सन्दीपको टिम मेलबर्न सेमिफाइनलमा

काठमाडौं । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिएको खेलमा मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि फराकिलो जित निकाल्दै अस्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगको सेमिफाइनलमा स्थान बनाएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा भएको आइतबार लिगको अन्तिम खेलमा सिक्सर्समाथि ९४ रनको फराकिलो जित निकाल्दै सन्दीपको क्लब सेमिफाइनलमा पुग्न सफल भएको हो । लिगको १४औं खेल समाप्तिमा मेलबर्न ७ जितमा १४ अंकसहित लिगको चौथो स्थानमा पुगेको हो । पराजित सिक्सर्स भने यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

१४ खेलमा समान १६ अंक भए पनि मेलबर्न रेनेगेड्ससँग रनरेटमा पछि पर्दै सिक्सर्स तेस्रो स्थानमा छ । शीर्ष स्थानको होबर्ट ह्युरिकेन्सले पनि १४ खेलमा २० अंक बनाएको छ । आइतबार टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको सन्दीपको क्लब मेलबर्न स्टार्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रनको योगफल प्रस्तुत गरेको थियो ।

उसका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ८२ रन बनाउँदा मार्कस स्टोनिसले ३४ रन र पिटर ह्यान्ड्सकम्बले ३५ रनको योगदान दिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको सिक्सर्स खराब ब्याटिङको सामना गरेपछि १३.४ ओभरमा ७४ रनमै समेटिएको थियो । सिक्सर्सका लागि ड्यानियल हग्सको १२ रन नै व्यक्तिगत सर्वाधिक स्कोर थियो ।

मेलबर्नका लागि सन्दीपले तीन विकेट तथा ड्यानियल ओरल र एडम जाम्पाले समान २ विकेट लिँदै सिक्सर्सको इनिङ धरासयी पारेका थिए । ग्लेन म्याक्सवेल र ज्याक्सन बर्डले थप १–१ विकेट निकालेपछि सिक्सर्स पूरै ओभर टिक्नै सकेन ।

प्रतिक्रिया