९७ वर्षीय ब्रिटिस राजकुमार फिलिपद्वारा लाइसेन्स त्याग

जनवरी १७ मा भएको दुर्घटनामा राजकुमार घाइते हुनबाट जोगिएका थिए तर उनको कारसँग जुधेको किया मोटरमा सवार एक महिलाको नाडी भाँच्चिएको थियो । कियामा एक नौ महिनाको बालकसहित अन्य तीनजना मानिस सवार थिए । राजकुमारले घाइते महिलालाई पत्र लेख्दै दुर्घटनालाई ‘निकै दुःखदायी घटना’ को रूपमा स्वीकार गरेका छन् । सन्डे मिरर पत्रिकाले छापेको सो पत्रमा उनले लेखेका छन्, ‘मुख्य सडकमा सूर्यको प्रकाश कम थियो । सामान्यतया मलाई सडकमा गुड्ने गाडीहरू हेर्न समस्या हुन्न । ‘तर, मैले कल्पना मात्र गर्न सक्छु, आइरहेको कार ख्याल गर्न बिफल भएँ । र, जे भयो त्यसमा मलाई निकै पछुतो लागिरहेको छ ।’ दुर्घटनापछिको संवादको अभावलाई लिएर घाइते महिलाले यसअघि राजकुमारको आलोचना गरेकी थिइन्

कुनै पनि मान्छेले ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्न सक्छ र ? त्यस उमेरका मानिसलाई गाडी दुर्घटनामा परे कस्तो अनुभूति होला ? पहिलो कुरो त त्यस उमेरमा पुगेको मान्छेले गाडी चलाउनु नै सामान्य होइन, त्यो काम निकै कम मान्छेले मात्रै गर्न सक्छन् । त्यसमाथि दुर्घटना कति कठिन होला ?

यस्तै कठिनता केही समय पहिला ब्रिटिस राजकुमार फिलिपले व्यहोरे । उनले आफूले चलाएको गाडी दुर्घटनामा परेका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) त्यागेको बकिंघम दरबारले जनाएको छ । आफूले चलाइरहेको ल्यान्ड रोभर जिप हालै दुर्घटनामा परेपछि फिलिपले क्षमायाचना गरेका थिए ।

राजकुमार फिलिप ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्दै आएका थिए । उक्त दुर्घटनापछि उनले लाइसेन्स त्यागेका हुन् । ९७ वर्षिय ड्युक अफ एडिन्बरा फिलिप ब्रिटेनकी महारानी एलिजाबेथका पति हुन् । उनलाई आफँै गाडी चलाउनुपर्ने बाध्यता थिएन, तर उनी आफू स्वतन्त्र पूर्वक आफँै सवारी चलाउँथे कुनै समस्याविना नै ।

उनले कार चलाउँदा सिट बेल्ट नलगाएको फोटो सार्वजनिक भएपछि दुई दिनअघि नोरफोक प्रहरीले उनलाई ‘उपयुक्त सुझाव’ दिएको थियो । बकिंघम दरबारका अनुसार उनले शनिबार स्वेच्छाले लाइसेन्स बुझाएका हुन् ।

दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘होसियारीपूर्ण विचारपछि ड्युक अफ एडिन्बराले आफ्नो लाइसेन्स स्वेच्छाले त्याग्ने निर्णय लिएका छन् ।’ राजकुमारले अधिकारीहरूसमक्ष लाइसेन्स बुझाएको र त्यो सवारी तथा लाइसेन्ससम्बन्धी निकायमा पठाइएको कुरा नोरफोक प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनासम्बन्धी फाइल सरकारी अभियोजन कार्यालयमा पठाइएको र उसले राजकुमारको पछिल्लो कदमलाई ध्यान दिने बताइएको छ । बिबिसीका संवाददाताले गत महिनाको दुर्घटनामा उनले आफ्नो गल्ती भएको स्वीकार गरेको जनाएका छन् ।

उनका अनुसार दुर्घटनाको दुई दिनपछि आफैँले कार हाँक्ने उनको निर्णयको आलोचना भएको थियो । अहिले उनले आफ्नो स्वतन्त्रता त्याग्ने बाटो रोजेका छन् र अब उनीसँग चालक हुनेछन् ।

जनवरी १७ मा भएको दुर्घटनामा राजकुमार घाइते हुनबाट जोगिएका थिए तर उनको कारसँग जुधेको किया मोटरमा सवार एक महिलाको नाडी भाँच्चिएको थियो । कियामा एक नौ महिनाको बालकसहित अन्य तीनजना मानिस सवार थिए । राजकुमारले घाइते महिलालाई पत्र लेख्दै दुर्घटनालाई ‘निकै दुःखदायी घटना’ को रूपमा स्वीकार गरेका छन् ।

सन्डे मिरर पत्रिकाले छापेको सो पत्रमा उनले लेखेका छन्, ‘मुख्य सडकमा सूर्यको प्रकाश कम थियो । सामान्यतया मलाई सडकमा गुड्ने गाडीहरू हेर्न समस्या हुन्न । ‘तर, मैले कल्पना मात्र गर्न सक्छु, आइरहेको कार ख्याल गर्न बिफल भएँ । र, जे भयो त्यसमा मलाई निकै पछुतो लागिरहेको छ ।’ दुर्घटनापछिको संवादको अभावलाई लिएर घाइते महिलाले यसअघि राजकुमारको आलोचना गरेकी थिइन् ।

उनले सन्डे मिररसँग भनेकी छन्, ‘उनले आफ्नो कुनै औपचारिक पदवी उल्लेख नगरी फिलिप भनेर हस्ताक्षर गर्नु साँच्चिकै गज्जब हो भन्ने मलाई लागेको छ । उनको त्यो व्यक्तिगत स्वभावका कारण म सुखद् आश्चर्यमा परेँ ।’ राजपरिवारका सदस्यको जीवनी लेख्ने ह्युगो भिकर्सले दुर्घटनापछि बिबिसीसँग भने, ‘९७ वर्षको उमेरमा कुनै पनि किसिमको दुर्घटनाले मानसिक झट्का उत्पन्न गर्न सक्छ ।’

कानुनी रूपमा गाडी चलाउन नपाउने कुनै उमेर हद छैन । तर, डाक्टरले त्यसो नगर्ने सल्लाह दिनसक्छन् । यदि, स्वास्थ्य अवस्थाले गाडी चलाउने कामलाई प्रभावित पार्छ भने फेरि चलाउन सक्ने गरी स्वास्थ्य मापदण्ड पूरा नगर्दासम्म उसले लाइसेन्स त्याग्नुपर्छ ।

लाइसेन्स त्याग्ने निर्णय गरेमा वा डाक्टरद्वारा त्यसो गर्न सल्लाह दिइएमा चालकले लाइसेन्ससहित सम्बन्धित निकायमा पत्र लेख्नुपर्छ ।
सन् २०१६ मा बिन्डसर पुगेका अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनीकी पत्नीलाई राजकुमार फिलिपले आफैँले चलाएको गाडीमा भ्रमण गराएका थिए । जसको विश्वभर निकै चर्चा भएको थियो । राजकुमार फिलिपले सन् २०१७ अगस्ट महिनादेखि सार्वजनिक जीवनबाट अवकाश लिएका थिए ।

आफ्नो औपचारिक एकल जिम्मेवारीबाट अवकाश लिए यता उनी रानी र राजपरिवारका सदस्यहरूसँगै सार्वजनिक रूपमा देखिने गरेका छन् ।

राजकुमार फिलिपले चलाएको गाडी स्थानीय समयअनुसार दिउँसो तीन बजेतिर ल्यान्ड रोभरलाई ड्राइभ्वेबाट निकाल्दै ए १४९ मार्गमा लैजाने क्रममा दुर्घटना भएको थियो । उनको जिप अर्को किया कारसँग ठोकिएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार ठोक्किएपछि राजकुमारको गाडी पल्टिएको थियो ।

उनीहरूले राजकुमार फिलिपलाई बाहिर निकाल्न सघाएका थिए । त्यतिखेर राजकुमार होसमै थिए तर निकै भयभीत अवस्थामा भएको उनीहरूले बताए । स्थानीय प्रहरीका अनुसार प्रचलित नीतिअनुसार दुर्घटनापछि दुवै गाडीका चालकले मादक पदार्थ सेवन गरेको वा नगरेको परीक्षण गरिएको थियो । परीक्षणमा कसैले पनि मादक पदार्थ सेवन नगरेको पाइयो । बकिंघम फर्किएपछि राजकुमारले चिकित्सकलाई देखाएका थिए ।

बिबिसीका शाही संवाददाता जनी डाइमन्ड भन्छन्, ‘उक्त दुर्घटनाको समाचार सुनेर धेरैले लामो सास फेरे होलान् । पहिलो त राजकुमारलाई केही भएन र उनी दुर्घटनामा सकुशल छन् । दरबारले राजकुमार फिलिपलाई कुनै चोटपटक नलागेको बताएको थियो ।

यति धेरै उमेरका भए पनि राजकुमार अझै आफैँ गाडी चलाउँछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, उनलाई स्वतन्त्रता सधैँ प्रिय रह्यो । आफैँ गाडी नहाँक्न दिइएका सुझाव उनले पक्कै टेर्ने थिएनन् । तर, यो घटनापछि चाहिँ उनी आफैँ गाडी नचलाउने अवस्थामा पुगे ।

महारानीको पतिको रूपमा राजकुमार फिलिपले कुनै पनि संवैधानिक अधिकार प्राप्त गरेका छैनन् । तर, गत ६५ वर्षभन्दा बढी समयदेखि उनले व्यापक सम्मान भने पाएका छन् । पहिला उनी नौसेनामा अधिकृत थिए । त्यसै पनि उनी विविध विषयमा आफ्नो कडा धारणा राख्ने गर्थे । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया