समृद्धिको यात्रामा सूर्योदय नगर

रणबहादुर राई प्रमुख, सूर्योदय गरपालिका, इलाम

सूर्योदय प्रदेश–१ को पहाडी जिल्लाको सबैभन्दा ठूलो नगरपालिका हो । २ सय ५२ दशमलव ५२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यस नगरपालिकाको जनसंख्या ५६ हजार ९ सय ५७ रहेको छ । झन्डै ५० लाख किलोग्राम ब्ल्याक अर्थोडक्स चिया उत्पादन हुन्छ । दार्जिलिङसँग सीमा जाडिएकोे यस नगरपालिकामा नेपालमा नै चर्चामा आएको कन्याम चिया बगैँचा, विश्वको सबैभन्दा राम्रो सूर्योदय देखिने ठाउँ अन्तुडाँडा, चर्चित दार्जिलिङ नाका पशुपतिनगर यसै ठाउँमा रहेको छ । यो चिया मात्र होइन, अलैँची र दूधको अत्याधिक उत्पादन हुने क्षेत्र हो । देशको एक मात्र ‘अलैँची विकास केन्द्र’ पनि यही नगरमा पर्दछ ।

सूर्योदय नगरपालिकालाई प्रदेश–१ को सभाले प्रदेशकै एक्लो पर्यटकीय नगरी घोषणा गरिसकेको छ । नगरपालिकाको चौथो नगरसभाको उद्घाटन समाहरोमा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई उपस्थित भई प्रदेश–१ कै एक्लो ‘पर्यटकीय नगर’ घोषणा गरेका हुन् । उता संघीय सरकारले पनि सूर्योदय नगरपालिकालाई सय पर्यटकीय स्थानहरूमध्येका सूचीमा राखेको छ । आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा पर्यटन विकास सँगसँगै हुन सक्ने सहरीकरणलाई व्यवस्थित गरी आधुनिक शैलीको व्यवस्थित नगर विकास योजना निर्माण गरी सीमित आर्थिक र सामाजिक स्रोत र सक्षम स्थानीय तहका रूपमा सहरी व्यवस्थापनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सूर्योदय नगरपालिका अगाडि बढेको छ ।

यो नगरपालिकाले समृद्धिको विभिन्न खुड्किलाहरू पार गर्न थालिसकेको छ । १४ वटै वडामा वडा कार्यलयहरू स्थापना, कर्मचारीको व्यवस्थापन, सुशासनका निम्ति सफ्टवेयरको व्यवस्थापन, अनलाइन सेवा, आफ्नै नेटवर्किङ, नगरपालिकाको पाश्र्वचित्र, एकीकृत नगरपालिकाको गुरुयोजना जस्ता समृद्धिको निम्ति अति आवश्यक आधारभूत कुराहरू अन्तिम चरणमा पुगेकोे छ । सूर्योदय नगरपालिकाले आफ्नै एप्स बनाएर नगरपालिकाको सबै सूचना नियमित प्रवाह गर्दै आएको छ । विकासको निम्ति २ सय ५२ वटा टोल विकास संस्थाहरू गठन गरी प्रत्येकको इमेल ठेगाना उपलब्ध गराई नगरपालिकाको काम र आयोजनाहरूको सूसचित गराउने काम नगरपालिकाले सुरु गरिसकेको छ ।

सूर्योदय नगरपालिकाकाले संविधानले दिएको अधिकारलाई उपयोग गरी करिब ५० वटा आफ्नै ऐन, कानुन, कार्यविधी, निर्देशिका, नियमावली निर्माण गरी कार्यान्वयन सुरु गरिसकेको छ । कृषि, पशुपंक्षीसम्बन्धी सयौं कार्यक्रमहरू सञ्चालन गरी घरघरमा पुग्ने कामको थालनी गरेको छ । नगरपालिकालाई प्रांगारिक कृषि उत्पादनको निम्ति विभिन्न अभियानहरू सञचालन गरिरहेको छ । हरियो चियाको मूल्य वर्षौंसम्म नबढेर पीडित चिया किसानहरूको निम्ति न्यूनतम मूल्य निर्धारण गरेर करौडौँ रकम चिया किसानको हातमा पु¥याउन सफल भएको छ । जिल्लामै पहिलोपटक सामुदायिक विद्यालयहरूलाई सधैँ क्रियाशील बनाई राख्न र गुणस्तरीय शिक्षाको निम्ति ‘१२ महिना १२ कार्यक्रम’, बायोमेट्रिक हाजिरी, शिक्षक शिक्षिकाको मूल्यांकनको सुरुआतले शिक्षामा सुधारको लक्षणहरू देखिन थालेका छन् ।

पहाडी जिल्लाको बाटोहरू बाह्रमासे नभएको हुनाले सूर्योदय नगरपालिकाले चालू आर्थिक वर्षदेखि ५२ किलोमिटर डिपीआर गरी ‘बाह्रमासे बाटो’ बनाउन थालेको छ । तीन वर्षभित्रमा प्रत्येक वडाका बाटोहरू पनि कालोपत्रे गर्न सुरु गरिने नगरप्रमुख रणबहादुर राई बताउँछन् । सूर्योदय गरपालिकाले इलाम नगरपालिकापछि दोस्रो स्थानमा नगरलाई प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गरी नगरलाई स्वस्छ बनाउने र नगरलाई सफा राख्ने कामको थालनी गरेको छ । फोहोरमैलाको व्यवस्थापन गर्न विभिन्न पर्यटकीयस्थलमा डस्टबिनको व्यवस्थापन र १२ महिना सडक सफा गर्न कर्मचारीको समेत व्यवस्था गरेको छ ।

चियाको राजधानीको रूपमा चिनिएको कन्याम चिया बगानमा आन्तरिक पर्यटकको बढ्दो चापलाई मध्यनजर गर्दै नगरपालिकाले मेची लोकमार्गको दाँयावाँया १५ मिटर कायम गर्ने साहसिलो कदम चालेको छ । त्यति मात्र होइन कन्यामको ब्युटिफिकेसनको निम्ति अन्य थुप्रै कामको सुरुआत भएको छ । नगरलाई कम्तीमा १० वर्षमा आत्मनिर्भर बनाउन विभिन्न भौतिक संरचनाहरू निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । सूर्योदय नगरपालिकाको शानको रूपमा कन्याममा एउटा ‘कमर्सियल कम्प्लेक्स’ बन्दै छ ।

जमिनको माटोे परीक्षण गरी आवश्यक सुधार गरी खेती गर्न विभिन्न सुझावहरू दिँदै किसानहरूको आर्थिक विकासको निम्ति कार्यक्रमहरू सञ्चालन गरिरहेको छ भने विभिन्न विज्ञहरूलाई लिएर प्रत्येक टोलटोलमा गई प्रांगारिक मल बनाउने प्रविधि हस्तातरणको कार्यक्रम सञ्चालन गरिरहेको छ । सूर्योदय नगरपालिकाले नगरलाई ‘पर्यटकीय नगरी’ घोषणा गरी पर्यटनका विभिन्न संरचना निर्माणको काम सुरु भएको छ । पर्यटकका लागि पर्यटकीय क्षेत्र कन्याम र अन्तुडाँडामा फनपार्क, ट्रयाक निर्माण, गोरेटो र घोडेटो निर्माण, सिँढी निर्माण, व्यवस्थित खानेपानीको र शौचालय व्यवस्थापन तथा ब्युटिफिकेसनका काम सुरु भएको छ ।

नगरपालिकाको सोच, लक्ष्य, उद्देश्य र रणनीति निर्धारणअनुसार चियालाई प्रत्येक नगरवासीले नजिकबाट बुझेर वैज्ञानिक खेती गराउने उद्देश्यले ‘चिया शिक्षा’ अध्ययन अध्यापन गराउन स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको विकास गर्न समिति नै निर्माण गरी काम सुरु गरेको छ । बौद्धिक युवाहरूलाई नगरपालिकाभित्रै राख्न र नगरपालिकाभित्र बसी अध्ययन गराउन ६० जना विद्यार्थीलाई स्नातक तहमा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था लागु गरेको छ ।

जेष्ठ नागरिकका लागि विभिन्न कार्यक्रमको साथै अतिविपन्न जेष्ठ नागरिक जो झापा काटेर बाहिर नगएकाहरूको निम्ति ‘देश दर्शन’ कार्यक्रम सञ्चालन गरि निःशुल्क देशभरी घुमाउने काम सूर्योदय नगरपालिकाले पहिलोपटक सुरु गरेको छ । त्यति मात्र होइन जेष्ठ नागरिकहरूका लागि ‘जेष्ठ नागरिक मिलन केन्द्र’ कार्यक्रमसमेत सुरु गरेको छ ।

सूर्योदय नगरपालिकाले किसानका लागि तीन सय उन्नत जातको वाच्छी वितरण गर्ने कार्यक्रमको तयारी गरेको छ । कार्यक्रमलाई आगामी वर्षमासमेत निरन्तरता दिइ कम्तीमा सूर्योदय नगरपालिकाबाट मात्र प्रत्येक दिन दुई लाख लिटर दूध उत्पादन गरी चियाको मात्र होइन, दूधको पनि खानी बनाउने लक्ष्यका साथ नगरपालिका अगाडि बढेको छ । पशुपंक्षीसम्बन्धी विभिन्न कायक्रमजस्तै गोठ सुधार, घाँस वितरणलगायतका कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेका छन् ।

हिंसापीडित महिलाहरूको निम्ति ‘पुनःस्थापना केन्द्र’ स्थापना भएको छ । उनीहरूलाई विभिन्न सीपमूलक तालिम दिई आत्मनिभर्र बनाउने कार्यक्रमसमेत नगरपालिकाले सुरु गरेको छ । युवाहरूलाई युवा स्वरोजगारको निम्ति ‘उद्यम विकास कोष’ खडा गरी कार्यक्रम अगाडि बढाएको छ । त्यसैगरी सहकारीमार्फत चिया उद्योग स्थापना गर्नेलाई व्याज अनुदान दिन कार्यविधि नै बनाई कार्यान्वयन सुरु गरेको छ ।
यसरी सूर्योदय नगरपालिका समृद्धिको यात्रामा अगाढि बढ्दै गर्दा संघीयता कार्यान्वयनको अवस्था भने अझै जटिल रहेको नगरप्रमुख राईको ठम्याई छ । संघीयता जुन रूपले स्थानीय तहदेखि केन्द्रसम्म कार्यान्वयन भइसक्नुपर्ने हो, त्यसो हुन नसकेको उनको भनाइ छ ।

संविधानले दिएको कतिपय स्थानीय, प्रदेश र संघीय सरकारको साझा अधिकारको विषयमा हलो अड्केको उनी बताउँछन् । कतिपय कानुनहरू संघ र प्रदेशको बनिसकेपछि मात्र स्थानीय तहको निर्माण गर्नुपर्ने भए पनि संघ र प्रदेशले कानुनहरू बनाइनसक्दा स्थानीय तहमा समेत अप्ठेरो परेको हो । यसले संघीयता कार्यान्वयनमा ढिलाइ भइरहेको उनको ठम्याइ छ । त्यस्तै कर्मचारी समायोजनको नाममा कर्मचारीले राम्ररी काम नगरेकाले पनि संघीयता कार्यान्वयनमा समस्या आएको छ । यस्तो समस्या संघ र प्रदेशमा पनि देखिएको छ ।

सूर्योदय नगरपालिका सम्भावना नै सम्भावनाले भरिएको नगरपालिका हो । एकातिर पर्यटकीय क्षेत्रकारूपमा कन्याम अवस्थित छ भने अर्कातिर अन्तुडाँडा र पशुपतिनगरले सौन्दर्य थपेको छ । लोपोन्मुख लेप्चा जातिको ऐतिहासिक स्थलको रूपमा पनि यस क्षेत्रले आफ्नो छुट्टै पहिचान बोकेको छ । यो नगरपालिकाभित्र एउटा स्नातक तहसम्म अध्ययन हुने क्याम्पस सञ्चालित छ भने सामुदायिक विद्यालयअन्तर्गत प्राथमिक विद्यालयदेखि १० जोड २ सम्मका ९ वटा र सामुदायिक र निजी गरी थुप्रै शैक्षिक सस्थाहरू सञ्चालित छन् ।

स्वास्थ्यका दृष्टिले हेर्ने हो भने यस सर्यूोदय नगरपालिका क्षेत्रभित्र ठूला सरकारी अस्पताल स्थापना नभए पनि मेची अञ्चल आयुर्वेद कार्यालय आइतबारे, प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र पशुपतिनगर, स्वास्थ्यचौकी कन्याम, पञ्चकन्या, लक्ष्मीपुर, गोर्खे, समालबुङ र श्रीअन्तुमा रहेका छन् भने वडा–१२ मा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । यस नगरपालिका क्षेत्रको पर्यटकीय स्थलको रूपमा कन्याम, पन्चकन्या मन्दिर, गोर्खे, अन्तुडाँडा, चित्रेगुम्बा, पशुपतिनगर लगायतका विभिन्न ठाउँहरू प्रचलित छन् । शिक्षा र खेलकुदको गन्तव्यको रूपमा करफोक र पञ्चकन्या तथा औद्योगिक विकासको प्रशस्त संभावना फिक्कलमा र व्यापारिक सम्भावना पशुपतिनगरमा रहेको छ ।

यस्ता थुप्रै सम्भावनाको बीचबाट सूर्योदय नगरपालिकाले समृद्धिको यात्रामा अगाडि बढ्दै गर्दा समस्या र चुनौतीको चाङ पनि उस्तै छ । मुख्यगरी शिक्षा, स्वास्थ्य र प्रहरीको समन्वय गर्ने विषयमा बढी समस्या उत्पन्न भएका छन् । हुन त प्रत्येक काममा समस्या नआउने हुँदैन, तर त्यस्ता धेरै समस्या र चुनौतीको सामना गर्दै सूर्योदय नगरपालिका समृद्धिको यात्रामा अघि बढिरहेको छ । संविधानले स्थानीय तहलाई प्रत्यायोजन गरेका सबै अधिकारहरूको कार्यान्वयन भई नसकेकाले पनि त्यस्ता समस्याहरू खेप्नुपरेको छ । खासगरी स्थानीय तहका सबै ऐनहरू बनिनसकेकाले पनि त्यस्तो भएको निश्कर्ष निकाल्न सकिन्छ । मुख्यगरी जनप्रतिनिधि र कर्मचारीको अनविज्ञताले पनि यस्तो भएको छ ।

यसरी नै निरन्तर अघि बढे अबको तीन वर्षपछि सूर्योदय नगरपालिका देशकै एक ‘नमुना नगरपालिका’ बन्नेछ । यो नगरपालिका चियाको राजधानी, दूधको प्रचुर सम्भावना बोकेको नगरपालिका, पर्यटकीय नगरी, अर्गानिक उत्पादन उन्मुख नगरपालिका, नगदेबालीको उर्वरभूमि एवं सबै कुरामा अब्बल नगरपालिकाको रूपमा स्थापित भएको देख्न सकिनेछ । ‘समृद्ध सूर्योदय नगर र सुखी नगरबासी’ को सपना पूरा भएको हुनेछ ।
(सौर्यकर्मी राम योङहाङसँगको कुराकानीमा आधारित )

प्रतिक्रिया