तिलोत्तमा नगरपालिकाका अनुकरणीय कार्यहरू

क्रममा धुलिखेल, नीलकण्ठ, नेपालगञ्ज, थाक्रे, तुर्माखाद, धनकुटा, थाङपाल, कोसी, शुक्लागण्डकी, नरैनापुर, भीरकोट, कावासोती, चन्दननाथ, भरतपुर, खाडाचक्र, जानकी, आठबीस, पालुङटार, पाँचखाल, धनगढी, नारायण, कमलबजार, गजुरी, अन्नपूर्ण, धुनीबेसी, मेलम्ची, व्यास, गल्छी लगायतका पालिकाहरूले पनि तिलोत्तमाले झैँ आ–आफ्नो क्षेत्रमा विशिष्ठ काम गरेका छन्

राष्ट्रिय सूचना आयोगले सूचनाको हकको महाअभियानअन्तर्गत प्रदेश–५ का स्थानीय तहका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका लागि लमहीमा सूचनाको हकको अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा यस पंक्तीकारले सूचनाको हक र स्थानीय निकायको भूमिकाका विषयमा गरेको प्रस्तुतीकरणबाट प्रभावित हुनुभएका तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आफ्नै पालिकामा विशेष कार्यक्रम आयोजना गर्नुभयो ।

उक्त कार्यक्रममा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, राष्ट्रसेवक कर्मचारी, स्कुलका सञ्चालक समितिका अध्यक्ष र प्रधानाध्यापक, उद्योग वाणिज्य संघका पदाधिकारी, नेपाल पत्रकार महासंघ आवद्ध पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवा गरी तीन सय जना प्रबुद्धवर्गको जमघट रह्यो । यस जमघटका लागि अग्रसरता देखाउने तिलोत्तमा नपाका प्रमुखले पालिकाको सफलताका लागि एक्लै हिँड्ने होइन सबैलाई साथमा लिएर हिँड्नुपर्ने सन्देश दिनुभयो ।

वर्तमान दिनमा मुलुकको संघीय सरकार, सात ओटा प्रदेश सरकार र ७ सय ५३ ओटा स्थानीय तहका लागि यस प्रकारको सोच गतिलो सन्देश हो भन्ने ठानेको छु । करिब तीन घण्टा सञ्चालित यस पंक्तीकारले प्रस्तुतीकरणका क्रममा पालिकाभित्र स्थानीय तहको पहिचान सहितका उत्पादनहरू बिक्री गर्न ‘कोसेली घर’ स्थापना गर्नुपर्ने सुझाव प्रस्तुत गर्नेे बित्तिकै संवेदनशील बन्नुभएका उपप्रमुख जगेश्वरदेवी चौधरीले स्थानीय पहिचान झल्किने थारू समुदायको उत्पादन ‘ढक्की’ यस पंक्तीकारलाई उपहार दिन ठिक्क पार्नुभयो ।

सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले आयोजित कार्यक्रबाट ‘ठूलो लाभ’ पुग्ने उत्प्रेरणात्मक अभिव्यक्ति जारी राख्नुभयो । जसको कारण करिब तीन घण्टाको कार्यक्रम ‘पिन ड्रप साइलेन्स’ मा सभ्य र भव्य ढंगले सञ्चालित भई सबैमा नयाँ उत्साह र उमंग छर्न सफल भयो । जुन कुराबाट स्वयं प्रभावित भई यस पंक्तीकार पनि तत् नगरपालिकाबाट सम्पादित कामको खोजी गर्दै नमुना कार्यलाई उजागर गर्ने ध्येयले यो आलेख तयार गर्न उत्प्रेरित भयो ।

रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले करिब ४० ओटा ऐन, नियम, निर्देशिका, कार्यविधि निर्माण गरेको छ । आफ्नो कार्य समिति र नगरपरिषद् सञ्चालनसम्बन्धी कानुनको अलावा आमजनतासँग सरोकार राख्ने कानुन निर्माणमा पनि तिलोत्तमालाई सफलता हासिल भएको छ । यस पालिकाबाट कृषि व्यवसाय प्रबद्र्धन, सहकारी, विपद् जोखिम न्यूनीकरण, कर, सार्वजनिक निजी साझेदारी, एफएम रेडियो, निर्माण व्यवसायी इजाजतपत्र, छाडा पशु चौपाय नियन्त्रणसम्बन्धी कानुन तर्जुमा भएको पाइन्छ ।

यस पालिकाले नियमितरूपमा राजपत्र प्रकाशन गर्नुका साथै नगर प्रहरी गठन गरेको छ । यसैगरी सम्पत्ती कर, प्राविधिक शिक्षा, नदीजन्य पदार्थको व्यवस्थापन, सामुदायिक विकास कोष, व्यवसाय दर्ता, पुष्प खेती, स्वयंसेवक परिचालन, वहाल व्यवस्थापन, बजार अनुगमन, जग्गा प्लटिङ लगायतका क्षेत्रमा ऐन, नियमावली, निर्देशिका र कार्यविधि निर्माण गरी संघ र प्रदेश सरकारलाई समेत जानकारी गराएको छ ।

१७ वडामा विभक्त तिलोत्तमा नपामा १ सय १० जना कर्मचारी कार्यरत छन् । ई–हाजिरी, सफाई, सजावट, नागरिक बडापत्र, क्युबिकल पार्टिसन, न्यायिक समितिको कक्ष, पिउने पानी, शौचालयको सुविधा लगायतबाट पालिकाले आफ्नो प्रथम छबी निर्माणको प्रयास गरेको छ । सबै वडामा कम्तिमा तीन जना कर्मचारी खटाई नियमित रूपमा वडा कार्यालयहरू सञ्चालनमा रहेका छन् ।

यस पालिकाले नक्सा पासको वडागत शिविर सञ्चालन गरी नयाँ घर निर्माणको नक्सा पास र पुराना घरलाई अभिलेखीकरण गर्ने प्रयासको थालनी गरेको छ । यसैगरी वडागत रूपमा व्यवसाय दर्ता शिविर खडा गरी धेरैलाई करको दायराभित्र समेटेको छ । यसको सकारात्मक प्रभाव राजस्व असुलीमा देखापरेको छ । यस पालिकाले अनलाइन पञ्जीकरणको काम आरम्भ गरेको छ । नगरवासीले तिर्नुपर्ने कर जुन वडा कार्यालयमा तिरे पनि हुने गरी विद्युतीय सञ्जाल खडा गरेको छ । यसरी अनलाइन कर प्रणाली आरम्भ गरेको तिलोत्तमामा कृषि सहकारी, स्वास्थ्य, शिक्षा, महिला विकास, पशु सेवा, इन्जिनियरिङ लगायतका विषयगत कार्यालयहरू खडा भएका छन् ।

नगर प्रहरी परिचालनका लागि तिलोत्तमा नगरपालिकाले छुट्टै मोटरको व्यवस्था गरी सो मोटरमा सोही व्यहोराको पेन्टिङसमेत गरेको छ । नियमित बजार अनुगमन गरी आमउपभोक्ताको माग र आपूर्तिलाई सहज तुल्याउन तथा नदीजन्य पैदावारको अनियन्त्रित उत्खनन् तथा चोरी निकासी नियन्त्रणमा पनि पालिका चनाखो भएको देखिन्छ । शिविरकै रूपमा नक्सा पासको काम सञ्चालन गरेको यस पालिकाले नयाँ र पुराना गरी करिब डेढ वर्षको अवधिमा ११ हजार ९ सय ४२ ओटा घरको नक्सा पास गरेको छ ।

यस पालिकाले आफ्नो मातहतमा रहेका सबै सामुदायिक स्कुलमा ५ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई दैनिक २५ रुपैयाँ दरले खाजा खर्च उपलब्ध गराएको छ । एउटा महत्वपूर्ण पाटो, यस पालिकाले सबै सामुदायिक स्कूलमा एकै प्रकारको रंगरोगन लगाई स्कुललाई विशेष पहिचान दिएको छ । साथै माध्यमिक तहसम्मका विद्यार्थीको ‘ई–एटेन्डेन्स’ आरम्भ गरेको छ । सबै स्कुलमा कम्तिमा ३२ इन्चको एउटा टिभी अनिवार्य रूपमा उपलब्ध गराएको छ ।

सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन करार गरिएको छ । सबै स्कुलमा नागरिक बडापत्र टाँसिएको छ । विद्यालयमा जंकफुड निषेध गरिएको छ । विद्यालयलाई प्लास्टिक झोलामुक्त घोषणा गरिएको छ । अनाथ आश्रमका बालबालिकालाई पालिकाको तर्फबाट विद्यालय पोसाक उपलब्ध गराइएको छ । यस अतिरिक्त तिलोत्तमाले खेलकुदका क्षेत्रमा पनि उल्लेख्य काम गरेको छ ।

तिलोत्तमामा रहेको सय शय्याको क्रिमसन अस्पतालसँग पालिकाले साझेदारी गरी जनतामा स्वास्थ्य सेवा प्रवाह गरेको छ । यसैगरी गौतम बुद्ध सामुदायिक मुटु अस्पताल सञ्चालनको पहलमा यो पालिका जुटेको छ । स्वास्थ्यचौकी, प्रयोगशाला, र एम्बुलेन्स सञ्चालनमा पनि पालिका अग्रसर छ । यस पालिकाले किसानलाई गहुँको बिउमा ४० प्रतिशत अनुदान प्रदान गरेको छ । तरकारी पकेट क्षेत्रको अवधारणालाई अघि बढाएको छ । यस पालिकाले बाली र पशु बीमामा पनि किसानलाई ५० प्रतिशत अनुदान प्रदान गरेको छ । पावर स्पेयर वितरण, मौरी गोलाघर वितरण र धान दिवस मनाउन पनि पालिका अघि सरेको छ । यस पालिकाले गत वर्ष करिब दुई सय किमि सडकमा ग्राभेल गर्ने र २० किमि कालोपत्र गर्ने काम सम्पन्न गरेको छ । नगरपालिका भवन, सभाहल र अतिथि गृह निर्माणलाई अघि बढाइएको छ । साथै १० तल्ले भ्यू टावर निर्माणमा तिलोत्तमा समर्पित छ ।

तिलोत्तमा नगरपालिकाले नगर सडकको डिजिटल प्रविधिबाट अभिलेखीकरण गर्दै छ । यस्ले ल्यान्डपुलिङको अवधारणाअनुसार जमिनको व्यवस्थापन गर्दै छ । रणनीतिक महत्वका २५ मुख्य सडकको राइट अफ वे निर्धारण गरेको छ । साथै यो पालिका संघ र प्रदेश सरकारको सहकार्यमा एकीकृत सडक विकास आयोजना, खानेपानी, फोहोरमैला प्रशोधन केन्द्र, अन्तर्राष्ट्रिय खेल मैदान, प्रदेशस्तरको चिडियाखाना, कृषि उपज संकलन र प्रशोधन केन्द्र, औद्योगिक ग्राम, अटो मोबाइल जोन र मासु प्रशोधन केन्द्र खडा गर्ने ‘भिजन’ सहित अघि बढेको छ । यस पालिकाले ढिकुलीगढमा प्रदेशस्तरको बस टर्मिनलको प्रस्ताव अघि सारेको छ । ‘सुरक्षित तथा वातावरण मैत्री सुन्दर सहर, सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ को नारा अनुरूप भवन तथा सडकको नयाँ मापदण्ड कार्यान्वयन गराउन तिलोत्तमा अघि सरेको छ ।

तिलोत्तमा आमनगरवासीलाई फ्रि वाइफाइ सेवा दिने गृहकार्यमा जुटिरहेको छ । यस क्रममा नगरपालिकालाई विद्युतीय सञ्जालमा जोड्ने र सेवाग्राहीलाई फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जालबाट सुसूचित गर्ने यसको ध्येय छ । यस पालिकाले वेबसाइट सञ्चालनमा ल्याएको छ । यस्ले डिजिटल सूचना पाटी स्थापना गरेको छ । मोबाइल एपबाट पालिकाको गतिविधि र नागरिक बडापत्र हेर्न सक्ने बनाएको छ । साथै यस पालिकाले हस्तलिखित दस्तावेजहरूलाई डिजिटलाइज्ड गर्ने गृहकार्य अघि बढाएको छ । तिलोत्तमा भनेको स्वर्गकी परीको नाम हो । यसर्थ तिलोत्तमा नगर सुन्दर छ र यसले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्द ैछ । यस क्रममा स्थानीय थारू समुदायको भाषा, संस्कृति र कलाको संरक्षण गर्दै स्वरोजगारका लागि होमस्टेको अवधारणा अघि बढाएको छ । नेपाल सरकारले यस पालिकाभित्र रहेका बाउन्नकोटी वनवाटिकालाई नेपालको नयाँ पर्यटकीय स्थलको घोषणा गरेपछि तिलोत्तमाको मुहारमा रौनक थपिएको छ ।

तिलोत्तमाले सार्वजनिक जमिनको डिजिटल नापी गरी अभिलेख राख्ने कार्य आरम्भ गरेको छ । यस पालिकाको पहलमा १ य ८५ ओटा टोल विकास संस्था गठन भई सञ्चालनमा रहेका छन् । पालिकाले प्रत्येक संस्थालाई वार्षिक ५० हजारको बजेट उपलब्ध गराएको छ । चालु आवमा ४० करोड राजस्व असुलीको लक्ष्य राखेको यस पालिका पहिलो ६ महिनामा १५ करोड असुली गर्न सफल भएको छ । यो पालिका नगरभित्रको विपद् जोखिम न्यूनीकरण गर्न पनि संवेदनशील रहेको पाइएको छ । पालिकाले आफ्नो दमकल किन्दै छ । विपदका सामग्री जुटाउँदै यसले दैवीप्रकोप राहत कोष खडा गरेको छ र नगरवासीलाई कोषमा सघाउन सार्वजनिक आह्वानसमेत गरेको छ । यो पालिका नगरवासीलाई गल्ने र नगल्ने फोहोर छुट्याएर राख्न सजग गराउँदै आधुनिक ल्यान्डफिल्ड साइट सञ्चालन गर्न स्रोतको खोजीमा जुटेको छ ।

तिलोत्तमा नगरपालिका नगरवासीले घरको नक्सा पास गर्दा घर रंगरोगनको ‘कलर कोड’ दिन सफल भएको छ । यस पालिकाले ‘वेगनवेली’ लाई ‘सिटी फ्लावर’ स्वीकार गरेको छ । ‘ग्रिन तिलोत्तमाः क्लिन तिलोत्तमा’ को नाराका साथ यो पालिका नगरको ‘ब्युटिफिकेसन’ मा पनि जुटेको छ । यस पालिकाको पहलमा करिब २५ हजार बिरुवा रोपिएका छन् । यस पालिकाले नगरवासीलाई आफ्नो जन्मदिवस मनाउँदा एउटा विरुवा रोप्न आह्वान गरेको छ । ‘प्लास्टिकमुक्त नगरः हामी सबैको एउटै रहर’ नारामा तिलोत्तमा प्लास्टिक झोलामुक्त सहर र छाडा चौपाया नियन्त्रण गर्ने पालिकाको रूपमा आफ्नो पहिचान बनाउन अग्रसर छ । छाडा चौपायाबापत तीन हजारको दण्डसहित चौपायाको व्यवस्थापनमा पनि पालिका जुटेको छ । यस पालिकाले विदेशी खादाको प्रयोगमा रोक लगाउँदै स्थानीय फूलको माला लगायतको प्रयोगलाई प्रोत्साहन गरेको छ ।

तिलोत्तमाले आफूसँग रहेका १७ ओटा वडा मध्ये वडा नं. १७ लाई स्वायत्त क्षेत्र घोषणा गर्न संघीय र प्रदेश सरकारलाई सिफारिस गरी नौलो प्रयासको थालनी गरेको छ । यो पालिका विदेशस्थित असल अभ्यास गर्ने पालिकासँग अनुभवको आदानप्रदान गर्ने गरी भगिनी सम्बन्ध राख्ने गृहकार्यमा पनि जुटेको छ । उसो त यो पालिका निकट भविष्यमै लगानी सम्मेलन गर्ने काममा पनि संलग्न रहेको छ । हाल मुलुकभित्र विभिन्न पालिकाहरूले तिलोत्तमालाई ‘नमुना पालिका’ ठहर गरी स्थलगत भ्रमण गर्ने क्रम पनि बढेको छ । मेडिकल कलेज खोल्ने, एकीकृत ढल निकास योजना सञ्चालन गर्ने, तिलोत्तमा रिङरोड बनाउने र एक वडा एक रमणीय खेल मैदान बनाउने सपना बोकेर यो पालिका आफ्ना पाइला अघि बढाइरहेको छ । यसो भनेर अब तिलोत्तमाले केही गर्न बाँकी छैन भन्ने होइन । यो पालिका भने आफ्नो गन्तव्यमा अघि बढ्यो, यसैगरी अरू पनि बढ्नुपर्छ भन्ने नै हो ।

यस पंत्तिकारले तिलोत्तमालगायत मुलुकका करिब चार दर्जन पालिकामा पुगी सूचनाको हक, सुशासन प्रवद्र्धन, सकरात्मक सोच, गर्न सकिने आँट, पालिकाहरूले गर्नुपर्ने काम, अनुशरण गर्नुपर्ने असल अभ्यासहरूको बारेमा जानकारी दिइरहेको छ । यस क्रममा धुलिखेल, नीलकण्ठ, नेपालगञ्ज, थाक्रे, तुर्माखाद, धनकुटा, थाङपाल, कोसी, शुक्लागण्डकी, नरैनापुर, भीरकोट, कावासोती, चन्दननाथ, भरतपुर, खाडाचक्र, जानकी, आठबीस, पालुङटार, पाँचखाल, धनगढी, नारायण, कमलबजार, गजुरी, अन्नपूर्ण, धुनीबेसी, मेलम्ची, व्यास, गल्छी लगायतका पालिकाहरूले पनि तिलोत्तमाले झैँ आ–आफ्नो क्षेत्रमा विशिष्ठ काम गरेका छन् । अर्को आलेखमा अर्को पालिकाको प्रशंसनीय कामको सबिस्तार गर्ने नै छु । अन्त्यमा, नागरिकलाई सूचनाको हकद्वारा सुसूचित गर्ने भनेको जनताको पक्षमा काम गर्ने र त्यसको ‘मार्केटिङ’ गर्ने पनि हो । यसका लागि नेपालका सबै ७ सय ५३ पालिकालाई सफलता मिलोस् यही शुभकामना छ ।

प्रतिक्रिया