हाडजोर्नीको दुखाई बाफद्वारा निको

सल्यान । जिल्लाको शारदा नगरपालिका–८ मार्के निवासी ७२ वर्षीया बुद्धि सुनार जिल्ला आयुर्वेदिक कार्यालयल सल्यानमा धाउन लागेको बुधवार छेटौँपटक भयो । विगत दुई महिनाअघि गाउँमा कसैले आयुर्वेदिक कार्यालयमा गएपछि ढाड दुख्ने र घुँडा दुख्ने समस्या निराकरण हुन्छ भन्ने सुनेपछि उनी पनि ढाड र हातखुट्टा दुख्ने समस्याबाट छुटकारा पाउन भनेर कार्यालय धाइरहेकी हुन् ।

केही वर्षदेखि हातखुट्टाको जोर्नी र ढाड दुख्ने समस्या सुरु भएपछि आपूmले जिल्ला अस्पताललगायत जिल्ला बाहिर गएर पनि विभिन्न ठाउँका अस्पतालमा पुगेर उपाचार गरेको उनी बताउँछिन् । तर, जहाँ गए पनि औषधी सेवन गर्दासम्म सन्चो हुने र औषधि सकिएपछि पुनः दुख्न सुरु गर्ने गरेको ढाड र हातखुट्टाको दुःखाइ भने यहाँ आएर सन्चो हुँदै गएको उनी बताउँछिन् ।

‘आयुर्वेदिक कार्यालयमा आएर शरीरको दुख्ने ठाउँ ढाड र हात खुट्टाको जोर्नीमा बाफ दिने रैछन्’, सौर्य दैनिकसँग कुरा गर्दै उनले भनिन्, ‘यहाँ आएर शरीरमा बाफले सेक्न थालेपछि दुःखाइ पनि कम हुँदै गएको छ ।

यस्तै जिल्ला आयुर्वेदिक कार्यालयमा आएकी अर्की सेवाग्राही ४० वर्षीया राधिका कुमारी बुढाथोकीले पनि यहाँ आउन थालेको नवौँपटक भएको बताइन् । बुद्धि सुनारजस्तै शरीरका विभिन्न अंगमा दुःखाइ सुरु भएपछि उनले पनि धेरै ठाउँमा गएर औषधि उपचार गरिन् तर औषधि सकिए लगत्तै दुःखाइ पुनः सुरु हुने गरेको समस्या ज्युकात्यु रह्यो । अहिले आयुर्वेदिक कार्यालयबाट बाफले सेक्न थालेपछि शरीरलाई धेरै राहत महसुस गरेको उनले बताइन् ।

आयुर्वेदिक कार्यालयले विभिन्न जडीबुटी सहितको बाफ दिएर छरछिमेकमा कति जनालाई पूरै सन्चो भएको थाहा पाएपछि अहिले यस कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको ठूलो भिड लाग्ने गरेको छ । बुद्धि र राधिकाजस्तै अहिले यहाँ दैनिक ४५ देखी ५० जना बिरामीसम्म आउने गरेको कार्यालयले जानकारी दिएको छ ।

हप्ताको दुई दिन आइतबार र बुधबार (स्वेदन स्नेयन कर्म) अथवा बाफ लिने सेवा भदौदेखि सुरुआत गरेको आयुर्वेदिक सहायक खुमा केसीले बताइन् । बिरामीको समस्याको प्रकृति हेरेर (स्वेदन स्नेयन कर्म)बाट कतिपटक बिरामीलाई दिँदा ठीक हुन्छ भन्ने निर्धारण गर्ने गरेको उनले बताइन् ।

‘लामो समयदेखि समस्या बल्झेको छ भने ठीक हुन पनि अली बढी समय लाग्छ,’ उनले भनिन्, ‘यदि भर्खरै सुरुआती चरणको दुःखाइ हो भने, कम्तिमा १० पटक (स्वेदन स्नेयन कर्म) गर्यौ भने रोग निर्मुल भएर जाने उनको दाबी छ ।

रोगलाई जरादेखि नै हटाउने उद्देश्यले यो सेवा सुरु गरेको कार्यालयले जनाएको छ । निरुगुन्डी र दशपन्चुन लगायतका जडीबुटीहरू मिलाएर सेक्ने गरेको जानकारी दिँदै उनले विभिन्न जडीबुटीयुक्त महानारायण तेलले (अभिअंग) मालिससमेत गर्ने गरेको बताइन् ।

एक बिरामीलाई करिब २० मिनेटसम्म सेक्ने र मालिस गर्ने गरेको उनले बताएकी छन् । अहिले सेवाग्राहीको चाप बढी रहेको वेला समस्या हुने गरेको उनले जानकारी दिएकी छन् । कार्यालयमा कर्मचारीको अभाव र सेवाग्राहीको दिनानुदिन बढ्दै गएको चापले गर्दा व्यवस्थापनमा समेत समस्या आएको उनले बताएकी छन् ।

प्रतिक्रिया