अविस्मरणीय पोखरा–बन्दीपुर भ्रमण

तस्बिरःविश्वास श्रेष्ठ

नेपालकै सुन्दर प्राकृतिक स्थल पोखराको बारेमा धेरै सुनेको र पढेका थियौँ । तर उक्त सुन्दर ठाँउ घुम्ने अवसर यसपटक आफू अध्ययनरत स्कूलले पुरा गराईदियो । कक्षा ८ र ९ का २१ जना विद्यार्थी र ४ जना शिक्षक शिक्षिका सहित हामी पर्यटक बस रिजर्भ गरेर पोखराको सुन्दर प्राकृतिक मनोरम दृष्य अवलोकन गर्न गएका थियौँ ।

गाडीमा यात्राको क्रममा विभिन्न गीतमा रमाउँदै नाच्दै गाउँदै चितवनको कुरिनटार कति वेला पुगियो पुगेको पत्तै भएन । त्यहाँ खाना खाएपछि मुग्लिन बजार त्रिशुलीको पुल पार गर्दै मस्र्याङ्दी नदीको किनारै किनार तनहँुको दमौली पुग्यौँ । त्यहाँबाट पनि अघि बढेको हाम्रो पहिलो दिनको यात्रा पोखराको फेवा ताल किनारमा पुगेर रोकियो । पोखारासँग फेवातालको प्रर्यावाची जस्तै छ । पोखरा जानु भनेकै फेवातालमा डुंगा सयर गर्नु पनि हो । यो मेरो मात्रै होइन धेरै मान्छेको बुझाइ हो ।

हामीले फेवातालमा डुंगा सयर ग¥यौँ । क्या रमाइलो फेवामा डुंगा सयर गर्दा निलो पानी हावाको वेगसँगै तरेली परेको अनि चारै तिर रंगीबिरंगी डुंगा जति घुमे पनि धित्तै नमर्ने । फेवाको बीच भागमा रहेको तालबाराही मन्दिरको दर्शन ग¥यौँ । डेभीज् फल्स, गुप्तेश्वर महादेवको दर्शनपछि होटलमा फर्किएर आराम ग¥यौँ । बेलुकाको खानापछि लेकसाइडको भ्रमण गर्दै रात्रीकालीन फेवाताल अनि पोखराको रमणीय दृष्य पछि पुनः होटलमै फर्कियौँ । रात्री कालिन फेवाको दृश्य कम रोमाञ्चित थिएन । नेपालीभन्दा बढी विदेशी फेवाको किनारामा बसेर आनन्द मानिरहेका थिए । आशा सर, सागर सर, प्रेमा म्याम र संगीता म्यामले हामीलाई गाइड गर्नुभएको थियो ।

भ्रमणको दोस्रो दिन बिहान ६ नबज्दै सारङकोट डाँडामा पुगेर माछापुच्छ«े लगायतका हिमशृखंलाको प्रत्यक्ष अवलोकन गर्दा हामी अति फुरुङ भयौँ । अहिले नै गएर माछापुच्छ«ेको स्पर्स गरौ जस्तै भएको थियो हामीलाई । सूर्योदयको दृश्यावलोकन झनै अविस्मरणीय भयो । फेवाताल, पोखराको रमाइलो दृश्यपछि हामी विन्ध्यवासिनी मन्दिरमा दर्शन गर्न गयौँ । त्यसपछि महेन्द्र गुफा र चमेरे गुफाको यात्रा झन रोमाञ्चक लाग्यो । चमेरे गुफाबाट निस्कँदा निकै गा¥हो अनुभव भयो तर अहिले सम्झँदा मन रमाउँछ । त्यसपछि प्लानेटरीयमको गोलघर भित्र बसेर लिएको जानकारी अनि हामी पनि तारासँगै आकाशमा पुगेको अनुभव ज्यादै रोमाञ्चक अनि अविस्मरणीय छ ।

यस्तै मिरर हाउस, साइन्स एक्सपेरिमेन्ट, ग्राभिटी हाउसको अनुभव त शब्दमा व्यक्त गर्नै सक्दिन् । त्यसपछि के.आई सिंह पुल, सेती नदीको अवलोकनपछि वेगनास ताल हुुँदै ऐतिहासिक नगरी तनहँुको बन्दीपुर पुग्यौँ । बन्दीपुरमा होमस्टेमा बस्नु अघि क्याम्प फायर गर्दै मासु पोलेर खायौँ । होम स्टेमा कोदोको रोटी, मकै, भटमास, ढिडो, गुन्द्रुकको स्वाद पनि लिन भ्यायौँ हामीले ।

अर्को दिन बन्दीपुुरको डाँडाबाट सूर्योदय हेर्दै फोटोे खिच्दाको रमाइलो अविस्मरणीय रह्यो । त्यसपछि तनहुँको विमलनगरबाट ४५ मिनेट सिँढी चढेर एसियाकै दोस्रो ठूलो सिद्ध गुफा पुग्यौँ । चार सय ३८ मीटर लम्बाइ र ४५ मीटर चौडाइ (उचाइ) भएको सिद्ध गुफाभित्र टर्च लाइट, मोबाइल बाल्दै समूह छुट्याएर पथप्रदर्शक सहित भित्र पस्यौँ । गुफाभित्र विभिन्न देवी देवताका आकृतिदेखि हाती, गैंडा, बाघ आदि जनावरका टाउकाका आकृतिको अवलोकन ग¥यौँ । गुफाको भित्री भागमा पुग्दा तातो हावाको अनुभव भयो ।

त्यसपछि फर्किएर मस्र्याङ्दी नदीको किनारामा रहेको होटलमा खाना खायौँ । काठमाडौं फर्किने क्रममा मुग्लिन बजारमा सुन्तला किनेर खाँदै अघि बढेर त्रिशुलीमा रहेको एउटा झोलुंगे पुलमा रमाउँदै फोटा खिच्यौँ । मलेखुको माछाको स्वाद लिँदै फर्किदाँ काठमाडौं आइपुगेको थाहै भएन । सुनेको, पढेको कुराभन्दा आफैँले प्रत्यक्ष अनुभव गरेको कुरा बढी अविस्मरणीय हुँदो रहेछ । यसरी हामीलाई शैक्षिक अवलोकन भ्रमणको व्यवस्था मिलाइदिने एक्टिभ इंग्लिस स्कूल परिवारलाई धेरै धन्यवाद ।

लेखक एक्टिभ इंग्लिस से. स्कूल मध्यपुर थिमिको कक्षा ८ मा अध्धयन गर्ने छात्रा हुन् ।

प्रतिक्रिया