माघको अन्त्यतिर आइपुग्दा हुम्लामा करिब ६ फिटसम्म हिउँ प¥यो । हुम्लाजस्तो हिमाली जिल्लामा हिउँ पर्नु सामान्य हो । तर, हिउँ पर्न छाडेको करिब ७ वर्षपछि यसरी हिउँ पर्ला भनेर कसैले अनुमान गरेका थिएनन् । स्थानीयको अनुमानभन्दा फरक यो वर्ष यति धेरै हिउँ प¥यो । पुसको पहिलो साता १ फिट बल्ल तल्ल परेको हिउँमा पर्यटक, स्थानीय र कर्मचारी सबैले रमाइलो नै गरेर बिताएका थिए । तर, माघको ६ गते पछि वेला–वेला परिरहेको हिउँले हुम्लाको सबै भागको जनजीवन निकै कष्ठकर बनायो ।
खासगरी, यहाँका किसानलाई हिउँ पर्नु खुसद् मानिन्छ । डाँडाँ काँडाँमा सेताम्मे हिउँ देखिनु अझ सौन्दर्य हुन्छ । तर, दैनिक जीवन नै अस्तव्यस्त बनाउने गरी हिउँ पर्न थालेपछि भने स्थानीयलाई निकै कष्ठकर बनाएको छ । सबैको घर बाहिरको दैनिकी घरभित्रै खुम्चने अवस्था बनायो हिउँले ।
हिउँले चिसो मात्रै बढाएन, घरबाट बाहिर निस्कनसमेत कठिन बनायो । शौच जानसमेत मुस्किल बनाएको यो हिउँले दैनिक सबैजसो काम ठप्प भएर मान्छे घरभित्रै गुम्सिएर बस्न बाध्य भए । साँझ ढोका लगाएर सुतेका स्थानीय बिहान ढोका टक्क हिउँले पुरिएर खोल्न नसक्नेसम्म भए । सुरुका दिनमा हिउँ पर्दा खुसी भएर घरबाहिर हिउँ खेल्न निस्कनेहरू पछिल्ला दिनमा अत्यास मान्न थालेका छन् । सामान्य हिमपात भए मात्रै जसोतसो समय बिताउन सहज हुन्थ्यो, तर हिमपात सँगै चलेको चर्को हावाहुरीले अझ चिसो बनायो । घरभित्र नै हिउँ छिर्ने गरी हिमपात भयो । भान्सामा खाना पकाउनसमेत गाह्रो बनायो ।
‘पशु चौपायालाई चरनको अभावले गर्दा गोठमा नै थुनेर राख्नुपर्दा निस्सासिने अवस्था भयो भने खान नपाएका कारण केही पशुचौपायसमेत गुमाउनु परेको छ । गोठबाहिर निकालेर घाँससमेत दिन सकिएको छैन । गाउँमा अझै ५ फिट हिउँले छोपेको छ । हिउँ पग्लेर सामान्य बन्न अझै १ हप्ता लाग्छ होला, के कसरी जीवनशैली सहज गराउने हो सोच्नै सकिएको छैन,’ सर्केगाड गाउँपालिका–८ का पशुपालक घण्टे रोकायाले बताए । मान्छे त जसोतसो घरभित्र बसेर दिन काटे पनि बस्तुभाउलाई सकस भएको उनले बताए ।
घरका छत जोगाउनका लागि सबै स्थानीयलाई भने गाह्रो भएको छ । जिल्लामा रहेका सबैजसो सरकारी तथा गैरसरकारी कार्यालय प्रायः सुनसान रहेका छन् । कार्यालयमा न सेवाग्राही जान सक्ने अवस्था छ न कर्मचारी बसेर काम गर्ने अवस्था छ । अत्यधिक चिसोका कारण कार्यालयमा काम गर्न बसे ज्यान नै गुमाउन पर्ला भन्ने चिन्तामा छन् यहाँका कर्मचारी ।
सहरी क्षेत्र सिमकोट गाउँपालिकामा भने स्थानीयले हिउँसँगै खिचेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्न पाएर खुसी देखिएका छन् । राती अति नै जाडो भए तापनि दिउँसो घाम लाग्दा अधिकांश बासिन्दा खुसी देखिन थालेका छन् । लामो समयसम्म भएको लोडसेडिङका कारण विद्युतीय सेवा नभएर इन्टरनेट चलाउन नपाएकाहरूलाई पछिल्ला दिनमा केही राहत महसुस भएको छ । हिउँमा रमाउँदै खिचेको तस्बिर सामाजिक सञ्जालमा फोटो पोस्ट गर्न पाएकोमा उनीहरू खुसी देखिएका छन् । दिउँसो घाम लागेका वेला अहिले एन्ड्रोइड फोनदेखि क्यामेरा बोकेर सबै उमेर समूहका व्यक्तिहरू हिउँमा तस्बिर खिच्न र रमाइलो गर्न जानेको पनि लर्को देखिन्छ । अहिले सबैजसो हिमाल र पहाड हिउँ जमेर सेतै भएका छन् । सुन्दर देखिएका पहाडलाई हेर्दा मन नै आनन्द हुने स्थानीय बताउँछन् । उनीहरू चिसोसँग जुध्दै हिउँमा रमाउँदै गरेको दृश्य निकै रोमाञ्च देखिन्छ ।
हिउँमा स्की र फिल्मका दृश्य कैद गर्नका लागि भने यो हिउँ अति नै लाभदायक भएको छ । हिउँसँगै किसानका लागि खेतीपातीमा सिँचाइ भएकोले स्थानीय किसान निकै हर्षित छन् । किसानका अनुसार हिमालको टुप्पो देखिसम्म परेको जमिन, घरबारी, गोठ आँगन सबै ठाउँमा हिउँले ढपक्क ढाकेको छ । हुम्लामा धेरै वर्ष पछिको यो अत्यधिक हिमपात हो । गाउँगाउँमा हिमपातसँगै चोरी सिकारी भने बढेको छ । जंगलमा बस्नका लागि गाह्रो भएर आश्रयका लागि मानवस्ती नजिक आउने जंगली जनावरहरूलाई स्थानीयले सिकार गर्न थालेको छन् ।
जिल्लामा पौष १५ देखि हिउँदे विदा भएका अधिकांश विद्यालय यो पटकको हिमपातको सिकार भएका छन् । हावाहुरीले जिल्लाका के कति ठाउँमा क्षति पु¥यायो भन्ने अझै एकिन भएको छैन । मानसरोवर नमुना माध्यमिक विद्यालयको भवन पुरै हिमपात र हावाहुरीले भत्काएको छ । त्यसैगरी, बहिरा विद्यालयको भवन पनि भत्काएको छ । जिल्लाका अन्य भ–ूभागमा के कति मात्रामा क्षति पु¥यायो भन्ने अहिलेसम्म विवरण आउन सकेको छैन ।
हुम्लाका अधिकाशं स्थानीय तहका विकासे काम चिसोका कारण ठप्प भएका छन् । सम्झौता गरी काम सुरु भएका योजना हिमपातका कारण कुनै पनि काम सुचारु हुन सकेको छैन । कामदारलाई जाडो हुने र अधिकांश जमिन नै हिउँले छोपिएको कारण विकासे काम गर्न नसकिएको सर्केगाड गाउँपालिका–८ का विद्यालय भवन निर्माण समितिका अध्यक्ष मदन रोकायाले बताए । त्यसैगरी, राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम पनि अवरोध भएको छ । विमानस्थलमा बाक्लो हिउँ जमेका कारण नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट कुनै पनि हवाई कम्पनीले उडान भर्न सकेका छैनन् । हिउँसँगै आएको हावाहुरीका कारण यहाँको सम्पूर्ण जनजीवन कष्ठकर बनेको छ ।
प्रतिक्रिया