माटो परीक्षणका लागि नमुना संकलन प्रविधि

माटो प्रकृतिको एक अभिन्न अंग हो । पृथ्वीमा भएका सम्पुर्ण बिरुवा तथा जीवहरू जिवनयापनका लागि माटोमै आश्रित छन् । उनीहरूका लागि अरू विकल्प पनि छैन । अझ हाम्रो जस्तो कृषिप्रधान देशका किसानका लागि आफूले बाली लगाने खेतको माटोको अवस्थाका बारेमा जान्नु अति महत्वपूर्ण हुन्छ । बालि लगाउनु अघि सबै कुराको जानकारी नलिइकन बाली लगाएमा आफूले चाहेको जस्तो आम्दानी लिन नसकिने अवस्था आउन सक्छ ।

बढीभन्दा बढी उत्पादन लिनका लागि पनि माटोलाई बिग्रन नदिई यसको सुरक्षा गर्नु अतिआवश्यक हुन्छ । अझ कृषिका लागि त माटोको अत्यन्तै महत्व हुन्छ । हरेक बालि वा बिरुवाको बिउ माटोमा छरे देखि बिरुवा हुर्किइ यसले अनाज दिने बेलासम्म चाहिने सम्पुर्ण खाद्यतत्वहरू बिरुवाले माटोबाटै लिन्छ । जसकारण पनि माटोको अवस्था बिग्रन नदिन उपयुक्य समय समयमा माटो परीक्षण गर्नु अति आवश्यक हुन्छ ।

त्यति मात्र नभई बिरुवालाई चाहिने आवश्यक खाद्यतत्व थाहा पाई त्यही अनुरूप आवश्यक मलखाद कति वेला के प्रयोग गदौ उचित हुन्छ भन्ने थाहा पाउनका लागि पनि माटो परीक्षण गर्नु आवश्यक छ । त्यसो गर्न सकियो भने उत्पादन बढाउन सकिन्छ ।

माटो परीक्षण गराउने उपयुक्त समयः एउटा बाली पाकेर खेतबाट निकालिसकेपछि अर्को बाली लगाउनु भन्दा अगाडी माटो परीक्षण गराउनु पर्छ । यसो गर्दा पछि लगाउने बालीलाई आवश्यक पर्ने खाद्यतत्व तथा मलखाद मात्रा अनुमान गर्न सजिलो हुन्छ ।

यसका लागि ध्यान दिनु पर्ने कुरा के पनि छ भने माटो परीक्षण गर्दा नमुना संकलन गर्ने माटो मल थुपारेको ठाउको वा मलखाद वरिपरिको हुनु हुँदैन, त्यसै गरी आली कान्ला वा पानीको मुहान नजिकै पनि पर्नुहुँदैन । यदी नमुना लिने खेतबारी सिँचाइ गरेको छ अथवा पानी परेको छ भने ३–४ दिनमा पानी सुकाएर मात्र त्यस स्थानदेखि नमुना संकलन गर्न सकिन्छ ।

माटो परीक्षण गराउने आवश्यक सामाग्रीः माटो परीक्षण गर्न सबैभन्दा उत्तम् सामग्री सोइल स्याम्प्लिङ अगर हो । ग्रामिण भेगमा उक्त सामाग्री को सम्भावना नहुन सक्छ । यदि उक्त सामाग्री नभएमा कोदाली वा खुर्पि वा कोदालोमार्फत माटो निकाली, नमुना लिएको माटो फिजाउन सफा बोरा, नाङ्लो अथवा लिएको नमुना माटो राख्ने प्लास्टिक वा कपडाको थैलो र आवश्यक विवरण लेख्न कागज, कलम वा मार्कर प्रयोग गर्न सकिन्छ ।

नमुना लिने माटोको छनोट गर्दा जमिनको आकार (भिरालो भए उपल्लो सतह, केही बिचतिर तथा तल्लो वा भित्री सतह देखी छुट्टा छुट्टै नमुना लिने), उब्जाउ गर्ने बालिको किसिम (एकै प्रकारको बाली उब्जनी हुने ठाउ बाट एउटै लिने, छुट्टा छुट्टै बाली भए छुट्टै नमुना लिने) तथा बालीको प्रकारमा ध्यान पु¥याउनुपर्छ ।

एउटा ठाउँबाट नमुना लिन कम्तिमा प्रतिरोपनी सात–आठ ठाउँबाट उप नमुना लिएर एउटै नमुना बनाउने । उप नमुना लिनका लागि कुनै निश्चित स्थानमा गई सतहको झारहरू सफा गरी सोइल स्याम्प्लिंग अगर अथवा कोदालीले दुइ तिरबाट खनी भी आकारले कम्तिमा पनि ६ देखि ९ इन्च (२० देखि २५ सेमि) सम्मको गहिरो खाल्डो खन्ने, उक्त खाल्डो अन्दाजी एक वित्ता जति हुनुपर्छ । अब भी आकारको खाल्डोको कुनै एक स्थान तिरबाट बराबर मोटाइको माटो माथि देखि तलसम्म काट्न पर्दछ । तर माटो बराबर मोटाइको हुनुपर्छ । अब उक्त माटो झिकेर बाल्टिनमा राख्ने ।

अब यसरीनै कम्तिमा ८ ठाउँबाट माटोको नमुना लिने । त्यस पछि सफा प्लास्टिक वा सफा बोरामा नमुना संकलन गरेको माटो राखि गोलो बनाउने । यसरी राखिसके पछि त्यहाँबाट ढुंगा झारहरू हटाई माटोलाई सकेसम्म मसिनो बनाउने । अब त्यस माटोलाई करिब चार भाग लगाउने र चार भागमध्ये कुनै दुइ भाग हटाउने । अब बाँकी दुई भागलाइ एकै ठाउमा मिसाउने अनि पुन बाँकी उक्त माटोलाई चार भाग लगाउने, फेरी पहिला जस्तै चार भाग मध्ये पहिला हटाएको विपरीत दिशाको दुई भाग माटो हटाउने । यसरी हटाइसकेपछि बाँकी रहेको दुई भाग माटो मिसाउने, यसरी करिब आधा किलो जति माटो मात्र बाँकी रहनु पर्छ ।

अब उक्त आधा किलो जति माटोलाई नमुना प्याकिङ गर्ने सफा प्लास्टिकमा राख्ने, सकेसम्म दुई वटा प्लास्टिकको प्रयोग गरी भित्रको प्लास्टिकलाई बन्द गर्ने । त्यसपछि एउटा कागजमा किसानको नाम, ठेगाना, नमुना लिएको बारी वा खेतको विवरण, पहिला लगाएको र अब लगाउने बालीको नामलेखि अन्त्यमा उक्त नमुना लिएको स्थानको माटोमा केही समस्या देखिएको भए पनि उक्त कागजमा उल्लेख गर्ने । जे जे छ सबैको जानकारी कागजमा उल्लेख गरिएको हुनुपर्छ । यदि कागज नभएमा प्लास्टिकको बाहिर नमेटिने मार्कर वा कलमले पनि लेख्न सकिन्छ ।

माथि उल्लेख गरिएको नमुना लिने तरिका खाद्यान्न तथा तरकारी बालिका लागि हो । तर जान्नुपर्ने कुरा के छ भने यदि नमुना परीक्षण खाद्यान्न बालिका लागि नभएर फलफुल खेती वा बहुवर्षे बालीको लागि भए उक्त गहिराइ एक मिटरसम्म पुग्छ । एक मिटर सम्मको गहिराइको नमुना लिँदा कम्तिमा तिन वटा नमुना आउँछ । पहिलो नमुना सतहदेखि एक फिटसम्मको, दोश्रो नमुना एक फिट फिटदेखि दुई फिट भने अर्को नमुना दुई फिटदेखि तिन फिटसम्मको हुन्छ । यसरी समयमै माटो परीक्षण गरी माटो तथा प्रकृतिको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।

लेखक सिद्धलेक गाउँपालिकाकी कृषि प्राविधिक हुन ।

प्रतिक्रिया