लोकप्रिय गायक, अमृत खाती

काठमाडौँ ।
‘हिँड्छेउ माया तर्की तर्की,
अन्तै माया लाउने मन छर्की,
तिमी जुन, तिमी हौ तारा,
हुने हो कि आँशुको नौ धारा’

गायक अमृत खाती र गायिक उमा श्रेष्ठको स्वरमा भर्खरै बजारमा आएको ‘जुनतारा’ एल्बमको नयाँ गीत हो यो । बुधबार बजारमा आएको यो गीत दर्शकले धेरै मन पराएका छन् ।

दोलखा जिल्लाको सुस्पा क्षमावती गाविस ९ हाल भीमेश्वर नगरपालिका १० मा २०४० मङ्सिर २५ गते जन्मिएका गायक खातीले अहिलेसम्म लोक, प्रगतिशील, आधुनिक, निर्वाचनका गीत गरी १५० भन्दा बढी गीत गाइसकेका छन् ।

‘शिरबन्दी शिरैमा’ पहिलो एल्बमबाट उनले गायन यात्रा सुरु गरे । जुन गीत लोक भाकामा छ । गायक खातीले त्यो गीत यसरी सुनाए ।

‘भट्ट हेर्दा स्वर्गकी परी
यो कान्छीको मन पाउनु कसरी,
तरकारी आलु सिमीलाई,
अब मत ज्यान गए छोडदिन मन पर्यो कान्छी तिमीलाई ।

गायक खातीले आफ्नो जीवनमा धेरै गीत गाए । तर उनलाई सबैभन्दा बढी मन पर्ने गीत आफ्नो जिल्लाको गीत गाउँदा लागेको बतउँछन् । जुन गीत यस्तो छ ।
‘हाम्रै कालिन्चोक,
घुम्न जाउँ सरर, दोलखा चरिकोट’

“यो गीत लेख्दा र गाउँदा जति आनन्द मलाई कहिल्यै आएन, जन्मेको माटोप्रति समर्पित भएर गाएको गीत हो, यो गीत सुन्दा आनन्द लाग्छ,” गायक खातीले भने, “यो गीतले दोलखाको पर्यटकीय, धार्मिक तथा सबै स्थानको बारेमा जानकारी दिएको छ । दोलखा प्रत्येक स्थान गीतमा समेटिएको छ भने यस गीतमार्फत गायक खाती सम्पूर्ण दोलखालीको मनमा बस्न सफल भएका छन् ।

गायक खातीले निर्वाचनका समयमा पनि चुनाबी धेरै गीत गाएका छन् । उनले वर्तमान केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका नेताका लागि चुनाबी गीत गाएका थिए । निर्वाचनका गीतमध्ये धेरै चर्चित यो गीत छ ।
‘भन्छन् सधैँ आमा र बाले,
प्यारो पार्टी नेकपा एमाले ।’
स्थानीय तहका निर्वाचनमा उनले ७८ वटा गीत गाएका थिए । जसमध्ये निकै लोकप्रिय गीत त्यो गीत बन्यो । उनले नेपाली युवालाई नेपालमै व्यवसाय गरेर बस्न समेत प्रेरित गर्ने पनि गीत पनि गाएका छन् ।
‘गाउँगाउँमा सहकारी थप्दै रोजगारी,
समान हक पाउनुपर्छ,
पुरुष अनि नारी’
यस गीत चर्चित गायिका मधु गुरुङ र गायक खातीले गाएको गीत हो । साना किसानसँग सम्बन्धित भएर उनले धेरै सहकारीका गीतहरु गाएका छन्।

‘हाम्रो देशको जलस्रोतले सारा नेपाल बल्छ,
दुःख गरे हाम्रो देशमा हीरा मोती फल्छ’
कुरा बुझौँ नेपाली दाजुभाइ,
दिगो शान्ति चाहिएको छ हामीलाई’

चर्चित गायिका जुना प्रसाईं र गायक खातीले गाएको अत्यधिक रुचाइएको गीत ‘ओके छ त’ भन्ने हो । यसलाई धेरैले थेगोका रुपमा प्रयोग गरेका छन् । जुन गीत यस्तो छ,
‘चोखो माया तिमीलाई नै गर्छु मत,
ओके छ त छ,
तिमीसँगै जीउछु अनि मर्छु मत ओके छ त’

सुस्पा क्षमावती माध्यामिक विद्यालयमा पढ्दादेखि नै गुरु नवराज शिवाकोटीको प्रेरणाबाट साङ्गीतिक यात्रा सुरु गरेका खातीले २०५७ सालमा एसएलसी पास गरेपछि पनि सङ्गीतको क्षेत्रलाई निरन्तरता दिए । पाटन क्याम्पसमा आइए, मीनभवन नेपाल कमर्श क्याम्पसबाट वीए पढेका गायक खातीले सङ्गीतका यात्रालाई भने छोड्नन् ।

उपत्यका सांस्कृतिक सङ्गठन, साधना कला केन्द्रमा सङ्गीत सिकेर समानताका लागि सांस्कृतिक अभियानमा पनि उनी लागे । विसं २०५९, ६० तिर दोहोरी साँझमा गीत गाउन सुरु गरेर उनले औपचारिक रुपमा क्षेत्रमा लागेका थिए ।

गायक खातीले गीत गाएर नै आफ्नो परिवार पालेका छन् । “खास गीत गाएर कमाइ हुदैन, मेला महोत्वसमा विवाह, पूजा, जात्रामा कलाकार चाहिने संस्कारले कमाउने अवसर बनेको छ”, गायक खातीले भने, “स्टेज कार्यक्रमकै लागि मेची महाकाली पुगेको छु, जिल्लामा म पुगेको छु, सन्तुष्ट छु । उनले अहिलेसम्म १५ सयभन्दा बढी स्टेज कार्यक्रम चलाइसकेका छन् ।

सङ्गीत यात्रामा नेपालमा मात्र नभइ नेपाली रहेका धेरै विदेशी भूमिका समेत गएर उनले गीत गाएका छन् । गायनकै लागी खाती इजरायल, जापान, कतार, दुवई, कुवेत, मलेशिया लगयतका देशमा पुगीसकेका छन् ।

गति सङ्गीतको यात्रामा उहाँले विन्दबासिनी म्युजिक अवार्ड वर्ष २०७२ उत्कृष्ट गायकको अवार्ड प्राप्त गरेका छन् । विसं २०७३ मा पाउन म्युजिक अवार्डको बेष्ट कम्पोजरको सम्मान पाएका थिए । मलेशियामा भएको इन्टरनेशनल अवार्डमा उत्कृष्ठ लोकदोहरी गायकको सम्मान पनि खातीले हात पारेका छन् ।

सङ्गीत रोयल्टी संघका सदस्यसमेत रहेका गायक खातीले लोकगीतबाहेक दुईवटा आधुनिक गीत समेत गाएका छन् । जुन गीतलाई दर्शकले धेरै मन पराएका छन् । उक्त गीत यस्तो छ ।
‘किन टाढा हुन्छे तिमी,
तिम्रो मन दुखाए कि,
भन्नु पर्ने केही कुरा तिमीसँग लुकाए कि’ ।

प्रतिक्रिया