पार्टी एकताको बाँकी काम पूरा हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताएका छन् । आज पार्टी मुख्यालय धुूमबाराराहीमा आयोजित जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि सभामा उनले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताए ।

उनले शहीदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी एकतामा थप ऊर्जा प्राप्त गर्ने अवसर रहेको बताए । “कार्यकर्तामा पार्टी एकता जनसङ्गठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता बेलाबेलामा प्रकट हुने गर्दथ्यो”, उनले भने, “अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसङ्गठनको एकतालाई टुङ्ग्याएर एउटा राष्ट्रव्यापी अभियानमा अगाडि बढ्ने छौँ । उहाँले पार्टी एकता सफल पार्न एक, दुई जना नेताले मात्र नभएर सबै नेता कार्यकर्ता लाग्नुपर्नेसमेत धारणा राखे ।

वैचारिक र राजनीतिक रुपमा नयाँ चरणमा पार्टी प्रवेश गरेको उल्लेख गर्दै उनले भावनात्मक रुपमा अलगअलग धारमा अगाडि बढेका नेता कार्यकर्तालाई यस्ता कार्यक्रमले एक ठाउँमा ल्याउने बताए ।

जेठ ३ र फागुन १ गतेलाई वैचारिक राजनीतिक एकतालाई सुदृढ गर्ने र हामीभित्र सङ्गाठनिक भावनात्मक एकतालाई मजदुत बनाउने अवसरको रुपमा लिनुपर्ने उनको भनाइ रहेको बताए । उनले सबै राजनीतिक दलको सहमति र सहकार्यबाट मुलुकलाई छिटोभन्दा छिटो विकासका राम्रा काम गरेर जनताको सपना पूरा गर्नुपर्ने बताए ।

अध्यक्ष दाहालले एकताबद्ध हुन नसकेका कम्युनिष्टलाई पनि अहिलेको पार्टी एकतामा गोलबद्ध हुन आग्रह गरे । उनले कम्युनिष्ट समूहलाई मात्र नभएर नेपाली कांग्रेस र मधेश केन्द्रित सबै पार्टी विकास र समृद्धिको एजेण्डामा सहकार्य गरौँ भन्दै नेपाली जनताले राजनीतिक स्थिरताका लागि निकै ठूलो बलिदान गरेको हुनाले अब एक भएर विकास र समृद्धि यात्रामा अगाडि बढ्न आह्वानसमेत गरे ।

“हामीले ठूला ठूला राजनीतिक परिवर्तन सबै एक ठाउँमा आएर हासिल गरेका हौँ”, उनले भने, “अहिले हामी सबैको एजेण्डा समृद्ध नेपाल र विकसित नेपाल हो । देशलाई निरन्तर अगाडि बढाउन देशमा रहेका सबै राजनीतिक शक्तिसँग सहमति र समझदारीसमेत आवश्यकता रहेको छ । उनले हिजो विभिन्न जनआन्दोलनमा सहभागी सबै पार्टीलाई सबै खालको भ्रम र विग्भ्रम छोेडेर मुलुकलाई साकार पार्ने दिशा सबै दल लाग्नुपर्ने बताए ।

अध्यक्ष दाहालले लोकतान्त्रिक तरिकाले कम्युनिष्ट पार्टीको एकता र दुई तिहाइको लोकप्रिय बहुमतले प्राप्त गरेकाले कम्युनिष्टका लागि योभन्दा ठूलो र युगान्तकारी परिवर्तन केही हुन नसक्ने धारणा राखे ।

मुलुकको विकास गर्नका लागि अहिलेको विकल्पभन्दा अर्को विकल्प नभएकाले अहिलेको बाटोले मात्र समाजवाद, सामाजिक न्यायतिर जान सक्ने भन्दै उनले भने, “यही बाटोमात्र तपाइँ हामीले देखेको सपना पूरा गर्न सक्दछौँ । त्यसैले सवै राजनीतिक दल हाम्रा शहीदका सपना पूरा गर्दै नयाँ गोरेटो बाटो हुँदै नेपाललाई अगाडि लैजान सक्दछौँ ।

अध्यक्ष दाहालले शान्तिपूर्ण संसदीय प्रक्रियाको माध्यमबाट कम्युनिष्टलाई लोकप्रिय बनाउने र जनयुद्धको रुपमा कम्युनिष्ट आन्दोलनलाई बलियो पार्दै उत्पीडित जनता हक अधिकारको लडाइँका अगाडि बढाउने काम दुई धार एक भएर अहिले कम्युनिष्ट आन्दोलन बनेको बताए ।

शान्तिपूर्ण र प्रतिस्पर्धाका तरिकाले कम्युनिष्ट आन्दोलनलाई र जनतालाई समृद्धि र मुक्तिको दिशातिर अगाडि बढाउने प्रक्रियाको नेतृत्व गर्ने मदन भण्डारीलाई सम्झँदै उनकै स्मृतिमा दुई धारबीच एकता गरेको उल्लेख गरे ।

उनले विभिन्न प्रतिक्रान्तिवादीले विभिन्न षडयन्त्रमार्फत कम्युनिष्ट पार्टीलाई कमजोर पार्न नेताबीच फाटो ल्याउने, अविश्वास ल्याउनेजस्ता विभिन्न कसरत गरिरहेको बताए । उनले प्रतिक्रियावादीको उस्काहटमा नलागी कम्युनिष्ट आन्दोलनलाई एकजुट बनाउनुपर्ने बताए ।

“प्रतिक्रियावादीले यो कम्युनिष्ट पार्टी राम्रौसँग अगाडि नबढोस् र यो विभाजित होस् कम्युनिष्टको प्रभाव घटोस् यसको नेतृत्वमा विकास र समृद्धि नहोस् भनेर चाहेका छन्”, उनले भने, “जताततै कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको बेला नेपालमा लोकतान्त्रिक ढङ्ग, आक्रमण ढङ्ग र नयाँ तरिकाले आएकाले ध्वस्त पार्न सम्भव देखेका छैनन् ।

उनले अहिलेको कम्युनिष्ट आन्दोलन लोकतान्त्रिक तरिकाले बलियो भएर आएको हुनाले पहिलाजस्ता कैयौँ देशमा हजारौँ लाखौँलाई कत्लेयाम गरेर नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न नसकिरहेको बताए । “प्रतिक्रियावादी र अवसरवादीको उस्काहटमा आउने छैनौँ, हामीलाई यो पार्टी एकता कसैले माया गरेर दया गरेर दिएको होइन”, उनले भने, “हाम्रै महान् शहीद त्यागेर जनताको क्रान्तिकारी बलले पार्टी एकता गरेका हौँ ।

उनले आफूहरु १९औँ शताब्दी र २० औँ शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभव पनि समीक्षा र लेखाजोखा गरेर अबको २१ औँ शताब्दीको लागि समाजवाद निर्माण एउटा नयाँ ढाँचाको खोजीमा रहेको बताए ।

उनले नेपाल गरीब र पछौटे मुलुक भए पनि राजनीतिक दृष्टिमा गरेका कामलाई संसारले ध्यानपूर्वक हेरेको भन्दै साना शक्तिमात्र होइन सबै खालका शक्तिले नेपालमा के भइरहेको र के हुन थालेको छ भनेर हेर्न थालेको बताए ।

कार्यक्रममा नेकपामा महासचिव विष्णु पौडेलले संविधानमार्फत समाजवादको आधारशिला निर्माण गरेकाले शहीदको सपना पूरा गर्न समाजवाद ल्याउने बताए । कार्यक्रममा जनयुद्ध र सुखानीमा शहीदप्रति अध्यक्ष दाहालसहित महासचिव पौडेल, स्थायी कमिटी सदस्य सुभाष नेम्वाङ, भीम रावलले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

प्रतिक्रिया