भक्तालु महिलाको स्नान, ‘अश्लिलताको व्यापार’

माथिको शिर्षक र विषयवस्तुमाथि यो आलेख लेखेकोमा र यस क्रममा ५÷७ वटा युट्युबक भिडियो हेरिरहँदा सम्पूर्ण आमा दिदीबहिनीहरूप्रति मेरो सम्मानमा कुनै कमी आएको छैन । यो विषय उठान गरेकोमा अन्यथा नलिदिनुहोला । तपाईंहरूमा चोट परेमा सुरुमै म माफी पनि माग्न चाहन्छु ।

आजकल युट्युबको होमपेज खोल्नासाथ रातो र रंगीचंगी पेटीकोट लगाएर साली नदीमा स्नान गरिरहेका भक्तालु महिलाको भिडियो यत्रतत्र अपलोड गरिएको भेटिन्छन् । कतै अनलाइन पत्रिकाको वालमा त कतै फेसबुकमा लाइभ प्रसारण गरेको पनि देखिन्छ ।

यो एक महिना स्वस्थानीको अवधिभरि भक्तालु आमा दिदीबहिनीहरूले सालीनदी लगायतका विभिन्न धार्मिक स्थाल र नदीहरूमा पूजापाठ गर्ने र स्नान गर्ने प्रचलन नेपाली नारीहरूको आस्था र विश्वासको विषय हो । तर, स्नान गरिरहेका महिलाहरूको भिडियो अनाधिकृत रूपमा खिच्ने र सामाजिक सञ्जाल, युट्युब र अनलाइन मिडियाहरूमा अपलोड गर्ने, लाइभ प्रसारण गर्ने विकृत मनस्थितिका उपजहरूलाई किन हामीले उदण्ड छोडिरहेका छौँ ?

हुन त यस्तो भिडियोहरू साली नदीमा स्नान गरेको मात्र नभएर, तीज पञ्चमी नुहाइरहेका, पानीमा डुबेर छठको व्रत बसेको वा नुहाएका दृष्य भएका भिडियोहरू पनि प्रशस्त प्रसारण गरिएका छन् । यद्यपि, यी सबै भिडियो प्रसारण गर्नेहरूको नियत महिलालाई यौन उच्छृंखलताको दृष्टिले प्रस्तुत गर्ने र यौन हिंसा नै गरेको मान्नुपर्ने हुन्छ ।

महिलाहरूले धार्मिक भावले स्नान गरेको तस्बिरलाई कुन दृष्टिले सार्वजनिक तमासाको विषय बनाएर देखाइरहेका छन् ? यसमा किन प्रहरी प्रशासन, सम्बन्धित व्यवस्थापन एवं सचेत नागरिकको ध्यान गएको छैन ?

महिलाको शरीरको प्रदर्शन गरेर व्यापार गर्ने युट्युब च्यानलहरूलाई तुरुन्त कारबाही गर्नुपर्दैन ? यी युट्युब च्यानलको आधिकारिकता के हो ? यो अवस्थामा स्नान गरिरहेका महिलाको भिडियो बनाउने वा फोटो खिच्ने अनुमति कहाँबाट प्राप्त गरिएको छ ?

अनुमति लिएर भइरहेको छ कि नलिई ? अझ नुहाइरहेका तथा पानीले भिजेर देखिने शरीरका अंगहरूलाई फोकस गरेको, पारदर्शीरूपमा शरीर देखिएको अवस्थाका महिलाको भिडियो बनाउने अनुमति ति महिलाले दिएका हुन् ? जो यी भिडियोहरूका कैद गरिएका छन् ?

आमसंचार माध्यमलाई सार्वजनिक स्थलमा भएका सार्वजनिक कार्यक्रम, मेला, चाडपर्व, हाटबजार जस्ता कार्यक्रमको भिडियो तथा अडियो रेकर्ड तथा प्रत्यक्ष प्रसारण गर्ने अधिकार हुन्छ । तर, साली नदीमा स्नान गरेको या तीजपछिको पञ्चमीमा स्नान गरिरहेका महिलाको अर्धनग्न शरीरलाई नै मात्र फोकस गरेर खिचिएका भिडियो प्रसारण गर्ने युट्यूब सञ्चालनकर्ताको नियतलाई महिला माथिको यौन शोषण हो भन्न हिचकिचाउनु पर्ने र सो अनुसार कारबाही गर्न पनि सरकारका सम्बन्धित निकायलाई कसैले उजुरी नै गर्नुपर्छ ?

राज्यका आफ्नै आँखाले देख्छन् र कानुनी दायरामा ल्याउने हैसियत र अधिकार पनि राज्यलाई छ भन्ने जनविश्वासले नै त कानुनी राजमा आमनागरिकको भरोसा रहेको हुन्छ ।

यस्तो भिडियोहरू हेर्दा थाहा हुन्छ कि यी भिडियो बनाउने र प्रसार गर्ने व्यक्तिको नियत धार्मिक मेला तथा संस्कृतिको प्रचारप्रसार गर्ने हैन । यी भिडियोमा महिलाले मन्दिरमा पूजापाठ गरेको, चन्दा दान दिएको जस्ता कार्यलाई कतै प्राथमिकतामा राखेर खिचिएको र प्रसारण गरिएको पाइँदैन ।

महिलाले नुहाइरहेको, कपडा फेरिरहेको, पानीले भिजेको जस्तो अवस्थालाई चाहिँ खोजीखोजी फोकस गरेको देखिन्छ र यस्ता दृष्य प्रसारण गरेर आम भक्तालु महिलालाई कामुकताको रूपमा प्रस्तुत गरेको पाइन्छ । यसबाट खासगरी युवा वर्गलाई लक्षित गरेर आफ्नो भिवर्स बढाउने र आम्दानी गर्ने लक्ष्य देखिन्छ ।

यस्ता भिडियोले सम्पूर्ण भक्तालु आमा दिदीबहिनी तथा आम महिलालाई अपमानित गरेको, यौन शोषण गरेको र उनीहरूको मानवअधिकारको हनन् गरेको देखिन्छ । यसले महिलाप्रति समाजमा गलत धारणाको विकास हुने र आपराधिक प्रवृत्तिलाई बढावा दिने हुन्छ ।

यस्ता कुकृत्यहरूले आमसञ्चार र सामाजिक सञ्जालको गलत प्रयोग भइरहेको प्रष्ट पारेका छन् । राज्यले यस्ता अनाधिकृत सामाजिक सञ्जाल र कानुनी हैहियत नभएका आमसञ्चारका माध्यम मानिएका युट्युब, अनलाइन पत्रिका जस्ता माध्यमबाट यसरी महिलामाथि गरिएको शोषण तथा आमसञ्चारका माध्यमको गलत प्रयोगको अनुगमन गर्ने, निगरानी गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन कडा कदम नचाल्ने हो भने यसले कस्तो परिणाम ल्याउला ?

यस विषयमा महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, आमसञ्चारकर्मी, पत्रकार, प्रहरी प्रशासन, धार्मिक अनुष्ठान तथा व्यवस्थापकलगायत आमनागरिकको तर्फबाट अनुगमन गरी विशेष कदम चाल्नुपर्ने देखिन्छ । (महिला खबरबाट साभार)

प्रतिक्रिया