अख्तियारलाई खुल्यो कारबाहीको बाटो

काठमाडौं । पदबाट राजिनामा दिएपछि आयुक्त राजनारायण पाठकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन बढाउन प्रक्रिया सुरु गर्न बाटो खुलेको छ । ७८ लाख रुपैयाँ घुसलिएको विषय सार्वजनिक भएपछि शुक्रबार बिहान राजीनामा दिएका आयुक्त पाठकको राजीनामा स्वीकृत भएलगत्तै अख्तियारलाई छानबिन गर्न बाटो खुल्ला हुने छ ।
संविधानअनुसार संवैधानिक निकायका पदाधिकारीलाई अख्तियारले कारबाही चलाउन सक्दैन । पदाधिकारीलाई हटाउन केवल संसदको दुईतिहाइ मत चाहिने गरेको छ । तर, राष्ट्रपति समक्ष दिएको राजिनामा स्विकृत भएपछि भने पूर्वपदाधिकारीलाई भने कारबाही चलाउन सक्ने अधिकार अख्तियारलाई रहेको छ । उनले नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजिनामा बुझाएका हुन् । भक्तपुरको एउटा निजी कलेजबाट आयुक्त पाठकले ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले राजिनामा दिएका हुन् ।
उनले राजिनामा नदिए शुक्रबार संसद्मा महाअभियोग दर्ता गर्ने तयारी नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले गरिरहेका थिए । सो कुराको सुइँको पाएपछि उनले महाअभियोगबाट बच्न राजीनामा दिएका हुन् । नेकपा स्रोतका अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा देव गुरुङ, कृष्णभक्त पोखरेल र रामनारायण बिडारीले महाअभियोग पत्र तयार गरिरहेका थिए । आयुक्त पाठकविरुद्ध महाअभियोग दर्ता गर्नकै लागि नेकपा सांसदहरूको हस्ताक्षर संकलन पनि सुरु गरिसकेको थियो । उनको राजीनामा दिएसंगै महाअभियोग प्रकृयालाई स्थागित गरिएको छ ।
पाठकले घुस लिएर पनि विवाद नमिलाइदिएको भन्दै कलेजको तर्फबाट उनीसँग भेटघाट हुँदा गोप्य रूपमा भिडियो रेकर्ड गरिएको थियो । भिडियोमा पाठकले घुस लिनु ‘आफ्नो जीवनकै ठूलो गल्ती भएको’ स्वीकार गरेका छन् । साथै, उनले आफ्नै प्रमुख हुने र सो घटना मिलाउने बताएका छन् ।

आयुक्तबाट हट्यो नाम
अख्तियारले राजीनामा स्विकृत हुनुभन्दा अगावै आयुक्तको नाम हटाएको छ । आयोगका प्रवक्ता रामेश्वर दंगालले पाठकलाई आयुक्तको सूचीबाट हटाइएको जानकारी दिए । आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले शुक्रबारै राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आयोगका आयुक्त पाठकले शुक्रबारदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिए ।

घुस लिने दिने नै कारबाहीमा
यसअघि यस्तै घटनामा तत्कालीन प्रमुख आयुक्त लोकमानसिह कार्कीविरुद्ध पनि अख्तियारले मुद्दा नै अगाडि बढाएन । यो काण्डमा पनि अख्तियारले कारबाही अगाडि बढाउने हो कि होइन आशंकाको विषय बनेको छ । यद्यपि, अख्तियार स्रोतले यस विषयमा उजुरी परेमा कारबाही सुरु गरिने जनाएको छ । घटना डेढ वर्ष अगाडिको भए पनि काम नभएपछि मात्र घुस दिने पक्षले यो भिडियो सार्वजनिक गरेको छ । यसैले गलत मनाशयले घुस अफर गर्ने पक्ष पनि अनुसन्धानको दायरामा तान्नुपर्ने सम्वन्धित पक्षले धारणा राख्दै आएका छन् ।

इन्जिनियरिङ कलेजलाई सार्वजनिकीकरण गर्ने वा निजी गर्ने भन्ने विषयमा त्यहाँका सञ्चालकबीच विवाद भएपछि यो प्रकरण अदालतदेखि संसद्सम्म पुगेको थियो । त्यसबीचमा अंशको भागवण्डा पनि भइसकेको थियो । तर, एक पक्ष सञ्चालकले भने त्यो अंश नलिई अख्तियारमा उजुरी दिएका थिए । अख्तियारले छानब्नि शुरु गर्नुअगावै अर्को पक्षले सो फाइल तामेलीमा राख्न भन्दै पाठकलाई घुस खुवाएको थियो । तर, रकम खाएर काम नगरिदिएपछि घुस खुवाउन मुद्दालाई पटक–पटक उठाउने प्रयास गरेको छ । त्यसबीचमा पनि रकम नउठेपछि मात्र सो भिडियो सार्वजनिक भएको हो ।

प्रतिक्रिया