बहुविधामा जम्दै ‘रमेशबाबु’

बाबुराम सिग्देल, काठमाडौं । लोकदोहोरीबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका रमेशबाबु थापा गायक, संगीतकार नायक तथा निर्देशकको रूपमा परिचित छन् । छोटो समयमै कलाकारितामा फड्को मारेका रमेशबाबुको दर्जनौँ गीतमा आवाज दिएका छन् । उनी पछिल्लो समयमा म्युजिक भिडियो निर्देशन र आधुनिक गीतमा समेत संगीत सक्रिय बनेका छन् ।

यसै क्रममा ‘द भ्वाइस अफ नेपाल रियालिटी सो’ का बिजेता सिडी विजय अधिकारीको आवाज रहेको ‘आमा मलाई माफ गर’ आधुनिक गीतमा उनैले संगीत भरेका छन् । अञ्चल शाहीले शब्द रचेको उक्त गीत केही दिनअघि सार्वजनिक भएको छ । मारुनी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा विश्वास नेपालले एरेन्ज गरेका छन् । आमाको स्मरणमा तयार भएको गीतको भिडियो रमेशबाबुले निर्देशन गरेका छन् भने दुर्गा पौडेलको छायांकन रहेको छ । नवीन घर्तीमगरले भिडियोको सम्पादन गरेका छन् । एकता फिल्मस्ले दृश्य निर्माण गरेको भिडियोमा अञ्चल शाहीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा अनिता पन्त, अञ्चल शाही र फूल पुन मगरको अभिनय छ ।

यो गीत फरक तरिकाबाट सिर्जना गर्नुका साथै मौलिक संगीतको धुनलाई समावेश गराएर केही महिनाअघि मात्रै सम्पन्न ‘द भ्वाइस अफ नेपाल रियालिटी सो’ का विजेता सिडी विजय अधिकारीलाई गायनमा समावेश गराएको उनले जनाए । त्यस्तै, संसारमा आमा भनेको भगवान स्वरूप लिइने गरेको र सबै नेपालीका जन्मदिने आमाकै नाममा गीतको शब्द सिर्जना गर्नमा आफू प्रेरित भएको अञ्चलले जिकिर गरे ।

स्याङ्जाको चिसापानीमा जन्मिएका रमेशबाबु ०६९ सालमा कलाकारिताकै लागि रहरले काठमाडौं हानिएका थिए । आधा दशकको कलाकारिता यात्रामा उनले गायन, संगीत, अभिनय, नृत्य तथा निर्देशनमा उनले आफूलाई सफल ढंगले उतारेका छन् । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाडौं नयाँ बसपार्क समितिका अध्यक्ष हुन् ।

प्रतिक्रिया