जनतासँग गरेका वाचा पूरा हुन्छः मन्त्री अधिकारी

काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार समृद्धिको लडाइँमा विजयी हुने बताएका छन् ।

सोनाम ल्होछार सांस्कृतिक महोत्सव २८५५ लाई तेमाल गाउँपालिका–५ नारायणस्थानमा मङ्गलबार सम्बोधन गर्दै मन्त्री अधिकारीले भने, “हामी जनताको स्वाभिमान उच्च राख्ने काम गर्दैछौँ, सरकार समृद्धिको यात्रामा विजयी हुन्छ । मन्त्री अधिकारीले वर्तमान सरकार मुलुकको समृद्धि, विकास र अग्रगतिका लागि काम गरिरहेको बताए ।

उनले सरकारले पाँच वर्षको अवधिमा जनतासँग गरेका वाचा पूरा गर्ने दाबी गरे । मन्त्री अधिकारीले तेमाललाई सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले निर्माण गर्न लागिएको तामाङ राष्ट्रिय सङ्ग्रहालयका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पूर्वराज्यमन्त्री सूर्यमान दोङ, सङ्घीय सांसदद्वय गङ्गाबहादुर तामाङ र नवीना लामा, प्रदेशसभा सदस्य रत्न ढकाललगायतले तामाङ राष्ट्रिय सङ्ग्रहालयका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए । महोत्सवमा गायक विश्व दोङ, सञ्जीव वाइवा, विशाल काल्ताङ, जितु लोप्चन, अविनाश घिसिङलगायतका कलाकारले विभिन्न साङ्गीतिक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया