दाङमा कुपोषण डरलाग्दो

नारायणपुर । मनखुशी सुनारलाई २७ वर्षकै उमेरमा पाँच छोराछोरीको पालनपोषण गर्नुपर्ने जिम्मेवार आइपर्यो । दुई सन्तानकी आमा मनखुशीलाई दिदीका तीन बच्चाबच्चीको पनि पालनपोषण गर्नुपरेपछि घर चलाउनै धौ धौ छ ।

अल्लोको धागो काटेर घर चलाउने घोराही उपमहानगरपालिका वडा नं १४ की मनखुशीले मासिक ७०० रुपैयाँ मात्रै कमाउछिन् । मनखुशीलाई समस्या त यस्तो आइप¥यो कि दुई बच्चामा कुपोषण देखापर्यो । वडास्तरमा सञ्चालन गरिएको पोषण तथा खाद्य सुरक्षा कार्यक्रमबाट मनखुशीले बालबालिकाको उपचार गराईरहेकी छन् ।

घोराहीकै वडा नंं २ की सुशीला चौधरीले पनि कुपोषणग्रस्त आफ्नो छोरीको उपचार गराउन थालेको ६ महिना पुग्यो । केही सुधार देखिएको बताउने सुशीलाको वडामा मात्रै ११ जना कुपोषित बालबालिकाको उपचार चलिरहेको छ । सुशिलाले भनिन्– ‘जन्मिएको दुई वर्ष भयो तर, बच्चा नै सानो छ । जति खुवाए पनि नमोटाएपछि अस्पताल गएँ । कुपोषण भएको छ भन्थे । अहिले विस्तारै राम्रो हुँदैछ ।’ खानेकुरा खुवाउन नजान्दा छोरीको शारिरीक वृद्धि नभएको सुशिलाले पत्तो पायो ।

सुशीलाको वडामै रहेको रामपुर स्वास्थ्य चौकीबाट मात्रै २६ जना शीघ्र कुपोषित बालबालिकाको उपचार भैरहेको छ भने, ढिकपुर स्वास्थ्य चौकीमा १६ जना बालबालिका उपचाररत छन् । यसरी घोराही उपमहानगरपालिका क्षेत्रभित्र मात्रै ४२ जना बालबालिकामा कडा खालको कुपोषण देखा परेको स्वास्थ्य शाखाका प्रमुख नारायण धर्तिले बताए । ‘घोराहीको रामपुर र ढिकपुरमा कुपोषित बालबालिकाको उपचार गर्ने व्यवस्था मिलाइएको छ, अहिले भर्खरै घोराहीमै पनि पोषण पुनःस्थापना केन्द्र स्थापना भएको छ’, प्रमुख घर्तिले भने, ‘उपमहानगरपालिका क्षेत्रभित्र सम्पर्कमा आएका ४२ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको छ ।’

घोराही उपमहानगर क्षेत्रमा तीन स्थानमा उपचार केन्द्र तोकेर शीघ्र कुपोषित बालबालिकाको उपचार गर्ने व्यवस्था मिलाइएको प्रमुख नरुलाल चौधरीले बताए । जिल्लाका १३ स्थानमा पोषण पुनःस्थापना केन्द्र स्थापना भएका छन् । घोराही उपमहानगरपालिकामा तीन र तुलसीपुर उपमहानगरपालिकामा दुई वटा पोषण पुनःस्थापना केन्द्र तोकिएका छन् भने लमही नगरपालिकासहित सात वटा गाउँपालिकामा समेत पोषण पुनःस्थापना केन्द्र छन् । ते¥ह वटा पोषण पुनःस्थापना केन्द्रबाट अहिलेसम्म तीनसय जना शीघ्र कुपोषित बालबालिकाको उपचार गराइसकिएको सुआहारा कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक सुरज शर्माले बताए ।

जोखिममा थारु बालबालिका

घोराही उपमहानगरपालिकाको रामपुर र ढिकपुरमा उपचार गराइरहेका ४२ जना शीघ्र कुपोषित बालबालिकाको तथ्याङ्क हेर्दा थारु समुदायका बालबालिकाहरु बढी जोखिममा पर्ने गरेको पाइएको छ जसमध्ये २१ जना अर्थात ५० प्रतिशत बालबालिका थारु समुदायका छन् । घोराहीको मात्र हैन, समग्र जिल्लाको अवस्था हेर्दा पनि थारु समुदाय, दलित तथा जनजाति समुदायका बालबालिकाहरुमा बढी कुपोषण भेटिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं ८ की यमुना चौधरीको परिवारमा बच्चाको हेरचाह गरिदिने कोही छैन । श्रीमान् विदेश र आफू दैनिक काममा खटिनु पर्दा बच्चाको हेरचाह गर्न समस्या नपुग्ने बताए । ‘खाने कुरा नहुने भन्ने छैन, बच्चालाई कतिबेला के के खुवाउने, कसरी खुवाउने भन्ने नै थाहा थिएन’, यमुनाले भनिन्, ‘दुई दुई घण्टाको फरकमा दूध चुसाउनु पर्छ भनेर पछि मात्रै पो थाहाभयो ।’

घरभरी धान, मकै, गहुँ लगायतका अन्नको भकारी राख्ने थारु समुदायका बालबालिकाहरु नै जोखिममा पर्नु भनेको पोषणसम्बन्धी अज्ञानता रहेको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बताए । ‘शीघ्र कुपोषित बालबालिकाको पोषण तथा औषधिउपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ’, मेयर चौधरीले भने, ‘स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत यसबारेमा तालिमहरू दिएका छौँ ।’

प्रतिक्रिया