तामाका भाँडाले बनायो आत्मनिर्भर

केही वर्ष पहिलासम्म मान्छेका भान्सामा तामा, पित्तल, ढलोटका भाँडा हुन्थे । यी भाँडालाई धार्मिक रूपमा पवित्र पनि ठानिन्छ । आधुनिकताका नाममा ती भाँडा विस्थापित भएर जान थालेका छन् तर, अहिले आएर फेरि तिनै पुराना भाँडाले भान्सामा स्थान बढाउँदै छन् । नेपालमा मात्रै होइन, देशबाहिर बस्ने नेपालीसमेत तिनै पुराना भाँडाको खोजी गर्न थालेका छन् ।

काठमाडौंको मैतिदेवीस्थित सेतोपुल नजिकै एउटा टिनले छाएको ठूलो छानो भएको घर छ । धोवीखोलाको किनारमा रहेको त्यस छानाबाट केही परपरसम्म एकोहोरो टिनटिन गरेको आवाज सुनिन्छ । छानाबाहिर हरेकदिन टिलिक्क टल्केका राता तामाका गाग्री, बाटालगायत अन्य सामग्री घाममा सुकाउन राखेका हुन्छन् । ती भाँडा हेर्दै रहर लाग्दा देखिन्छन् ।

बाहिरबाट झट्ट हेर्दा कवाडी खान (काम नलाग्ने समान राख्ने ठाउँ) जस्तो दखिने त्यो कुनै भाँडा सुकाउन राख्ने ठाउँ नभई धेरै वर्षअघि केही गर्ने उद्देश्यले काठमाडौं छिरेका सिन्धुलीका विनोद दाहालको तामा कारखाना हो । उनको यो कारखाना बाह्रै महिना चालु रहन्छ ।

सुरुमा उनलाई लाग्थ्यो, यो हामी बाहुन–क्षत्री भनिने उपल्लो जातका व्यक्तिले गर्ने पेसा होइन । पछि उनी रहर नभई बाध्यताले तामा बनाउने काममा लागेँ । उनले १२ वर्षअघि उक्त तामाका भाँडा बनाउने कारखाना सुरु गरेका हुन् । उनको कारखानमा उत्पादित तामाका विभिन्न भाँडा स्थानीय बजारमा बिक्री हुने गरेको उनले बताए ।

उनले भने, ‘पहिला तामा, पित्तल र ढलोटका भाँडा माटो वा खरानीले मात्रै माझ्ने गरिन्थ्यो, त्यसरी माझ्दा भाँडा सुकिला देखिँदैन थिए र माझ्न पनि गाह्रो हुन्थ्यो । तर, अहिले ती भाँडा माझ्ने र टल्काउने रसायन (केमिकल) बजारमा सहजै पाइन्छ र मान्छेले पुरानै शैलीका भाँडा खोज्न थालेका छन् ।’ कैयौँ उच्च घरानाका मान्छेका बैठक कक्षमा समेत हिजो आज तिनै पुराना भाँडा सजाएर राखिएको भेटिन्छ । यसले उनीहरूको बजारमा साथ पनि दिएको छ ।

करिब २० वर्षअघि केही गरौँ भन्ने उद्देश्यका साथ काठमाडौं छिरेका दाहाल असनमा भाँडा पसलमा काम गर्थे । त्यतिवेला उनको उमेर २५ वर्षको थियो । उनले कमाएको पैसाले नै उनको घर खर्च चल्थ्यो । काम गर्ने ठाउँमा साहूसँग भएको सम्झौताअनुसार पारिश्रमिक नपाएपछि उनी आत्तिए, अब कसरी धान्ने घर ? उनलाई ठूलो चिन्ता भयो । उनलाई साहूले मासिक १० हजार दिने भनी काममा लगाएको उनले बताए तर, उनलाई पैसा भने तीन महिनामा ३ हजार मात्रै दिएको उनले बताए । ती दिन सम्झँदै उनले भने, ‘साहूको व्यवहार र आफ्नो अवस्था देखेर म बेस्सरी रोएँ । मन थाम्नै सकिएनँ अब कसरी घर खर्च पठाउने र आफू काठमाडौंमा कसरी टिक्ने ?’ तर मेरो समस्या कसैले बुझ्दैनन् थिए । त्यो दिन म कहिल्यै बिर्सन सक्दिनँ । त्यसपछि केही रकम जम्मा गरेँ र तामा तथा पित्तल संकलन गरेर तामा कारखाना खोलेँ ।’ आफ्नो वृत्तान्त सुनाए उनले ।

सुरुका दिनमा राम्रो व्यापार नभए पनि अहिले आफ्नो कारखानामा उत्पादित तामाका भाँडाले बजार पाएकोमा आफू निकै खुसी छन् । यही कारखानाको कमाइले उनीले परिवार पालेका छन् । आफूले टल्काएको तामाको भाँडाले काठमाडौंमा एउटा घर ठड्याइसकेका छन् । आज आफ्नै घरको छानामुनि बस्न पाउँदा उनी र उनको परिवार खुसी छन् । खुसी नहून् पनि किन ? आफ्नै घरमा बस्ने हरेक मान्छेको सपना हुन्छ त्यो उनले पूरा गरेका छन् । उनको तामा कारखानाले उनलाई मात्रै सुरक्षित बनाएको छैन अरू ३० जनालाई रोजगारीसमेत दिएका छन् ।

उनको कारखानामा उत्पादित सामान असन, पाटन तथा भक्तपुरलगायत क्षेत्रमा बिक्रि हुने गरेको उनले बताए । कहिले काहीँ विदेशमा समेत माग हुने गरेको बताए । मागअनुसार उनी आफ्ना समान विदेशसमेत पठाउँछन् वेला–वेला ।

उनले आफ्नो कमाइका बारेमा बताउँदै भने, ‘कामदारलाई तलब दिँदा, सरकारलाई कर बुझाउँदा र कच्चा सामान किन्दा पनि आम्दानी राम्रै छ, ‘तर कहिले काही विभिन्न बहानामा पार्टीका नामबाट चन्दा उठाउन भनेर आउँछन् । मजदुरहरूको श्रम शोषण नगर्नु भन्दै धम्की दिएर जान्छन् ।’ कामको अनुभव र आफ्नो व्यवसायप्रति चिन्तित हुँदै दाहालले भने ।

दाहालको तामा कारखानामा उत्पादन हुने हरेक सामानको मूल्य २ सयदेखि ५० हजारमाथि सम्म पर्नेछन् । कारखानामा गाग्री, सोलाक, थाल, कचौरा, आम्खोरा, पूजाका भाँडालगायत धेरै सामान उत्पादन हुन्छन् । जहाँ तामासँगै, पित्तल, चाँदी र चरेसका विभिन्न भाँडा उत्पादन हुन्छन् ।

आफू र मजदुर आगो, कोइला फोहोरसँग खेल्नुपर्ने हुँदा विभिन्न समस्या उत्पन्न हुने गरेको दाहालले बताए । आफूसँग प्रशस्त पुँजी र उपयुक्त ठाउँ नभएकोले कारखाना व्यवस्थित गर्न नसकेको उनले सुनाए । ‘यी सामानहरू बनाउन त्यति सजिलो छैन ।’ कारखानामा काम गरिरहेका मजदुर चन्द्रबहादुर रसाइलीले भने, ‘तामामा भएको रसायन आगोमा बेस्सरी पोल्नुपर्छ ।

कहिले काहीँ त तामासँगै हात पोलेको समेत थाहा हुँदैन । तामालाई पोलिसकेपछि विभिन्न आकार दिई बुट्टा भर्नुपर्छ र तेजाबमा राख्नुपर्छ । तेजाब शरीरमा पर्यो भने झनै खतरा हुन्छ । ’ तेह्रथुम घर भएका यी मजदुर पाँच वर्षदेखि यस कारखानामा काम गर्दै आएका छन् । उनका पुर्खाको पेसा तामाका भाँडा बनाउने हो । उनले पनि त्यही पुर्खाको बिँडो थाम्दै जीविका चलाउँदै आएका छन् ।

दनदनी बल्दै गरेको आगोमा तामा पोल्दै र गाग्रीमा बुट्टा कुँग्दै गरेका अर्का मजदुर हर्कबहादुर घतानेले तामाको पेसाले आफूलाई आत्मनिर्भर बनाएको बताए । ‘हरेक काममा दुःख हुन्छ, कुनै पनि काम गर्न सजिलो छैन । फरक यति मात्रै हो कि काम गर्दा हुने दुःखका किसिम मात्रै भिन्दै हुन् । मिहिनेत गरेर खाने हो भने आफ्नै देशमा राम्रै कमाइ हुन्छ’ उनले भने, ‘जहाँ गए पनि काम नगरी खान पाइँदैन काम नै गर्नु छ भने आफ्नै देशमा गर्नुपर्छ भनेर यसमा लागेँ,’ उनले थपे मान्छेले काम पाइनँ भन्छन् ऋण गरेर खाडी र अरब जान्छन्, त्यहाँ पनि सजिलै पैसा पाइने होइन परिवारसँग टाढा बसेर काम गर्नुपर्छ त्योभन्दा त मलाई यही काम ठीक लाग्यो ।’ उनले काम गरेअनुसार मासिक ३० देखि ४० हजार रुपैयाँसम्म कमाउँदै आएका छन् । ‘विदेशीको दबाबमा काम गरे पनि आखिर कमाउने यस्तै हो’ उनले भने ।

दाहालको कारखानामा काभ्रे, तेह्रथुम, सिन्धुपाल्चोकलगायत जिल्लाका मान्छेले काम गर्दै आएका छन् । उनीहरूलाई खाने र बस्ने व्यवस्था कारखानाभित्र नै गरिएको छ । त्यहाँ २० देखि ५५ उमेर समूहका ३० जना पुरुष तथा महिला कामदार कार्यरत छन् । उनीहरू बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म काममा खटिरहन्छन् ।

उनको जस्तै काठमाडौंमा पाटन, बौद्ध, भक्तपुरलगायत विभिन्न ठाउँमा तामाका भाँडा बनाउने कारखाना सञ्चालनमा छन् । कारखानाका लागि चाहिने आवश्यक कच्चा पदार्थ भारत थाइल्यान्डलगायत देशबाट ल्याउनुपर्ने दाहालले सुनाए । नेपालका विभिन्न भागमा तामाखानी हुँदाहुँदै पनि कच्चा पदार्थ भित्र्याउन अन्य मुलुकको भर पर्नु परेको उनले गुनासो गरे ।

कारखाना सञ्चालक दाहालका अनुसार कामका लागि समूहसमूह बनाउने गरिएको छ । समूहका एकजनाले कामको ठेक्का लिएको हुन्छ । कसैले तामा संकलन गर्ने ठेक्का लिएका हुन्छन् भने कसैले तामामा भएको रसायन पोल्ने र तिनलाई अर्डर अनुसारको आकारमा भाँडा बनाउने र कसैले भाँडा टल्काउने ठेक्का लिएका हुन्छन् ।

कालिगढहरू ठेक्का लिएबमोजिम कहिलेकाहीँ जिम्मेवार नबन्दा भने आफूलाई समस्या पर्ने गरेको दाहालले सुनाए । उनी भन्छन्, ‘हाम्रो जस्तो लोकतान्त्रिक र अविकसित देशमा पिछडिएका समुदायलाई काममा लगाउनु भनेको अपराधसरह नै हुनेरहेछ । काम गर्न भन्यो भने सिधै हामीलाई हेपेको भन्दिन्छन् । बढी अर्डर आएको वेला कामको चाँप हुँदा एकाध घण्टा बढी काम गर्नु पर्यो भने श्रम शोषण गर्यो भन्ने आरोप लगाइ दिन्छन् पाइलैपिच्छे अधिकारका बाहेक कुरै हुँदैन ।’ उनी भन्छन्, ‘कामको समयमा समेत रक्सी खाएर सुतिदिन्छन् । कारखानामा आफू भइन भने कोही काम गरेको गर्यै हुन्छ कोही सुतिरहेका हुन्छन् ।’ उनले मजदुरहरूबाट आफूले भोग्दै आएको समस्या सुनाए ।

तर, आफ्ना कारखानमा काम गर्ने मजदुरले चोर्ने तथा लुट्ने काममा भने अहिलेसम्म नगरेको उनले बताए । उनले, ‘अरू जे भए तापनि तामाका भाँडाको काम गर्ने मान्छेले चोर्नु हुँदैन भन्ने विश्वास सबै मजदुरहरूमा छ । उनीहरूमा तामाको भाँडा चोर्यो भने भगवान्ले छल गरेर सबै सत्यानाश गरिदिन्छन् भन्ने परम्परागत विश्वास छ, त्यसैले उनीहरूले तामाका भाँडा चोर्ने काम गरेका छैनन् ।’ तामा क्षेत्रमा काम गर्ने स्थल पवित्र हुने भएकोले चोरी तथा लुट्ने काम गर्न नहुने विश्वास मजदुरमा छ । तामा, पित्तल र चाँदीका भाँडालाई धार्मिक रूपमा पवित्र भाँडाका रूपमा लिइन्छ । केही मान्छे त यी भाँडामा खुट्टा लाग्दा आज पनि ढोक्ने गर्छन् ।

आफ्नो क्षमता र सीपअनुसार काम गर्ने हो भने काम अनुसारको दाम पाइन्छ । यसका लागि यो भाँडा कारखानामा काम गर्ने मजदुरको कमाइ पनि एक उदाहरण हो । मान्छेले श्रममा आस्था राख्ने र कामा विश्वास गर्ने हो भने गरी खान टाढा जानु पर्दैन भन्ने दाहालको तामा भाँडा कारखानाले सिद्ध गरेको छ ।

दाहाल कारखानाका साहू भए पनि उनको मजदुरहरूसँग सुमधुर सम्बन्ध छ । उद्यपि, उनका पनि कैयौँ समस्या रहेको उनले सुनाए । ‘मजदुरलाई समयमा पारिश्रमिक दिन पर्यो, कच्चा माल नपाइएला भन्ने चिन्ता हुन्छ, मजदुरले वेला–वेला अनेक समस्या देखाउँछन्, उनका कुरा पनि सुन्न पर्यो । उत्पादन भएका समान बजारमा नजाला भन्ने चिन्ता हुन्छ ।’ तर, यी सबै समास्याका बाबजुद पनि उनले राम्रोसँग कारखाना चलाएका छन् र ३० जनालाई रोजगारी दिन सफल भएका छन् ।

प्रतिक्रिया