रानीपोखरीको जिम्मा प्राधिकरणलाई

काठमाडौं । लामो समय पुननिर्माण हुन नसकेको ऐतिहासिक रानीपोखरीको निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्ने भएको छ । सरकारले काठमाडौं महानगरबाट पुनः पोखरी बनाउने जिम्मेवारी प्राधिकरणलाई दिएको हो ।

चार पटकसम्म टेन्डर आह्वान गर्दा पनि काठमाडौं महानगरपालिकाले रानीपोखरी पुननिर्माणका लागि समक्ष निर्माण कम्पनी पाउन नसकेपछि प्राधिकरणलाई नै मन्त्रीपरिषद्ले जिम्मेवारी दिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायतसहित त्यस क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरूको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, विज्ञ, सरोकारवाला संघसंस्था, स्थानीय समुदाय लगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गर्ने बताए । ‘परम्परागत शैली र मौलिकतालाई विशेष ध्यान दिई पुनर्निर्माणलाई तत्काल अघि बढाइनेछ’, ज्ञवालीले भने ।

मन्दिरबीचको बालगोपालेश्वर मन्दिर पुरातात्विक सम्पदा भएकाले मन्दिर पुनर्निर्माणको जिम्मा विभागलाई यथावत दिइएको छ । रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गुम्बज शैली, ग्रन्थकुट र शिखर शैलीमा गर्ने भन्ने विवाद थियो । विज्ञहरूले दिएको सुझावका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकासँग समन्वय तथा सहजीकरण गरी ग्रन्थकुटर शिखर शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरिसकेको छ ।

हाल शिखर शैलीमा मन्दिर बनाउने निर्णय सरकारबाट आएकाले डिजाइन परिवर्तन गर्नु परेकाले मन्दिर पुनर्निर्माण रोकिएको विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरे बताउँछन् । ‘बालगोपालेश्वर मन्दिर गुम्बज कि ग्रन्थकुट शैलीमा बनाउने भन्ने विवादले नै करिब १ वर्ष समय लियो’, इन्जिनियर घिमिरेले भने, ‘सरकारले शिखर (ग्रन्थकुट) शैलीबटै यसको पुनर्निर्माण गर्ने निर्णय गरेकाले अब मन्दिरमा कुनै विवाद छैन ।’

भूकम्पपछि गुम्बज शैलीमा बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण अघि बढाइएको थियो । गुम्बज शैलीभन्दा शिखर शैलीका मन्दिरको उचाइ बढी हुने हुनाले शिखर शैलीमा अब मन्दिर बनाउँदा पहिलाको जग फेर्ने भन्नेमा विभाग आन्तरिक छलफलको क्रममा छ । गुम्बज शैलीको डिजाइनअनुसार मन्दिरको उचाइ करिब ४० फिटमात्र हुने गरी डिजाइन गरिएको थियो । गुम्बज शैली परिवर्तन गरी अब शिखर शैलीमा बालगोपालेश्वर मन्दिर बनाउँदा यसको उचाइ ५५ फिट कायम हुने देखिन्छ । पोखरीको पानी बीचमा मन्दिरको जग बनाउनु परेकाले पुरानै जग कायम राख्ने कि नयाँ बनाउने भन्नेमा पनि विभागमा छलफल भइरहेको छ ।

प्राधिकरणले भूगर्भविद्हरूबाट रानीपोखरीमा पानी जम्मा गर्ने उपायबारे पनि अध्ययन गराएको थियो । विज्ञहरूले तीन सय फिट तलबाट पानी निकाल्न सकिने सुझाव दिँदै पानी अड्याउन कालोमाटोको प्रयोग गर्न सकिने प्रतिवेदन दिएका छन् । ‘हामीले रानीपोखरीको वरिपरीको भाग पनि प्रताप मल्लकालीन शैलीमा पुनर्निर्माण गर्नेछौँ’, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भनेका छन् ।

प्रतिक्रिया