घरेलु उद्योगलाई अगाडि बढाइने गिरी

बाँके । प्रदेश–५ का उद्योगमन्त्री लीला गिरीले कृृषिमा आधारित रहेका उद्योगलाई अगाडि बढाइने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ खजुरामा महोत्सव कार्यक्रममा बोल्दै मन्त्री गिरीले सो कुरा बताएका हुन् ।

उनले प्रगति र समृद्धिको क्रममा अगाडि बढ्न कृषि र घरेलु उद्योगको विकल्प नभएको बताए । प्रदेश स्तरमा रहेका साना तथा घरेलु उद्योगहरूलाई चिनाउन खजुराको महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ रहेको छ । उनले प्रदेशको प्रगतिको सम्भावनाको बाटो खुल्ने गरी नीति निर्माणको काम धमाधम भइरहेको बताए ।

घरेलु उद्योगहरूलाई अगाडि बढाउन उनले सुझावसमेत मागे । मौसम प्रतिकूलताका कारण महोत्सव सञ्चालन गर्न केही कठिनाइ र निर्धारित समयभन्दा केही कार्यक्रम केही ढिला हुन गएको थियो । महोत्सव ५ फागुनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय कलाकार नायक अनमोल केसी, भुवन केसी, नायीका निरुता सिंह, गायिका तृप्ती खड्का, टीका पुन, ज्योती मगर, कमल खत्री, अशोक दर्जी, राजेश पायल राई, आरुसी मगर, प्रिती आले, मधु क्षेत्री, टंक बुढाथोकी, रामजी खाँड, पशुपति शर्मा, एआर बुढाथोकीलगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने कला उपसमितिका उपसंयोजक गाउँलेले जानकारी दिए । महोत्सव अवधिभर एकल नृत्य तथा युगल नृत्य प्रतियोगिता समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया