किराँत सौन्दर्यको ललितकला–केही चर्चा !

नारद हार्तम्छाली “कलाङ”

ललितकलाको विकासमा किराँती सांस्कृतिक सौन्दयलेके–कस्तो प्रभाव पारेको छ ! यो सवाल, ललितकलाका विधाहरू : चित्र, मूर्ति र वास्तुकलामा पनि सामान्य चर्चा मात्र हैन विशेष अनुसन्धान नै गर्नुपर्ने आजको आवश्यकता हो । तर, नेपाली लालित्यको मूलधारमा जनजातीय कला–संस्कृतिको विशेष र पूरक भूमिका रहे–भए पनि यसको खोजीनीति खास हुन नसकिरहेको पक्षको ऐतिहासिक पृष्ठ प्रसंगका साथै तत्त–तत्तावस्थाका वस्तुगत विश्लेषण–संश्लेषणसहित प्राथमिक आवश्यकताको आधारमा विशेष सोच तयगर्न र त्यसको सैद्धान्तिक तथा रणनैतिक विधि–पद्धति र दीर्घकालीन कार्यक्रमहरू के–कस्तो अपनाउने ! आदि पृष्ठ–प्रसंगको सवालमा केही–चर्चा गर्ने मनसायले नै यो भावनात्मक लेखमा किराँत तथा सौन्दर्य शास्त्रको खास परिभाषा नखोजी सोझै किराँती ललितकलाको प्रसंग/सेरोफेरो मै केन्द्रित गरिएको छ ।

यो भू–मण्डलमा लाखौं वर्ष अघिदेखिको ऐतिहासिक मानव विकास सवाल उठाउदा नेपाली समाज र कला संस्कृतिको चर्चा पनि विगत ८÷९ हजार वर्षदेखिको सिकारी समाजकै प्रसंग पनि जोड्न सकिन्छ । जुनवेला प्रायः मानव समुदायहरू झुण्ड–झुण्डमा बाँडिएर सिकार–कन्दमूल खोज्दै तथा ओडार र रुखका फेद हुँदै जीवन गुजारा गर्दै, फिरन्ताको रूपमा प्रकृति र अन्य जनावर तथा मानव समूहसँग संघर्षात्मक प्रतिस्पर्धा गर्दै र त्यसैमा समायोजित हुँदै अन्य नयाँ सुविधा तथा सहजताको थप उपाय र प्रगतिको माध्यमिक मूलबाटो रोज्दै निरन्तर बढिरहन्थे । यसैक्रममा किराँती समुदायको साँस्कृतिक जीवन पनि विचरण हँुदै आउँदा उनीहरूको सौन्दर्य–कला पनि क्रमशः परम्पराबाट लोकाधुनिक हुँदै समय सापेक्षमा नवीकरण भइरहेको छ ।

किराँत संस्कृतिमा ललितकला लुङ–परम्परा (वतन/बस्ती) वा वास्तुकलाको आधारले विश्लेषण गर्दा विशेष सहज हुन सक्ला ! ती कुरालाई पुष्टि गर्न वा–लुङ (हिमाल) देखि सुप्तुलुङ (चुला) सम्मको र माङ–लुङ (मातृ प्रधानसत्ता) देखि पा–लुङ (पित्तृ प्रधानसत्ता) सम्मको ऐतिहासिक पहिचान भएका खामलुङ (प्राकृतिक/भौगोलिक किराँत–बस्ती÷जिमिभूमि) र वातुुङ–भाई (वंशज–बासिन्दा) हरूको खीम÷खाम(घर) को प्रचलनहरू पनि कोट्याउनपर्ने हुन्छ । यो अर्थमा किराँत सौन्दर्य कोराभावबाट भन्दा वस्तु/प्रकृति–पर्यावरणको यथार्थबाट लाक्षणिक, विम्बित र सांकेतिक भएको पाइन्छ । त्यसरी नै अमूर्त साँस्कृतिक सम्पदाको अर्थले पनि सुप्तुलुङ–दर्शन (मुन्धुम) को लोकविधि विज्ञान र संज्ञानमा किराँती ललितकला वा लालित्यको सार–आधार विशेष महत्वको छ ।

चावालुङ (सगरमाथा) लाई केन्द्रमा सीमा राखेर त्यसैको वरिपरि अहिलेका गुफा, सिकारीथान–देवीथान पहिले किराँतीका वासस्थान रहेकोले वास्तुकलामा त्यही वस्तु र तत्वहरूको विम्विकरण भएको हो । त्यसैले किराँतीको सुप्तुलुङका तीन चुलाढुंगाहरू हिमाल र पूर्खाहरूको प्रतीक पनि मानिन्छ जबकी प्रायः अरू समुदायको चुला, भान्सा प्रयोजनार्थ मात्रै हुन्छ । यो सन्दर्भमा किराँती घरलाई मूलतः तीन विभागको ४/४ उपविभागमा बाँडेर साँँस्कृतिक सौन्दर्यको व्यवहार र वस्तु–भावोपयोग समेत दुवै गर्ने गरेको बुझिन्छ । जस्तैः काल/वस्तु÷स्थानगत रूपलेः
१) भूत/चूलामाथि (भार, माक्छ्याम, दिक्छ्याम र बुइंगल, २) वर्तमान/चुला वरिपरि (अगाडि, दायाँ/डिलभित्र, बायाँ/चौका) र मूल खाम/संक्रमण केन्द्र र ३) भविष्य/मूल खामबाहिर (मूलदैलो, जस्केलो, सिकुवा र आँगन) ।

 

किराँती सौन्दर्यलाई वस्तोपयोग तथा संस्कारिक कार्य प्रयोजनसँगै आलंकारिक रूपमा पनि बुझ्दा नै लालित्यको भाव र शैली पनि अर्थिन्छ । यसार्थः किराँती घर केवल वासस्थान मात्रै नभएर जीवन–पुस्तककै एउटा विम्ब हो । जहाँबाट एउटा किराँतीको उत्पत्ति साथै पुस्ता हस्तान्तरण हुने तथा त्यहीबाट सौन्दर्यको सिर्जना पनि भएको मानिन्छ । त्यो नै चुलाघर हो र त्यसको मूलदैलो, जस्केलो र धूरी दुलो (गोप्य झ्याल) त्रि–भुवन यात्रा (तीन संसार) को मार्ग हो । जसमा घरको मूलखाम नै सन्तुलन/समन्वयको सीमा हुन्छ जहाँबाट जीवन र मृत्युको न्याय केलाउने÷बाटो लगाउने पनि गरिन्छ । यही घरको तीन चुला ढुंगाहरू नै भावनात्मक, प्रतीकात्मक र विम्बात्मक किराँती मूर्ति पनि मान्न सकिन्छ । हस्तकलाको रूपमा भने निकै नै किराँती कलाहरू व्यवसाय कै आधारले विकास भइ आएको छ । त्यसैगरी हालको आधुनिक भिजुअल आर्ट भनिने कलाको पृष्ठ प्रसंग (स्टलेसन–पर्फमेन्स आर्ट) पनि किराँती झाँकी कलाहरूमा राम्रै पाइन्छ ।

जहाँसम्म किराँती सभ्यताको ऐतिहासिक कालमा भए÷गरेका र सिर्जिएका ललितकला कृतिहरूको प्रसंग छ त्यो भनेको राजनैतिक नेतृत्व र इच्छाले गरे÷गराइएका कार्यहरूको कला–नमुना त मान्न सकिन्छ नै तर ती रचनाहरू सत्ता सापेक्षताको नियमिततामा हराउने वा जिउँदो–जाग्दो रहने हुनाका कारणले कतिपय ऐतिहासिक महत्वका कला सम्पदाहरू विनास भएर जाने परम्परासँगै किराँत शासनकालीन कलाकृतिहरू पनि प्रत्यक्ष अस्तित्वमा नरहेको तथा पछिल्ला पुस्ताका अन्य सत्ता र शक्तिशाली समुदाय वा सम्प्रदायहरूले समयसन्दर्भमा आफूकरण गरी कलामा पनि प्रभूत्व जमाएको सवाल किराँतकालीन कलाको हकमा पनि पाइन्छ नै । ती कारणले पनि हुनसक्छ किराँती शासनकालका भनिएका केही मूर्तिहरू बाहेक अन्य विधाका रचनाहरू खास भेटिएको छैन ।

चित्रकलाको हकमा पनि अहिले नेवारी कलाको रूपमा देखिएको मण्डला–पौभा कला/तिब्बतीयन थांका कलाको गुरू शैली र थारू÷धिमाल लोककला भनिने शैलीहरू, त्यस्तैः विन्दु, तीन, छ/आठ/बारकुने आकारहरू तथा विशेष गरी रातो र हरियो रङ नै किराँती कलाका नववंशजहरू हुनसक्ने केही सारपूर्ण तर्क गर्न सकिए पनि यसमा खास अध्ययन भएको छैन । त्यसरी नै नेपालको मध्यकालीन राजनैतिक इतिहासमा देखिएका किराँत शासकहरूका गढी, किल्ला, थुम र त्यहाँका दरबारहरूको भग्नावेशहरू वास्तुकलाको रूपमा हेर्दा र पूर्व शताब्दीतिरका प्रज्ञा पारमिता (परम्परागत चित्र) मा देखिने आठकुने आकारको रेखाहरूको समान सारत्वले पनि एकखाले तार्किक नवसोच देखाउँदछ की किराँती कलाशैलीको स्थापना सँगसँगै त्यसलाई अन्यकरण गर्दै आइएको नै छ भन्ने मान्न सकिने प्रशस्त आधारहरू पाइन्छ । तर यसबारे पनि ठोस र विशेष तथ्यसहित प्रमाणित गर्न सकिएको छैन नै ।

यी माथिका ऐतिहासिक सवालको पृष्ठभूमिमा किराँत ललितकलाको हालको मूल समस्या भनेको नेपाली संस्कृतिलाई सबै समुदाय, तह र तप्काका वर्ग, वर्ण र नश्लीय तथा क्षेत्रीय पक्षहरूको समावेसी सहभागिता र पहुँचताको मूलधार बनाई विश्व मानव संस्कृतिको रंगमञ्चमा गर्भ साथ उभिनु हो । तर, आ–आफ्ना पहिचान र मौलिकतासहितको स्वअस्तित्व नबनाई, नखोजी र नदेखाई सामूहिक तथा सार्वजनिक पहँुचतामा आफूलाई पु¥याउन र विशेष हैसियत साथ मानवाधिकार दावा गर्न नसकिने हुन्छ । यही सवाललाई केन्द्रिभूत गरी किराँती सौन्दय शास्त्र र ललितकलाको समसामयिक चर्चा उठिरहेको छ ।

किराँत समुदाय र संस्कृतिका विभिन्न धार र सम्प्रदायले अपनाउने विचार र आचारका फरक–फरक दृष्टिकोण र दर्शनका कारण पनि किराँती सौन्दर्य र कलाको स्थापित हुन सक्ने विशेष परिभाषा अल्मलिएको पाइन्छ भने अर्कातिर मूल किराँती (राई–लिम्बू, याक्खा र सुनुवार) भनिएकाहरूको कला सिर्जना; त्यो पनि प्राविधिक अर्थले रचना गरिएका वस्तु–अनुकरणीय कलाकृतिको आधारमा के–कस्तो, कसरी र कत्तिको मापदण्ड राख्ने भन्ने सवाल पनि उठ्दछ । जस्तोः नेपाली कलाकारले बनाएकाले नै नेपाली कला भयो भने जसरी किराँती कलाकारले बनाएकोले !… भन्ने गरियो भने त्यो न्यायसंगत हुँदैन त्यसै गरी किराँतीको विषयवस्तु (कोरा रूपमा) उठाएको मान्यताले मात्रै पनि लालित्यको अर्थ राख्दैन नै । किराँती मानकीय विम्बविधान र दृष्टि–दर्शन जुन रचनामा हुन्छ त्यो नै किराँती कला भन्ने मान्यता र मापन राख्ने हो भने जुनसुकै जातिले बनाए पनि त्यो किराँतीपन र शैलीको कला बन्छ भनेर मान्नु पर्दछ ।

अब रह्यो कुरा, सौन्दर्य–दर्शन र शैलीको । किराँत शौन्दर्य वा ललितकला भनेर वादैको रूपमा स्थापित बनिसकेको अवस्था भने हैन । त्यसरी नै दार्शनिक रूपमा मुन्धूमी भने पनि यसमा विशेषीकरण साथ कलाको खास परिभाषासहित सामान्यीकरण गरिएको पाइन्न । तर पनि किराँत समुदायको प्रचलन–परम्परा र हालका छलफल र चर्चाहरूले (डिस्कोर्स) नयाँ उत्साह र तयारी भने हुँदै गरेको छ (किराँत कलाकार समाजको केही बर्षअघिको दुई जमर्को, चित्रकला प्रदर्शनी पनि) ।

अब, आगामी किराँती कला यात्रा प्रगतिमा अगाडि बढ्दै जान सौन्दर्य÷कलागत विशेष विधाहरूको संस्थागत संरचना गठन र अन्य तयारी तथा सांगठानिक विधि विधानको विशेष कार्यक्रमिक मूल कार्ययोजना बन्न पर्ने अनिवार्य सर्त देखिन्छ । त्यस्ता कार्यक्रमिक योजनाहरूको नीति–नियम र विधि÷विधानमा कला–सिर्जना विशेषको आधारमा नै कला सर्जकहरूलाई संगठित र सम्बोधित भए मात्रै कलाको मौलिकता र विशेषतामा दिगोपन, भरपर्दो साथै स्थायित्व र न्यायिकता हुन सक्दछ भन्ने मान्यता स्थापित हुनपर्ने देखिन्छ, नकीक्षेत्र, जन्म–नश्ल वा किराँतीले रचना गरेको भन्ने अर्थमै स्वतः किराँती कला मानिनु ठीक हो ।

युगानुकूलका वस्तुगत तथा घटना विशेष अनुभव–अनुभूतिहरूको संश्लेषित विम्ब, लक्षण र संकेतको समसामयिक, परिमार्जित र परिकृष्ट अभिव्यक्ति दिने सकिने साँस्कृतिक पर्यावरण र राजनैतिक अवसर तथा मौलिक कर्तव्य र हकाधिकारसहितको प्रोत्साहित कला जागरणपूर्ण सामाजिक वातावरणमा सबैको तालमेल, साझा वा सहअस्तित्वको समावेसी तथा सहभागितामूलक सिर्जना–खेल, आजको अति आवश्यक तालमेल हो जसले किराँती ललितकलालाई बढाउँदै–हुर्काउँदै सौन्दर्यको आकाशमा फैलाउँदै घुमाउँछ ।

प्रतिक्रिया