प्रदेश–१ का पर्यटकीय क्षेत्रहरू

हाम्रो देश नेपाललाई समग्र पर्यटकीय दृष्टिले हेर्दा विश्वकै उत्कृष्ट देशमा पर्छ भन्दा दुई मत नहोला । भलै हाम्रो देश नेपालमा त्यसअनुसारको भौतिक पूर्वाधार विकासले अपेक्षित गति लिन सिकेन । फलतः औपचारिक रूपमा नेपालमा पर्यटन व्यवसाय सुरु भएको लगभग ६३-६४ वर्ष हुँदासम्म पनि वार्षिक ११-१२ लाख विदेशी पर्यटक भित्र्याउन सक्दा हामीले हाम्रो नाक घिरौँला जत्रो बनाउन वाध्य छौँ ! त्यसैले नेपालको पनि खासगरी हालसम्म पनि प्रदेश–१ भनी चिनिने पूर्वी नेपालका पर्यटकीय महत्वका क्षेत्रहरूका बारेमा केही उल्लेख गरिनेछ ।

विश्वकै आठ हजार मिटर अग्लो १४ वटा हिमालमध्ये आठ वटा नेपालमा रहेका छन् । त्यसमध्ये पनि पाँच वटा त प्रदेश–१ मा नै छन् । यसरी प्रदेश–१ मा रहेका आठ हजार मिटरमाथिका पाँच वटा हिमाल मध्ये विश्वकै अग्लो ‘सगरमाथा’ अर्थात् ‘चोमोलुङमा’ (८,८४८ मि. सोलुखुम्बु), विश्वकै तेस्रोे ‘कञ्चनजंघा’ (८,५८६ मि. ताप्लेजुङ), चौथो ‘ल्होत्से÷चे’ (८,५१६ मि. सोलुखुम्बु) पाँचौँ ‘मकालु’ (८,४६३ मि. संखुवासभामा) र छैटौँ अग्लो ‘चोओ यु’ (८,२०१ मि. सोलुखुम्बु) छन् । त्यसलै प्रदेश–१ लाई पनि महत्वपूर्ण रूपमा लिनुपर्ने हुन्छ ।

अझ प्रदेश–१ का जनताका लागि मात्रै नभएर सम्पूर्ण नेपालीकै लागि खुसीको कुरो के छ भने, चाँडै विश्व जगतले मान्यता दिने क्रममा रहेका अरू ६ वटा आठ हजार मिटरभन्दा माथिका हिमाल पनि प्रदेश–१ मै रहेका छन् । यी बाहेकका पनि अन्य कयौँ सात हजार मिटर माथिका, ६ हजार मिटरमाथिका र ५ हजार ५ सय मिटर माथिका हिमालहरू पनि यही प्रदेशमा रहेका छन् ।

साविकका तीन अञ्चल र १४ जिल्ला रहेको यो प्रदेशमा नेपालकै होचो ठाउँ केचनाकल, विश्वकै गहिरो उपत्यका अरुण उपत्यका, नेपालमा फल फूल्ने ३२ प्रकारका लालीगुराँसमध्मे २८ वटा फूल फूल्ने लालीगुराँस पाइने तीनजुरे–मिल्के–जलजले (टिएमजे), नेपालकै अग्लो झरना ह्यात्रुङ झरना, साल्पापोखरी, सभापोखरी, मुक्कुमलुङ युमा (पाथीभरा देवी), अन्तुडाँडा, भेडेटार, रत्नाङ्गे डाँडा, पिकेडाँडालगायत हजारौँ प्राकृतिक र सांस्कृतिक एवं जातीय, भाषिक, धार्मिक विविधताले भरिपूण प्रदेश पनि हो ।

यो प्रदेशमा हिमालबाहेक जातीय, भाषिक, सांस्कृतिक, धार्मिक तथा भौगोलिक विविधता, वनजंगल, वनस्पति, फूल फूल्ने बिरुवा, जीवजन्तु, चराचुरुंगी, खोलानाला, छहरा–छाँगालगायत अन्य प्राकृतिक सम्पदा पनि पर्यटकीय दृष्टिले हेर्दा आकर्षक रहेका छन् । जातीय विविधतामा यो प्रदेशमा ६ हजार वर्षभन्दा बढीको इतिहास रहेको प्राचीन किराती जातिहरू, जस्तै कुलुङ, बाहिङ, साम्पाङ, लिम्बु, मेवाहाङ, धिमाल, थामी, याक्खा, बान्तावा, हायु, सुनुवार (कोइँच) आदि किरातीहरू त्यस्तै लाप्चा, सतार, थारू, दनुवार, गनगाई, राजवंशी, मेचे, बोडो, शेर्पा, जिरेल, तामाङ, गुरुङ, मगर, खवास, नेवार लगायतका आदिवासी जनजातिहरू अनि खस–आर्य समूहका बाहुन, क्षेत्री, ठकुरी (धनकुटामा थोरै संख्यामा छन्), गिरी, पुरी, भारती (दशनामी समूह) फेरि लगाउने जोगी (यिनीहरू तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिका, मेहेले स्कुलमाथि छन्), खस–आर्य भित्रकै कथित् दलित अर्थात् शिल्पीहरू, कामी, दमै, सार्की लगायतको जातजातिको बसोवास रहेको छ ।

त्यस्तै धार्मिक पर्यटनको हिसाबले पनि प्रदेश–१उत्कृष्ट गन्तव्य हुन सक्छ । किनकि, प्रदेश–१ मा महत्वपूर्ण धार्मिकस्थलहरू रहेका छन् । जस्तै सुनसरीको दन्तकाली, पिण्डेश्वर, विष्णुपादुका, वराह क्षेत्र, आदिवासीहरूले पनि उत्तिकै श्रद्धापूर्वक मान्दै आएको बुढासुब्बा, झापाको अर्जुनधारा, माईस्थान, कन्काईमाई छन् । त्यस्तै धनकुटाको छिन्ताङदेवी, जालपादेवी, धनकुटाको सदरमुकाम बजारमा रहेको आठपहरिया जातिले कूलपूजा गर्ने मार्गा (माङहिम), तेह्रथुमको सिंहवाहिनी, भगवतीदेवी, ताप्लेजुङको मुक्कुमलुङ (पाथिभरा देवी), फक्ताङलुङ (जहाँ हरेक जनैपूर्णिमाको वेला किरात धर्म मान्ने लिम्बुहरू खासगरी सत्यहाङ्मा पन्थमा लागेका लिम्बूहरूको ठूलो घुइँचो लाग्ने गर्छ), संखुवासभाको धर्मदेवी, सिद्धकाली देवी, खोटाङको हलेसी महादेव आदि धार्मिकस्थलहरू महत्वपूर्ण रहेका छन् ।

त्यस्तै अरुण उपत्यका, मिल्के जलजले, फक्ताङलुङ, तिम्बुङ पोखरी, भेडेटार, राजारानी, संक्रान्तीबजार, हिलेबजार, वसन्तपुरबजार, अन्तुडाँडा, लारुम्बा, हिलिहाङ दरबार, लब्रेकुटी, उदयपुर गढी, गोरुमारे भञ्ज्याङ÷डाँडा, टिम्बुरबोटे, पिकेडाँडा, नौ लेख, साल्पा पोखरी, कुलुङ जातिको किंवदन्ती आउने सिलिचोङ÷सिलिचो, कुलु पोङ्खो, किचकबध, कन्काई माई, चन्द्रगढी, विराट दरबारको अवशेष, ट्याम्के डाँडा, हतुवागढी, तुवाचुङ, सभापोखरी, गुफापोखरी, मेन्छ्यायेम ढाप, फुङफुङे झरना, ह्यात्रु झरना, वरुण उपत्यका, हुँगु उपत्यका, मेरा लेक, कोसीटप्पु, लगायतका कयौँ पर्यटकीय हिसाबले महत्वपूर्ण रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू रहेका छन् ।

माथि उल्लिखित सम्पदाहरू प्रदेश–१ ले प्रकृति प्रदत्त हिसाबले सित्तैमा पाएको छ । त्यसो भएता पनि प्रचारप्रसारका साथै सडक तथा हवाई यातायातको अभावका कारण र, भौगोलिक हिसाबले पनि देशको केन्द्रीय राजधानी काठमाडांैभन्दा धेरै टाढा रहेको कारणले पनि हुनसक्छ, हालसम्मको स्थिति हेर्दा प्रदेश–१ को सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ जिल्लामा बाहेक अन्य क्षेत्र र जिल्लामा पर्वतारोहण र पदयात्रा पर्यटनले अपेक्षित गति लिन सकेको छैन । हुन त हालसम्म विश्वकै अग्लो हिमाल सगरमाथा अर्थात् चोमोुलुङमाबाट जति पनि रकम सलामी उठ्ने गरेको छ त्यसको ८०-८५ प्रतिशतभन्दा बढी केन्द्रीय सरकारले खाँदै आएको छ ।

बाँकी १५-२० प्रतिशत रकम पनि जिल्लाका पहुँचवाला नेता कार्यकर्ताहरूले आफूखुसी खर्च गर्ने गरेका छन् । अब देशमा तीनतहको सरकार लागू भइसकेकोले स्थानीय सरकारले सगरमाथा अर्थात् चोमोुलुङमालगायत अन्य हिमालबाट आप्mनो भागमा परेको रकमले स्थानीयवासीहरूकै आवश्यकता पूरा गर्नेतर्पm सोच्नुपर्ने हुन्छ । यो नै अबको उत्तम विकल्प हुन सक्छ । त्यस बाहेक प्रदेश–१ को अन्य क्षेत्र र जिल्लाका धार्मिक, सांस्कृतिक, जातीय, भाषिक लगायतका ठाउँको पनि प्रचारप्रसार पर्यटकहरूलाई ती क्षेत्रको पनि अवलोकन र अध्ययन भ्रमण गराउन सकिएमा प्रदेश–१ लाई पर्यटनले नै प्रगति–पथमा लानेछ भन्नेमा कुनै शंका छैन ।
[email protected]

प्रतिक्रिया