अख्तियारद्वारा १३ जना पक्राउ

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले घुस लिने १३ जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ ।

चालु आवको हालसम्म आठ वटा स्टिङ अपरेसन गरिएकोमा १२ जना पुरुष र एक जना महिला गरी १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको सम्पर्क कार्यालय नेपालगञ्ज कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

नेपालगञ्जमा आइतबार गरिएको पत्रकार सम्मेलनमा कार्यालयको कार्य क्षेत्र रहेका तीन जिल्ला मध्ये बाँके र बर्दियामा तीन÷तीन र दाङमा दुई स्टिङ अपरेसन गरिएको कार्यालय प्रमुख गणेश गैरेले बताए ।

चालु आवको हालसम्म अस्थायी प्रहरी पोस्ट बसपार्क, गुलरिया नगरपालिका बर्दिया, इलाका प्रहरी कार्यालय मैनापोखर, राजापुर नगरपालिका बर्दिया, भूमिसुधार तथा मालपोत कार्यालय बाँके, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेत र नेपालगञ्ज सब डिभिजन वन कार्यालय बाँकेमा स्टिङ अपरेसन गरेको प्रमुख गैरेले बताए ।

गैरकानुनी सम्पत्ति आर्जन, प्राकृतिक स्रोत साधनको दोहन, सार्वजनिक सम्पत्तिको हिनामिना, घुस÷रिसवत माग, विकास निर्माण कार्यमा हुने गरेको अनियमितताका विषयमा आयोगले गम्भीरतापूर्वक काम गरिरहेको गरैले बताए । हालसम्म भएका गतिविधि र भावी योजना तथा कार्यक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको हो ।

प्रतिक्रिया