काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का कर्मचारी आन्दोलनमा उत्रिएका छन् । लामो समय न्याम्स पदाधिकारीविहीन भएपछि तत्काल नियुक्त गर्न माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारी युनियनले न्याम्स र त्यसअन्तरगर्तका कतिपय निकायमा १ सय ९० दिन करिव ६ महिनादेखि पदाधिकारीविहीन भएको भन्दै बुधबारबाट दैनिक १ घण्टा धर्ना दिने कार्यक्रम समेत सुरु गरेको छ ।
उपकुलपति सहित अन्य पादधिकारीको नियुक्ती टुंगो नलाग्दा न्याम्स सहित वीर र ट्रमा सेन्टरको कामकारवाही प्रभावित भएको छ । युनियनका सचिव दीपक मुडभरीले न्याम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवं उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराउन बुधबारबाटै अनिश्चितकालिन एक घण्टे धर्नाको कार्यक्रम सुरु गरेको जानकारी दिएका हुन् ।
‘युनियनका साथीहरूले अस्पतालमा उपचारमा आएका विरामीहरुलाई असर नहोस् भनि दिउँसोको समय मिलाएर १ देखि २ बजेसम्मकोे समय तय गयौँ’, उनले भने, ‘अब यो कार्यक्रम पदाधिकारी नियुक्ती नहुँदासम्म रहिरहन्छ ।’
यसअघि कुलपतिले गठन गरेको समितिले सार्वजनिक सूचना आह्वान गरेर उपकुलपति छनौट सिफारिस गरेको थियो । सुरुमा २२ जनाले निवेदन दिएकोमा स्वास्थ्यमन्त्री संयोजकत्व समितिले ६ जनालाई अन्र्तवार्ता एवं प्रस्तुतिकरणका लागि बोलाएको थियो । प्रस्तुति र विभिन्न मूल्यांकनका आधारमा डा. शाहलाई पहिलो, डा. ढुन्डीराज पौडेल दोस्रो र डा.अजित रायमाझीको नाम सिफारिस गरेको थियो ।
यता निमित्तको भरमा रहेको बीर र ट्रमासहित रिक्त रहेको न्याम्सको उपकुलपति नियुक्ती गर्न सहकुलपति रहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले करीब ४ महिना अघि नै तीन जनाको नाम सिफारिस गरेका थिए । उनीहरुमध्येबाट एक जनालाई नियुक्ती गर्नको लागि उपयुक्त हुने भन्दै नाम सिफारिस भएको थियो । तर हालसम्म पनि उपकुलपति नियुक्त हुन सकेको छैन ।
धेरै समाचार माध्यमहरुमा उपकुलपति शाह नै नियुक्त भइसकेको भनेर आएपनि त्यसको आधिकारीक जानकारी भने प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालय दुबैबाट आएको छैन । उपकुलपति विहीन न्याम्स र निर्देशक विहीन रहेको बीर र ट्रमा भने निमित्तको भरमा चल्दै आएको छ ।
प्रतिक्रिया