होटलमा आगलागी हुँदा १७ को मृत्यु

नयाँदिल्ली । भारतको दिल्लीस्थित एउटा होटलमा मंगलबार बिहान आगलागी हुँदा १७ जनाको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ ।

पाँचतले अर्पित प्यालेस होटलको सबैभन्दा माथिल्लो भाग पूरै जलेको बताइएको छ। आगलागी बिहानको चार बजेतिर सुरु भएको थियो । एउटा भिडियोमा सिसाको झ्याल फोडेर मानिसहरू हाम फालिरहेको देखिन्छ ।

समाचारहरूमा जनाइएअनुसार धेरैको मृत्यु निसासिएर भएको थियो । ‘काठले बारिएर बनाइएको होटलको गल्लीका कारण पनि त्यहाँ रहेकाहरू भाग्ने बाटो पाएनन्,’ एकजना अग्नि नियन्त्रक विपिन केन्ताले हिन्दुस्तान टाइम्सलाई बताए ।

भवनबाट खसेर ज्यान गुमाउनेमा दुई महिला र एक बालकसमेत छन् । अग्नि नियन्त्रकहरूले ३५ जनाको उद्धार गरेका छन् । छतमा भान्छा र रेस्टुराँको अस्थायी संरचना जोड्ने हो भने होटल ६ तलाको छ । तर, अर्पित होटलसँग समेत चार तलाका लागि मात्र अनुमति थियो ।

आगलागीको कारण अझै खुल्न सकेको छैन । आगो अहिले नियन्त्रणमा आइसकेको छ र अधिकारीहरूले त्यसको कारणबारे अनुसन्धान सुरु गरेका छन् । उक्त होटल दिल्लीको केन्द्रभागबाट पश्चिमतर्फ रहेको करोल बाग भन्ने स्थानमा छ । त्यस क्षेत्र कम पैसा खर्च गर्ने र किनमेल गर्ने पर्यटकहरूका लागि लोकप्रिय छ ।

भारतमा आगलागीका घटना दुर्लभ भने होइनन् । घर निर्माणकर्ताहरूले सुरक्षाका मापदण्ड उल्लंघन गर्ने गरेको पाइन्छ । नयाँ र पुराना घरमा आपतकालीन बहिर्गमन द्वारहरूसमेत पाइँदैनन् ।

पछिल्ला महिनामा दिल्लीका प्रमुख स्थानमा रहेका पसल र रेस्टुराँ तिनै सुरक्षा मापदण्ड पूरा नगरेकै कारण बन्द गराइएका थिए । व्यावसायिक भवनहरूसमेत अनुमतिविनै तला थप्ने गरेको पाइएका छन् ।

प्रतिक्रिया