किन कारबाही गरियो जीवन शर्मालाई ?

कतिपय अवस्थामा पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहलाई पनि पार्टीको सदस्यताबाट निष्कासित गरेको, का. चित्रबहादुर केसी पार्टीको प्रवक्ता हुँदा उनको कतिपय वेला सार्वजनिक रूपमा नै आलोचना गरेका जस्ता उदाहरणहरू हाम्रा अगाडि छन् । त्यो प्रणालीअनुसार कसैको कुन प्रकारको मत छ भन्ने कुरामाथि ध्यान दिएर होइन कसैको गल्तीको प्रकृतिअनुसार पार्टीका विभिन्न केन्द्रीय सदस्य वा विभिन्न तहका जिम्मेवार पार्टी सदस्यहरूलाई पनि कारबाही गर्ने गरिएका थुप्रै उदाहरणहरू छन् । तर, त्यो पूरै नै पार्टीको आन्तरिक विषय हो ।

रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष का. जीवन शर्माबारे पत्रपत्रिका र सामाजिक सञ्जालमा कतिपय भ्रामक समाचारहरू आएका छन्, त्यसबारे प्रकाश पार्नु आवश्यक हुन गएको छ ।

नेकपा (मसाल) एउटा भूमिगत पार्टी हो भन्ने कुरा आमरूपमा थाहा भएको कुरा हो । महामन्त्री र प्रवक्ताहरूबाहेक पार्टीका विभिन्न कमिटीहरूमा वा अन्यत्र को सदस्य छन् भन्ने कुरा हाम्रो पार्टीले सार्वजनिक गर्ने गर्दैन । त्यसै गरेर पार्टीको कुनै कमिटीमा निर्वाचन, पदोन्नति वा कसैमाथि गरिने अनुशासनका कारबाहीहरूबारे पनि जानकारी नदिने हाम्रो प्रणाली रहेको छ । त्यो अवस्थामा का. जीवन शर्मा पार्टीको कुनै समितिमा वा पार्टी सदस्य पनि छन् वा छैनन् ? त्यो सार्वजनिक छलफलको विषय होइन ।

हाम्रो पार्टीले खालि दुई अवस्थामा मात्र कुनै व्यक्ति पार्टी सदस्य भएको वा कुनै कमिटीमा भएको कुरालाई सार्वजनिक गर्ने गर्दछ । प्रथम, कसैको निधन भएमा । द्वितीय, कसैलाई अनिश्चित कालका लागि पार्टीबाट निष्कासित गरेको अवस्थामा । तर, कुनै व्यक्तिको पार्टी सितको सम्बन्धलाई गोप्य राख्नका लागि कतिपय अवस्थामा कसैलाई अनिश्चित कालका लागि पार्टीबाट निष्कासित गरिएको अवस्थामा पनि त्यो समाचारलाई सधैँ सार्वजनिक गर्ने गरिन्न ।

विभिन्न पत्रपत्रिकाहरूमा का. जीवन शर्माले अल्पमत पक्षको समर्थन गरेको हुनाले उनीलाई कारबाही गरिएको भन्ने समाचार पनि प्रकाशित गरिएको पाइएको छ । प्रथमतः हाम्रो पार्टीको संगठनात्मक प्रणाली भूमिगत भएको हुनाले कुनै व्यक्ति पार्टीको सदस्य छ वा छैन भन्ने कुरा माथि उल्लेख गरिएका दुईवटा अवस्थामा बाहेक सधैँ गोप्य रहने गर्दछ । त्योबाहेक पार्टीले कहिल्यै पनि मत भिन्नताका आधारमा कसैमाथि कारबाही गर्दैन ।

कसैद्वारा पार्टीको विधान, नियमावली, नीतिहरूको उल्लंघन गरिएको अवस्थामा नै गल्तीको स्तरअनुसार कसैलाई आलोचना गर्ने, चेतावनी दिने, निलम्बन गर्ने, कुनै कमिटीबाट हटाउने, कुनै खास कमिटी वा जिम्मेवारीबाट हटाउने, समय तोकेर निष्कासित गर्ने वा अनिश्चित कालका लागि निष्कासित गर्ने गर्दछ । त्यस प्रकारका कारबाहीहरू सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण दिने मौका दिएर नै गर्ने गरिन्छ । त्यसअनुसार कतिपय अवस्थामा पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहलाई पनि पार्टीको सदस्यताबाट निष्कासित गरेको, का. चित्रबहादुर केसी पार्टीको प्रवक्ता हुुँदा उनीको कतिपय वेला सार्वजनिक रूपमा नै आलोचना गरेका जस्ता उदाहरणहरू हाम्रा अगाडि छन् । त्यो प्रणालीअनुसार कसैको कुन प्रकारको मत छ भन्ने कुरामाथि ध्यान दिएर होइन कसैको गल्तीको प्रकृतिअनुसार पार्टीका विभिन्न केन्द्रीय सदस्य वा विभिन्न तहका जिम्मेवार पार्टी सदस्यहरूलाई पनि कारबाही गर्ने गरिएका थुप्रै उदाहरणहरू छन् । तर, त्यो पूरै नै पार्टीको आन्तरिक विषय हो ।

हाम्रो पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हो । त्यसअनुसार पार्टीका सबै सदस्यहरूलाई आफ्ना मतभेदहरू प्रकट गर्ने अधिकार छ । तर, त्यो अधिकार पार्टीको विधान, नियम, नीति वा निर्णयहरूको अन्तर्गत रहेर नै गर्नुपर्दछ । कुनै पार्टी सदस्यले आफ्ना मतभेदहरू आफ्नो सम्बन्धित कमिटीमा राख्न वा माथि पठाउन सक्दछ । तर, पार्टीभित्र पनि असम्बन्धित कमिटी, सदस्यलाई त्यसबारे जानकारी दिन वा पार्टीबाहिर आफ्ना मतहरू लैजान मिल्दैन । कुनै पार्टी सदस्यले पार्टीबाहिर आफ्नो मत लगेमा उसको सार्वजनिक रूपले पनि आलोचना गर्ने गरिन्छ ।

तर, राष्ट्रिय सम्मेलन वा महाधिवेशनको वेलामा फोरम चलेको वेलामा पार्टी सदस्यहरूलाई तलदेखि माथिसम्म आफ्ना मतभिन्नताहरू पूरै पार्टीमा लैजाने अधिकार हुन्छ । कतिपय वेलामा केन्द्रीय समितिले कतिपय मतभेदहरूलाई पार्टीबाहिर पनि खुलारूपले छलफल चलाउन पाउने निर्णय गर्दछ । त्यसरी नै पहिलेका महाधिवेशनहरूका वेलामा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको इतिहाससम्बन्धी प्रस्तावबारे र अहिले चीन र भारत साम्राज्यवादी देशहरू हुन् वा होइनन् ? भन्नेबारे सार्वजनिक रूपले नै छलफल चलाउने निर्णय भएको छ र त्यसरी त्यसबारे खुलारूपले छलफल पनि चलिरहेको छ ।

हाम्रो पार्टीले पार्टीका सबै सदस्यहरूलाई जनवादको अधिकार प्रयोग गर्न अधिकार दिनुका साथै जनवादमाथि आधारित केन्द्रीयतालाई पनि दृढता पूर्वक पालन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसअनुसार महाधिवेशन, केन्द्रीय समिति, बहुमत वा सम्बन्धित उच्च समितिका निर्णयहरूलाई सबै पार्टी सदस्यहरूले पालन गर्नु अनिवार्य हुन्छ । तर, त्यो नियमको कसैले उल्लंघन गरेमा गल्तीअनुसार कारबाही पनि गर्ने गरिन्छ । यसरी पार्टीको सम्पूर्ण संगठनात्मक प्रणाली जनवादी केन्द्रीयताका आधारमा सञ्चालित भएको हुन्छ ।

माथिको संक्षिप्त विवरणबाट के कुरा प्रष्ट हुन्छ भने, प्रथम, नेकपा (मसाल) जनवादी केन्द्रीयताका आधारमा सञ्चालित अनुशासित पार्टी हो । द्वितीय, हाम्रो पार्टीमा उच्च प्रकारको जनवाद छ, तर त्यसलाई पार्टीको विधान, नियमअनुसार नै पालना गर्नु पर्दछ । तृतीय, जनवादका साथै केन्द्रीयतालाई पनि दृढतापूर्वक पालना गर्नुपर्दछ । चतुर्थ, पार्टीमा कसैलाई पनि मतभेद वा विचारमा भिन्नताका आधारमा कसैमाथि कारबाही गर्ने गरिन्न र पार्टीको विधान, नियम वा निर्णयहरूको उल्लंघन गरेको अवस्थामा नै गल्तीको प्रकृति र स्तरअनुसार कारबाही गर्ने गरिन्छ ।

उपरोक्त प्रकारको पृष्ठ भूमिमा का. जीवन शर्माबारे गरिएका भ्रामक प्रचारहरूबारे प्रकाश पारिएको हो ।

प्रतिक्रिया