस्तो ठूलो सहरमा केही होलाकी भन्ने आशा हुन्छ । तर, काठमाडौंको कस्तो हुन्छ भन्ने पहिले नै कल्पना गर्न भने कसैले गर्दैनन् । श्रीदेवलाई पनि त्यस्तै नै भयो । सामान्य परिवारमा जन्मिएका उनलाई राजधानी खाल्डो छिरेपछिका दिन निकै संघर्षमय रूपमा बित्यो । उनी विगतबारे भन्छन्, ‘नचिनेको ठाउँ राजधानीमा गएर आफन्तकहाँ नै बस्दा केही सहज होलाकी भन्ने सोचेर बसेको थिएँ तर झनै गाह्रो भयो । दिनभर पसलमा काम गरेर साँझ सबैले खाएको जुठा भाँडा मस्काउन पथ्योे ।’

उनी सुरुमा आफन्तकै साहराले अध्ययनसँगै कलाकारितामा पनि अघि बढ्न सक्छु कि भन्ने सोच राखे पनि उनलाई आफन्तले नै दुःख दिएको पीडा सुनाए । उनले राजधानी छिरेको करिब सात वर्षसम्म उच्च शिक्षा हासिल गर्न नसकेको दुखेसो पोखे । ७ वर्षसम्म उच्च शिक्षा हासिल गर्न नसकेका उनले सिन्धुलीबाट प्लस टु पास गरेपछि मिडिया क्षेत्रको मोहले तान्दै लगेको सुनाए । इसिआर एफएममा प्राविधिकको रूपमा काम गर्न थाले । भट्टराईले मिडियामा जागिर त खाए तर भनेको समयमा तलब न पाउँदा गुजारा चलाउन धेरै कठिनाई भएको बताए । सबैभन्दा बढी रुचि कलाकारिता एवं अभिनय भएकाले त्यही समयमा गायिका माण्डवी त्रिपाठी र अनिल विरहीको आवाजमा रहेको गीतको भिडियोमा अभिनय गर्ने मौका पाए । त्यही गीतले उनलाई कलाकारितामा अगाडि बढाउन महत्वपूर्ण सहयोग ग¥यो । त्यसपछि चलचित्र ‘भाइमारा’ मा पनि उनले सानो भूमिकामा अभिनय गर्ने अवसर पाएका थिए ।


अभिनयको भोकले उनलाई भारतको मुम्बई पुर्यायो । उनले त्यहाँ चलचित्रसम्बन्धी तीन वर्ष तालिम लिएको जनाए । तीन वर्षको तालिम पश्चात भारतीय चलचित्रमा पनि अभिनय गर्ने सोच आफूमा रहेको उनले सुनाउँदै भने, ‘कसैको साथ, समर्थन र आर्थिकको अभावले मैले त्यहाँ आफूलाई उभ्याउन सकेन ।’ त्यसपछि उनी नेपाल फर्किए । मुम्बईबाट फर्किएलगत्तै भट्टराईले नेपाली चलचित्र ‘बनबास’ मुख्य नायकको भूमिकामा अभिनय गर्ने अवसर पाए ।  उनको धुन रेकर्डिङ स्टुडियोमा निर्माता श्याम कार्की र निर्देशक भविन्द्र तामाङसँग भेट भएपछि चलचित्र ‘न्युजेनेरेसन’ मा डबल रोलको भूमिकामा अभिनय गर्ने अवसर पाए । उक्त चलचित्रमा अभिनेत्री अनु शाह र ममता प्रधानसँग उनले जोडी भएर काम गरे ।

चलचित्र क्षेत्रमा उनको करिअर विस्तारै उकालो लाग्दै गयो । उनको सफलतासँगै विभिन्न चलचित्रमा माग बढ्न थाल्यो । यसैगरी उनलाई सञ्चारकर्मी भरत बमजन, नवराज लम्साल र लोकमणि सापकोटाको सहयोगले रेडियो नेपालबाट प्रसारण हुने नाटकमा समेत काम गर्न थाले ।
निर्देशक माधवराज खरेलले चलचित्र ‘साइलेन्स’ मा महँगो पारिश्रमिक दिएर अभिनय गराएपछि यो क्षेत्रबाट आफ्नो जीवनशैली नै फेरिएको भट्टराईले बताए । उनले निर्देशक खरेललाई निकै सम्मानका साथ चलचित्र क्षेत्रमा लिने गरेको बताए । त्यसपश्चात् उनले चलचित्र छल, चाल, ढुंगे युग, बिरानो माया, कुइनेटो, सुकुलगुण्डा लगायतमा काम गरे । त्यस्तै, करिब पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरेको उनले जनाकारी दिए ।

चलचित्र, म्युजिक भिडियो, नाटक लगायतका क्षेत्रमा काम गरेर उनले विभिन्न अवार्ड हात पार्न सफल भएका छन् । उनले ग्लोबल नेसनल म्युजिक अवार्ड, मोडल सङ, इन्टरनेसनल म्युजिक अवार्ड, म्युजिक खबर अवार्ड, सगरमाथा म्युजिक अवार्ड, छाया छवि इन्टरनेसनल फिल्म होनर अवार्ड लगायतका दर्जनौँ अवार्ड तथा सम्मान पाएका छन् ।

प्रतिक्रिया