समितिका सदस्यको नाम हेरफेर

बुटवल । प्रदेश–५ को स्थायी राजधानी र नामाकरण सिफारिस गर्न बनेको विशेष समितिका सदस्यहरूको नाम फेरबदल भएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा समितिका सदस्यहरूको नाम फेरबदल भएको हो ।

यस अघिका बैठकमा विशेष समितिमा प्रदेशका १२ जिल्लाकै सदस्यहरूको प्रतिनिधित्व हुनुपर्ने विषय उठ्दै आएको हो । नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभाका सदस्य रूपन्देहीका अष्टभुजा पाठकको स्थानमा नवलपरासीका बैजनाथ कलवार तथा नेकपाका तर्फबाट सदस्य बनेको अर्घाखाँचीका चेतनारायण आचार्य स्थानमा बाँकेका बाबुराम गौतम र बर्दियाका दिपेश थारूको स्थानमा रुकुमका तेजबहादुर वलीको नाम थपिएको छ ।

नाम फेरबदल सम्बन्धमा बैठकअघि सत्तारूढ दल र प्रमुख प्रतिपक्ष दलबीच सहमति भएपछि निर्धारित समयभन्दा ३५ मिनेट ढिला गरी मात्र बैठक बसेको थियो । प्रतिपक्ष दलले अष्टभुजा पाठकको स्थानमा नवलपरासीबाट बैजनाथ कलवारलाई राख्ने निर्णय गरेपछि मात्र सत्तारूढ दल नेकपाले बैठक बसेर सदस्यहरू फेरबदल गरेको हो ।

समितिले अब ५ फागुनदेखि तीव्र गतिमा काम गर्ने बताइएको छ । समितिले एक हप्तासम्म जिल्लामा पुगेर सुझाव लिने नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानाकारी दिए । ५ फागुनमा विशेष समिति सुझाव सल्लाहका लागि जिल्ला दौडमा हुने भएकाले प्रदेशसभा बैठकसमेत त्यस बीचमा नबस्ने बताइएको छ ।

यसैबीच प्रदेशसभा बैठकमा मंगलबार प्रदेश–५ खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी बनेको विधेयकमाथि दफाबार छलफल भएको छ । छलफलमा बोल्दै नारायणप्रसाद आचार्यले खानीको अन्वेषणको अधिकारी प्रदेश सरकारको हुनुपर्ने बताए । त्यस्तै डिल्लीबहादुर चौधरीले खानी अन्वेषण गर्दा पानीको मुहान, बालुवा खानीको संरक्षण गर्दै गर्नुपर्ने बताए ।

त्यस्तै पुष्पा थरुनीले जोखिम र दुर्घटना न्यूनीकरणको कार्ययोजना बनाएर मात्र अन्वेषण गर्नुेमा जोड दिइन् । सांसद तुलाराम घर्ती मगरले सिद्धार्थ राजमार्गमा बाटो बिग्रनु खानीकै कारण भएको भन्दै कहाँबाट कसरी खानी लैजाने भन्ने अधिकार स्थानीयलाई दिनुपर्ने बताए । छलफलपछि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लीला गिरी बातावरणीय प्रभाव, पानीका मुहानको संरक्षणमा ध्यानमा दिएर काम गर्ने बताए ।

त्यस्तै बैठकमा प्रदेश–५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयकसभामा प्रस्तुत भएको छ । उक्त विधेयकलाई प्रदेश मामिला तथा कानुन समितिका सभापति दामाकुमारी शर्माले सभामा प्रस्तुत गरेकी थिइन् । त्यसैगरी प्रदेश–५ प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक र प्रदेश–५ बालबालिकाको हकअधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा पेस भएको थियो । संसदको अर्को बैठक ५ फागुनमा

प्रतिक्रिया