पछिल्ला केही समय यता विद्युतीय दुर्घटनाका कारण देशका विभिन्न स्थानमा निकै मान्छेले ज्यान गुमाएका छन् । विद्युत्ः मान्छेको जीवनमा अति आवश्यक चिज हो । तर, त्यसलाई प्रयोग गर्ने तरिका नमिल्दा ठूला दुर्घटना हुने गरेका छन् । दुर्घटनाका कारण मानवीय क्षतिसमेत हुँदै आएको छ भने कैयौँ अंगभंग भएका छन् । तर, त्यसको उचित जिम्मेवारी भने कसैले पनि लिने गरेको छैन ।
सुदूरपश्चिमका युवा रवि ओडले ‘नेपाल आइडल’ को उपाधि जितेको केही दिनपछि उनकी कान्छी आमा विष्णादेवीको कञ्चनपुर चौराहस्थित घरमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर ज्यान गयो । शोकमा डुबेका रवि ओड मन बलियो बनाएर सांगितिक कार्यक्रमका लागि विदेश यात्रामा निरन्तर रहे । रवि ओड शोकमै भए पनि ‘मुटुमाथि ढुंगा राखी’ उनी परदेश गएका नेपालीहरूलाई मनोरञ्जन दिन छाडेनन् उनले कामलाई निरन्तरता दिए ।
तर, ओड परिवारले भोगेको शोक आलै छ । भारतको मुम्बइमा चौकीदारी गर्ने उनका बुवा कञ्चनपुर फर्किए । रवि ओडका भाइ जिगर ओडले बिबिसीसँग भने, ‘हाम्रो ठूलो क्षति भयो । आमा गुमाएको त्यो क्षण हामी बिर्सन चाहन्छौँ, तर बिर्सिन सकिरहेका छैनौँ ।’ एका बिहानै करेन्ट लागेर अचेत विष्णादेवी ओडको अस्पताल लैजाने क्रममा ज्यान गएको थियो ।
त्यसको एक महिनापछि गत साता जनवरी २५ को साँझपख धनुषाको सबैलामा जन्ती चढेको बसमा लत्रिएको बिजुलीको तारबाट करेन्ट प्रवाह हुँदा ६ जनाको ज्यान गयो । सिन्धुलीको दुधौली नगरपालिका, जितपुरका रामबाबु अधिकारी, ४५, जन्ती बसमा करेन्ट प्रवाह हुने बित्तिकै ‘सबैलाई बसबाट ओराल्न व्यस्त थिए । त्यस्तो सहयोगी स्वभावका मूली गुमाएपछि अधिकारी परिवार अहिले असह्य पीडामा छ । परिवारले त्यो दुःखद् घटना र परिवार गुमाउनु पर्दाको पीडा भुल्न सकेका छैनन् ।
बिबिसीसँगको संक्षिप्त कुराकानीमा उनकी पत्नी धर्मशीला अधिकारीले टेलिफोनमा भनिन्, ‘कसको कमजोरीले उनको ज्यान गयो ? म केही भन्न सक्दिनँ । तर, दुई छोरा र एक छोरीलाई अब म एक्लैले कसरी हुर्काउने होला ?’ उनले छोराछोरी हुर्काउने र पढाउने चिन्ता व्यक्त गरिन् ।
त्यसको जवाफ सहज छैन । तर, प्रश्न उठ्न सक्छ, कसको कमजोरीले त्यो जन्ती बसमा विद्युत््को झट्का लाग्न पुग्यो र विवाह उत्सव मनाएर फर्किएका ६ जनाको ज्यान जाने गरी त्यत्रो ठूलो दुर्घटना भयो ? के स्थानीय गाउँ वा नगरपालिकाको कमजोरी थियो त्यहाँ ? कि नेपाल विद्युत्् प्राधिकरणकै लापर्बाही थियो ? वा चालकको हेलचेक्य्राइँले त्यो दुर्घटना भयो ? अनुउत्तरित छ यसको जवाफ ।
यसबारेमा दुधौली नगरपालिका–९ का वडाअध्यक्ष रामकुमार अधिकारी भन्छन्, ‘बसमा करेन्ट लाग्नेबित्तिकै चालक भागेका छन् । बाँचेका जन्तीहरूका अनुसार उनले रक्सी खाएका थिए र लापर्बाही गरेर बस चलाइरहेका थिए ।’
करेन्ट लागेर आमा गुमाएका रवि ओडका भाइ जिगर ओडका अनुसार ‘घरमा पानी तान्ने मोटरमा जोडिएका तारमा टेपहरू लगाइएको थियो । सम्भवतः, ‘चिसो हातले त्यो तार छुँदा ममी (आमा) लाई करेन्ट लाग्यो र उहाँ ढल्नु भयो, जिगर ओडले बिबिसीसँग भनेका छन् ।
नेपाल प्रहरीका अनुसार ०७५ साउनदेखि माघ १५ गतेसम्मको अवधिमा नेपालका विभिन्न स्थानमा विद्युत् सँग जोडिएका ५ सय १८ वटा दुर्घटनामा २ सय ८९ जनाको ज्यान गइसकेको छ भने २ सय ९७ जना घाइते भएका छन् ।
गएको आर्थिक वर्षमा त्यस्ता ५ सय २० दुर्घटनामा ३ सय २१ जनाको ज्यान गएको थियो भने २ सय ६० जना घाइते भएका थिए । विद्युत् दुर्घटनाका कारण आगलागी र त्यसक्रममा ठूलो आर्थिक क्षति पनि हुने गरेको छ । त्यस्तो क्षतिको कथा अर्कै छ ।
तर, विद्युत् दुर्घटनाको क्रम रोकिने कुनै लक्षण छैन । किनभने, विद्युत् दुर्घटनाको जोखिम घटाउन कुनै सुरक्षा अभियान थालिएको छैन । तर, विद्युत् प्राधिकरणका अधिकारी भन्छन्, ‘जनचेतनाको अभाव र अव्यवस्थित सहरीकरणका कारण’ देशैभरि प्रायः, सबै स्थानमा विद्युत् दुर्घटनाको खतरा जस्ताको त्यस्तै छ ।
नेपाल विद्युत्् प्राधिकरणका प्राविधिकहरूका अनुसार विद्युत्् दुर्घटनाको सबैभन्दा बढी जोखिम केन्द्रीय राजधानी काठमाडौंमै छ । करिब आधा करोड जनसंख्या रहेको राजधानी उपत्यकामा ‘अव्यवस्थित सहरीकरण र अनियन्त्रित तार विस्तारका कारण अनौठा–अनौठा विद्युत् दुर्घटनाका घटना बाहिर आउन थालेका छन,’ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भन्छन्, ‘कहिले त केबल टिभीको तारमा मोटरसाइकल अल्झिँदा बिजुलीको पोल ढलेर मानिसको मृत्यु भएको खबर आउँछ ।’
अर्को धेरै जोखिमयुक्त क्षेत्र प्रदेश–२ को जनकपुर क्षेत्रमा रहेको प्राधिकरणको भनाइ छ । अधिकारी भन्छन, ‘त्यस क्षेत्रमा विद्युत् चोरीका घटना अन्यत्रभन्दा बढी रहेको छ । जनचेतनाको अभाव छ । त्यसैले, पनि धनुषाको सबैलामा जन्ती बस दुर्घटनामा पर्ने अवस्था आएको हो ।’
ती स्थानका अतिरिक्त अव्यवस्थित बस्ती विकास भइरहेका देशका अन्य स्थानमा पनि विद्युत् दुर्घटनाका जोखिम रहन सक्ने विद्युत् प्राधिकरणका अधिकारीहरू बताउँछन् । विद्युत् प्राविधिकहरूका अनुसार
नेपालमा करेन्ट लाग्ने वा विद्युत् दुर्घटना हुने मुख्य कारण यस्ता छन् ।
–अन्धाधुन्ध बस्ती विकास र विस्तार र त्यसले निम्त्याएको अव्यवस्थित विद्युतीकरण ।
–तोकिएको प्राविधिक मापदण्ड विपरीतका तारहरूको प्रयोग । तोकिएको मापदण्ड विपरीतका विद्युतीय सामानको प्रयोग ।
–सडक र तारबीचको दूरी घट्ने गरी सडक अग्लो पार्ने वा विस्तार गर्ने परिपाटी ।
–दक्ष प्राविधिकको संलग्नता विना गरिने स्थानीय स्तरको विद्युतीकरण ।
–विद्युतीय प्रणाली वा घरायसी विद्युतीय सामान मर्मत सम्भारको अभाव ।
–विद्युत् चोरी र त्यसक्रममा लिइने जोखिम ।
–विद्युत् सुरक्षा सतर्कताको अभाव र सुरक्षा उपकरणको अभाव ।
यस्ता समस्याबट हामी कसरी सुरक्षित रहन सक्छौँ ? भन्ने बारेमा पनि जानकारी हुनपर्ने जानकारहरू बताउँछन् । जानकारहरू भन्छन् विद्युत् दुर्घटनाको खतरा हरेक घर–घर र हरेक टोल छिमेकमा हुन सक्छ ।
घरमा नांगो तार वा टुपिन वा थ्रिपिन, प्लग, स्विच जीर्ण अवस्थामा छन् भने विद्युतीय दुर्घटनाको खतरा त्यहीँबाट सुरु हुन्छ । त्यसबाट खासगरी केटाकेटी वा वृद्धवृद्धालाई टाढै राख्नुपर्छ ।
कञ्चनपुरका रवि ओडका भाइ जिगर ओडको भनाइमा उनको परिवारले भोगेको पीडाबाट सबैले पाठ सिक्न सक्छन्, ‘आफ्नो घरमा नांगा तार छन् भने तिनको मर्मत गरी सुरक्षित बनाइहाल्नुपर्छ । नत्र, हाम्रो घरको जस्तो दुर्घटना अन्त पनि दोहोरिन सक्छ ।’
बसले नांगो तार छोएको धनुषाको सबैलामा भएको जस्तो दुर्घटना हुन नदिन सामुदायिकस्तरमा पनि सचेतना आवश्यक हुने प्राविधिकहरू बताउँछन् । ‘त्यस्तो दुर्घटना हुन नदिने सबैभन्दा उत्तम उपाय सडक र तारको दूरी तोकिएको मापदण्ड भित्रै कायम गर्नु हो,’ प्राधिकरणका प्रवक्ता अधिकारी भन्छन् । अर्को उपाय नांगा तारहरूलाई विद्युत् प्रवाह नहुने गरी रबरले ढाक्नु हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार त्यो दिशामा काम सुरु भइसकेको छ । अधिकारीका अनुसार विद्युत् चोरी हुने र त्यसैकारण दुर्घटना बढी हुने गरेका तराईका जिल्लाहरूमा रबरले बेरिएको तार विस्तार गर्ने काम अघि बढिरहेको छ ।
अझै उत्तम उपाय हुन सक्छ तारलाई लठ्ठामा अड्याएर गाउँ सहरको सौन्दर्य बिगार्दै जथाभाबी विस्तार गर्नुभन्दा जमिन मुनिबाट भूमिगतरूपमा प्रसारण लाइन विस्तार गर्नु । विकसित देशका सहरहरूमा बिजुलीको तारलाई त्यसैगरी भूमिगत बनाइएको हुन्छ ।
नेपालको सगरमाथा क्षेत्रको खुम्बुका गाउँहरूमा पनि गाउँको सौन्दर्यमा कुनै आँच आउन नदिने गरी बिजुलीका तारहरूलाई सुरक्षित रूपमा भूमिगत लाइनबाट घरघरमा पु¥याइएको छ ।
प्राधिकरणका प्रवक्ता अधिकारी भन्छन्, ‘हामीले राजधानी काठमाडौंको रत्नपार्कदेखि महाराजगञ्जसम्म नमुना आयोजनाका रूपमा (९० हजार उपभोक्ता परिवारका लागि) तारलाई जमिनमुनि बिछ्याउनका लागि बोलपत्र आह्वान गरिसकेका छौँ ।’ त्यसको काम छिट्टै हुनेमा प्राधिकरण आशावादी छ । तर, नेपालमा तोकिएकै समयमा काम होला भन्नेमा आम उपभोक्ता भने पूर्ण रूपमा विश्वस्त छैनन् । (बिबिसीबाट)
प्रतिक्रिया